Saturday, April 16, 2011

सुन आयात र बिक्रीको विवादित वर्ष

यादव हुमागाई
काठमाडौं, १ वैशाख
सुनको आयात अत्यधिक भई शोधनान्तर घाटा बढेपछि सरकारले गत वर्ष सुन आयातमा कडाइ ग-यो । आयातितमध्ये अधिकांश सुन भारत गएको चाल पाएपछि सरकारले खुल्ला आयातलाई कटौती गर्दै कोटा प्रणाली लागू ग-यो । त्यसैका कारण वर्षभरि सरकार र सुनचाँदी व्यवसायीबीच विवाद चलिरह्यो ।
आयातमा कटौती गर्दै नेपाल राष्ट्र बैंकले भदौ ४ गते बाणिज्य बैंकहरूले मात्र दैनिक १० किलो सुन आयात गर्न पाउने गरी निर्देशन जारी ग¥यो । त्यस्तै निर्देशनले सुन किन्नका लागि व्यवसायीलाई सिफारिस गर्ने अधिकार पाएको नेपाल सुनचाँदी व्यवसायी संघको अधिकारलाई कटौती गर्दै नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल आभूषण संघलाई अधिकार दिएपछि व्यवसायी र सरकारबीच विवाद सुरु भयो । यो निर्णयको विरोधमा सुनचाँदी व्यवसायी संघले कारोबार बन्द ग¥यो । आधिकारिक रूपमा भाउ तोक्दै आएको संघले छोडेपछि बजारमा मनपरी भाउमा सुनको कारोबार हुन थाल्यो ।

बैंकले त्यस बेलाको निर्देशनमा ढिक्का सुनको कारोबारलाई रोकेको थियो । सुनमा लगानी नहोस् भनेर र कालोबजारी नहोस् भनेर बैंकले उक्त निर्देशन ल्याएको जानकारी दियो । त्यस्तै यही वर्ष अध्यादेशमार्फत बढाइएको भन्सारदर बजेट ढिला भई अध्यादेशको समय सकिएकाले चैत भदौ १८ गतेदेखि सुनको आयातमा प्रतिबन्ध लाग्यो । आयातमा प्रतिबन्ध लाग्दा कालोबजारी बढेपछि त्यसलाई रोक्न नेपाल राष्ट्र बैंकले आफ्नो ढुकुटीमा रहेकोमध्ये केही सुनचाँदी बोलकबोलमार्फत बिक्री ग¥यो ।

चालू आर्थिक वर्षको बजेटले भन्सारदर भारतको मूल्यमा समायोजन हुने गरी प्रतिदस ग्राम १ हजार पु¥याएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिर १४ गते आयात खुल्ला गर्दै बजार व्यवस्थित गर्ने अधिकार पुनः राष्ट्र बैंकलाई नै दियो । केन्द्रीय बैंकले कार्यविधि बनाइ पुस १२ गते सुनचाँदी आयात खुल्ला ग¥यो ।

पुस १२ गते लागू भएको कार्यविधिअनुसार हाल सुनचाँदीको कारोबार हुँदै आएको छ । कार्यविधिले वाणिज्य बैंकहरूले आयात गरी सुनचाँदी व्यवसायीलाई मात्र बेच्नुपर्ने व्यवस्था गरेको छ । कार्यविधिमा बैंकहरूले दैनिक १५ किलो सुन ल्याउन पाउने र चाँदी भने व्यवसायीले आवश्यकताअनुसार आयात गर्न पाउने व्यवस्था गरिएको छ ।

हाल कार्यविधिको विरोध गर्दै व्यवसायीले भारतबाट अवैद्य रूपमा आएको सुन बिक्री गर्दै आएका छन् । जसको कारण बैंकहरूले ल्याएको ५ सय किलो सुन थन्किएको छ भने भारतबाट दैनिक १५ किलो अवैध सुन आयात हुँदै आएको व्यवसायी बताउँछन् । कार्यविधिमा व्यवसायीले विरोध जनाएपछि कार्यविधिलाई संशोधन गर्न लागिएको छ । तर विवाद भने कायमै छ । व्यवसायीले खुल्ला रूपमा बजारको आवश्यकताअनुसार आयात गर्न पाउनुपर्ने माग राख्दै आएका छन् भने सरकारले त्यस्तो अधिकार दिन नसकिने बताउँदै आएको छ ।

मूल्य पनि उच्च


स्थानीय बजारमा गत वर्ष सुनचाँदीको भाउ पनि उच्च रह्यो । वर्षको सुरुमा वैशाख १ गते प्रतिदस ग्राम २७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको सुनको मूल्य क्रमशः बढ्दै मंसिरमा उच्च भयो । मंसिरमा आयात प्रतिबन्ध भएको र अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च भएको भन्दै व्यवसायीले उच्च मूल्य कायम गरे । मंसिरमा २१ गते उच्च रेकर्ड कायम गरी ३४ हजार चार सय ६५ रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछि भने आयात खुल्लासँगै घट्यो ।

पछिल्लो समयमा इजिप्ट, लिबियालगायतका देशको राजनीतिक आन्दोलन र जापानको भूकम्प र सुनामीले हाल सुनको भाउ पुनः उकालो लागेको छ । चैत २८ गते सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राख्दै प्रति दशग्राम ३४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको छ । वर्षको अन्तिम दिन चैत ३० गते प्रति दशग्राम ३४ हजार ८ सय १० रुपैयाँ सुनको भाउ कायम भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि यो वर्ष ठूलो उतारचढाव देखियो । वर्षको सुरुमा प्रतिदस ग्राम ४ सय ४६ रुपैयाँमा कारोबार भएको चाँदीले चैत २८ गते हालसम्मकै उच्च ९ सय ८६ रुपैयाँको रेकर्ड कायम गरेको छ । वर्षको अन्तिम दिन चैत ३० गते प्रति दशग्राम ९ सय ६४.५० रुपैयाँमा आएको चाँदीको भाउ रोकिएको छ ।

No comments: