Tuesday, May 15, 2012

‘सहकारी नजानेकाले संस्था खोल्दा समस्या’

काठमाडौं, १ जेठ
सहकारी सिद्वान्त नै नबुझेका व्यक्तिले सहकारी खोल्दा विकृती बढेको सरोकारवालाहरुले बताएका छन् । छिट्टै मालामाल हुन र अरुको देखासिखीमा सहकारी संचालन गर्ने प्रवृत्ती बढेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उनीहरुको जोड थियो ।

“केही व्यक्तिले सहकारी सिद्वान्त नबुझी संस्था खोलेर निजी कम्पनी झै चलाएका छन्” नेपाल सहकारी पत्रकार समाजले गरेको सोमबार गरेको अन्तर्रकृयामा बोल्दै सहकारी विभागका उपरजिष्टार उपेन्द्र बहादुर ढुंगानाले भने, “त्यस्ता  सहकारीले सिंगो सहकारी आन्दोलनमै विकृती फैलाएका छन् ।”

सहकारी सामाजिक संस्था भएकाले नाफाको १५ प्रतिशत लाभांस बाड्न पाउने र बाकी संस्थाको सदस्य र विभिन्न सामाजिक काममा खर्च गर्नुपर्ने व्यवस्था राखिएको ढुंगानाले बताए । सहकारीले नाफाबाट ४० प्रतिशत संरक्षित कोषमा छुट्याइ त्यसबाट सामाजिक गतिविधि संचालन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि सबै सहकारीले लागू नगरेको  उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ले सामाजिक, राजनीतिक, लैंङिक तथा जातीय विभेदलाई हटाउन सहकारीले राम्रो भूमिका खेल्नसक्ने हुनाले सिंगो सहकारी अभियान समाजिक उत्तरदायित्व वहन गर्दै अगाडि बढ्नु जोड दिए । संकटा बचत तथा ऋण सहकारीका प्रवन्ध संचालक विन्देश्वर श्रेष्ठले सहकारीमार्फत समाजमा आर्थिक सम्पन्नता तथा रोजगारीको सिर्जना गर्ने उत्पादनमूखी कार्य गर्दै आएका सरकारले यसलाई सहयोग नगरेको आरोप लगाए ।

यसैगरी रोयल को–अपरेटिभका प्रवन्ध निर्देशक सीताराम काफ्लेले सहकारीमा सबै जातिका व्यक्ति आवद्ध हुने भएकाले जातिय आन्दोलनलाई रोक्न सहकारी उपयुक्त विधी रहेको दावी गरे । ‘जापानमा सहकारीले बृद्धाका निम्ति बस्ने, खानेदेखि लिएर सबै आवश्यक्त पुरा गरेका छन्” काफ्लेले भने “नेपालमा पनि सहकारीले नाफामुलक सामाजिक कामहरु गर्नुपर्छ ।

कार्यक्रममा पाँचतारा बचत तथा ऋण सहकारीका अध्यक्ष भोला पाठक, चन्द्रागिरि बचत तथा ऋण सहकारीका सचिव योगेन्द्र कुमार कुवरलगायतका बक्त्ताले सहकारी समाजकै अगं भएकाले सहकारीले सदस्यलाई आर्थिक सेवाका साथै सामाजिक काम समेत अघि बढाउनुपर्नेमा जोड दिए । सहकारीले सरकारको दायित्व रहेको पाटी पौवा, सरसफाई, बाटो, धारा, स्कुल निर्माणमा सहयोग गरेपनि राज्यको कर नीतिले भने सहुलियत नदिएको गुनासो गरे ।

No comments: