Tuesday, June 14, 2011

लघुवित्तको विस्तार गर्न सरकारले कार्यक्रम ल्याउने

काठमाडौं, ३० जेठ
उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले लघुवित्त क्षेत्रको विकास र विस्तारका लागि सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको बताएका छन् । लघुवित्तले महिलाको आर्थिक र सामाजिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी बजेटमा लघुवित्त लक्षित विशेष कार्यक्रम आउने जानकारी दिए ।
सोमबारदेखि काठमाडौंमा सुरु भएको मध्यमाञ्चल क्षेत्रीय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै अधिकारीले युवा स्वरोजगार कोष परिचालनमा लघुवित्तलाई पनि सहभागी गराउने बताए । लघुवित्त क्षेत्रका ससस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको भन्दै अधिकारीले भने, “तपाईंहरूलाई के–के समस्या छन् सुझाव दिनुहोस् त्यसलाई समाधान गर्न सरकार तयार छ ।”
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेले आर्थिक विकासको आधार नै लघुवित्त रहेको भन्दै केन्द्रीय बैंकले यसको विस्तारका लागि विशेष प्राथमिकता दिएको बताए । “राष्ट्र बैंकले लघुवित्तलाई बृहत् रूपमा अघि बढाउन चाहेको छ,” काफ्लेले भने, “अन्य वित्तीय संस्थालाई अनुमति दिन बन्द गरे पनि लघुवित्त संस्थाहरूलाई लाइसेन्स दिइरहेको छ ।”
लघुवित्तको विस्तारसँगै यसमा विकृतिसमेत देखिन थालेको भन्दै यसलाई सुधार गर्न नसके भविष्य खतरामा पर्ने काफ्लेले चेतावनी दिए । “कतिपय ठाउँमा एकै व्यक्तिलाई धेरै संस्थाले ऋण दिएका छन,्” काफ्लेले भने, “यस्तो आवश्यकताभन्दा बढी ऋण दिँदा संस्था नै धराशायी हुन्छ” ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा हिमालयन बैंकका कार्यकारी अधिकृत अशोक राणाले बैंकहरूले विपन्न क्षेत्र कर्जा लघुवित्तमार्फत लगानी गरेको जानकारी दिए । लघुवित्त संस्थाहरूसँग सहकार्य गर्न बैंकिङ क्षेत्र तयार रहेको भन्दै तालिमका लागि सहयोग गर्ने राणाले बताए ।
रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी) को आयोजनामा भएको सम्मेलन मंगलबारसम्म चल्नेछ । सम्मेलनमा १३ लघुवित्त संस्थाका १ सय ५० भन्दा बढी पदाधिकारी तथा सदस्य सहभागी छन् ।

लघुवित्त सेवाको उपयोग गर्ने सदस्यको भावना बुझ्नका लागि सम्मेलन आयोजना गरिएको आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत शंकर मान श्रेष्ठले बताए । सम्मेलनमा यस क्षेत्रमा देखा परेका कमीकमजोरी, समस्यालगायतका विषयमा एक आपसमा छलफल गरी कार्यक्रम तय गर्ने उनले जानकारी दिए ।

आरएमडीसीको आयोजनामा यसअघि विराटनगरमा पूर्वाञ्चलस्तरीय र पोखरामा पश्चिमाञ्चल स्तरीय लघुवित्त सम्मलेन भएको थियो । पछिल्लो तथ्यांकअनुसार नेपालमा लघुवित्त क्षेत्रमा ५० अर्व लगानी भएको छ । यसैगरी १६ लाख व्यक्ति यसमा आबद्ध छन् ।

No comments: