काठमाडौं, १० जेठ
सहकारीले शिक्षा, विद्युत् उत्पादन, उद्योग,
बिमालगायतका क्षेत्रमा काम गर्न पाउने वातावरण बनाउन सरोकारवालाहरूले
सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आग्रह गरेका छन् ।
नवगठित मन्त्रालयले सहकारीकर्मीको सुझाव लिन बुधबार गरेको कार्यक्रममा
बोल्ने अधिकांश सहकारीकर्मीले कानुन सुधार गरेर सहकारीले हरेक क्षेत्रमा
काम गर्न पाउने वातावरण बनाउन आग्रह गरे । उनीहरूले सहकारी ऐन कानुमा
सुधारका साथै सहकारी शिक्षा तालिममा समेत जोड दिन सुझाव दिएका थिए ।
मन्त्रालयको कार्ययोजना बनाउन सुझावका लागि गरिएको कार्यक्रममा बोल्दै
मन्त्री एकनाथ ढकाले सरोकारवालाको सुझावकै आधारमा आफू अघि बढ्ने बताए ।
सरकारले सहकारीमार्फत गरिबी निवारण गर्न चाहेको र त्यसैका लागि मन्त्रालय
गठन भएको उनको भनाइ थियो । सहकारीमा ३० लाखभन्दा बढी जनता आबद्व रहेको
उल्लेख गर्दै मन्त्रालय आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय हुने
उनले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले
सहकारीकर्मीको मागअनुरूप मन्त्रालय गठन भएकाले सहकारीकर्मीको मर्मअनुसार
कार्यक्रम ल्याउन आग्रह गरे । विश्वका धेरै देशले सहकारीमार्फत आर्थिक
प्रगति गरेको उदाहरण दिँदै बडालले नेपालले पनि सहकारीमार्फत गरिब जनताको
आर्थिक र सामाजिक विकास गर्नसक्ने दाबी गरे ।
नेपाल बचत ता ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष मीनराज कँडेलले छुट्टै बचत तथा ऋण सहकारी ऐनको आवश्यता रहेको बताए ।
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीमा ठूलो
पुँजी जम्मा भए पनि लगानीका क्षेत्र सीमित भएको गुनासो गरे । सहकारीले
उत्पादनका क्षेत्रमा समेत लगानी गर्न पाउने गरी कानुन संशोधन गर्न उनले
मन्त्रालयलाई आग्रह गरे ।
कार्यक्रममा बोल्ने अन्य सहकारीकर्मीले गरिबी निवारण कोष, युवा स्वरोजगार
कोषलाई मन्त्रालय मातहतमा ल्याइ सहकारीमार्फत कर्जा लगानीको व्यवस्था
मिलाउन मन्त्रीलाई आग्रह गरेका थिए । यसैगरी नेपाल राष्ट्र बैंकको विपन्न
वर्ग कर्जा सहकारीले उपयोग गर्न पाउनुपर्ने उनीहरूको भनाइ थियो ।
No comments:
Post a Comment