Monday, March 05, 2012

निक्षेप फिर्ता माग गर्दै विभागमा उजुरी

काठमाडौं, २१ फागुन
निक्षेप फिर्ता नदिएको भन्दै बागबजारस्थित नेपाल सहकारीका सञ्चालकविरुद्व निक्षेपकर्ताले सहकारी विभागमा उजुरी दिएका छन् । संस्थाको रकम हिनामिना गर्ने सञ्चालकलाई कारबाही गर्न र निक्षेप फिर्ता गराउन माग गर्दै उनीहरूले डिभिजन सहकारी कार्यालय काठमाडौमा उजुरी दर्ता गरेका हुन् ।

उजुरीमा संस्थाका अध्यक्ष नवीन पुन, प्रबन्ध निर्देशक धर्मेन्द्र गुरुङ, सञ्चालक बालकृष्ण थापा, रुक्मा सिहं ठकुरी र छविन्द्रराज कँडेललगायतका सञ्चालकलाई कारबाहीको माग गरिएको छ ।

निक्षेपकर्ताले सञ्चालकविरुद्ध उजुरी परेको यो पाँचौं पटक हो । तर हालसम्म निक्षेपकर्ताले रकम पाउन सकेका छैनन् । विभाग हँुदै प्रहरीमा उजुरी पुगेपछि रकम फिर्ता गर्ने प्रतिबद्वता व्यक्त गर्दै छुट्ने भए पनि निक्षेपकर्ताले रकम पाएका छैनन् ।
पछिल्लो पटक संस्थाका केही सञ्चालकले रकम फिर्ता गर्ने प्रतिबद्वता जनाएपछि विभागले संस्थाको बैंक खाता फुकुवा गरे पनि रकम पाएका छैनन् ।

संस्थाका व्यवस्थापक र सञ्चालकले उजुरी दिने निक्षेपकर्तालाई नै धम्की दिने गरेको बताए । “सञ्चालकका विरुद्ध उजुरी गर्ने र सञ्चारमाध्यमलाई सूचना दिने व्यक्तिको संस्थाबाट नाम हटाई सबै कागजपत्र जलाईदिने भन्दै धम्की दिने गरेका छन्” नाम उल्लेख नगर्न आग्रह गर्दै एक निक्षेपकर्ताले भने ।

विभागले पोखरामा रहेको संस्थाको घरजग्गा र चितवनमा संस्थाले ऋण लगानीको धितो एभरेस्ट मेडिकल कलेज चितवनको जग्गा रोक्का गरेको छ । उक्त जग्गा नेपाल विकास बैंकले समेत रोक्का गरेको छ ।
संस्थामा ६ हजार निक्षेपकर्ताको १८ करोड रुपैयाँ छ ।

No comments: