Tuesday, December 28, 2010

सुनचाँदी आयात खुला

* वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गर्ने

* चाँदीको आयात व्यवसायीहरूले आवश्यकताअनुसार गर्न पाउने

यादव हुमागाईं

काठमाडौं, १२ पुस
नेपाल राष्ट्र बैंकले सोमबार सुनचाँदी आयात तथा वितरण कार्यविधि जारी गर्दै सुनचाँदी आयात खुला गरेको छ । नेपाल बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गरी व्यवसायीलाई बिक्री गर्न पाउने व्यवस्था कार्यविधिमा छ । चाँदी भने बजारको आवश्यकताअनुसार व्यवसायीले नै आयात गर्न पाउने भएका छन् । यसअघि सुनचाँदीको आयात अनुमति वाणिज्य बैंकहरूलाई मात्र थियो ।
कार्यविधिमा सुन बिक्रीका लागि सिफारिस गर्न चारवटा व्यवसायी संघलाई अधिकार दिइएको छ । आयातीत सुनमध्ये नेपाल सुनचाँदी व्यवसायी संघले ५०, नेपाल रत्न तथा आभूषण संघले ३०, नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल हस्तकला महासंघले १०\१० प्रतिशत सिफारिस गर्न पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, एक व्यवसायीले एक पटकमा ५ सय ग्राममात्र सुन खरिद गर्न पाउने भएका छन् । यसअघि भदौ ४ गते बैंकले एक व्यवसायीले एक किलो सुन पाउने र सिफारिसका लागि नेपाल सुनचाँदी व्यवसायी संघलाई ५० प्रतिशत, रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघलाई २५÷२५ प्रतिशतको अधिकार दिएको थियो ।
कार्यविधिमा बैंकहरूले गरगहना बनाउने व्यवसायीलाई मात्र सुन बिक्री गर्नुपर्ने र अघिल्लो पटक खरिद गरेको परिणामको ५० प्रतिशत बिक्री भएको बिल पेस गरेपछि मात्र फेरि सुन किन्न पाउने व्यवस्था छ । व्यवसायीले यसअघिको ७५ प्रतिशत बिक्रीपछि मात्र किन्न पाउने व्यवस्था अव्यावहारिक भएको गुनासो गरेपछि केन्द्रीय बैंकले घटाएर ५० प्रतिशत बनाएको हो ।
बैंकहरूले सुनचाँदीको लागत र बिक्री मूल्य देखिने गरी अभिलेख राख्नुपर्ने र मासिक बिक्री–विवरण राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, बैंकहरूले संयुक्त रूपमा आयात गर्न सक्ने र व्यावसायिक संस्थाले पनि न्यूनतम परिणामका लागि एकभन्दा बढी व्यवसायीलाई सिफारिस गर्न पाउने व्यवस्था कार्यविधिमा छ ।
वितरणलाई व्यवस्थित बनाउन क्षेत्रगत कोटालाई पनि कायविधिले कायम राखेको छ । बाग्मती अञ्चलमा ६० र अन्य १३ अञ्चलमा ४० प्रतिशत वितरण गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ ।
चाँदी भने व्यवसायीले बजारको मागअनुसार आयात गर्न पाउने भएका छन् । कार्यविधिले इजाजतप्राप्त व्यवसायीले बैंक प्रतीतपत्रको माध्यमबाट बजारको आवश्यकताअनुसार चाँदी आयात गर्न पाउने व्यवस्था गरेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिर १४ गते राष्ट्र बैंकको निगरानीमा वाणिज्य बैंकहरूले आयात गर्न पाउने गरी सुनचाँदीमाथिको आयात प्रतिबन्ध खुला गरेको थियो । तर, कार्यविधि नबन्दा आयात खुला गर्न ढिला भएको थियो । बैंकले मंसिर २० गते पठाएको कार्यविधि मन्त्रालयको सुझावपछि लागू गरेको हो ।
सुनचाँदी आयात र वितरणलाई व्यवस्थित गर्न मन्त्रालय र राष्ट्र बैंकका अधिकारी सम्मिलित संयन्त्रसमेत बनाइएको छ । संयन्त्रले प्रत्येक महिना सुन आयात र वितरणको समीक्षा गर्ने बताइएको छ ।
गत आर्थिक वर्षमा अत्यधिक सुन आयातले विदेशी मुद्रा सञ्चितिमा असर परेपछि सरकारले गत चैतबाट आयातमा कडाइ गरेको थियो । उसले चैतमा विधेयकमार्फत प्रति १० ग्राम १ सय ३० रुपैयाँ रहेको भन्सारदर बढाएर ४ सय ३० रुपैयाँ पु¥याएको थियो । वैशाखबाट वाणिज्य बैंकहरूले मात्र दैनिक १० किलो आयात गर्न पाउने व्यवस्था गरिएको थियो । त्यसपछि भदौ ४ मा बैंकले सुनचाँदी आयातका साथै वितरणमा कडाइ गरेको थियो । सुन आयातलाई निरुत्साहित गर्न सरकारले चालू आवको बजेटमार्फत भन्सार महसुल बढाई प्रति १० ग्राम १ हजार रुपैयाँ पु¥याएको छ ।
यसैबीच, केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मनी चेन्जरले अतिरिक्त सेवा शुल्क ५० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ । त्यहाँ रहेका मनी चेन्जर र बैंकका काउन्टरले मुद्रा सटही, पासपोर्ट फोटोकपी, निवेदनलगायतका सेवा दिँदा कमिसनबाहेक धेरै सेवा शुल्क लिएको सर्वसाधारणको गुनासोपछि बैंकले यस्तो व्यवस्था गरेको हो ।
सोमबारै जारी अर्को निर्देशनमा मनी चेन्जर कम्पनीले सटही सुविधाको रकम कम भएको स्पष्ट कारणसहित बैंकमा निवेदन दिए थप सुविधा दिन सकिने उल्लेख छ ।

No comments: