Saturday, July 21, 2012

हीराका गहनाको आकर्षण घट्यो

आयातमा ३८ प्रतिशत गिरावट

काठमाडौं, ३ साउन 
मूल्य उच्च भएपछि हीराका गहनाप्रति नेपालीको आकर्षण घटेको छ । बिक्रीमा कमी आएपछि हीराको आयात ३८ प्रतिशतले घटेको छ ।


आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८ सय ३९ क्यारेट हीरा आयात भएकामा २०६८÷०६९ मा ३८ प्रतिशत कमी भई १३ हजार ४९ क्यारेट मात्र आयात भएको भन्सार विभागले जनाएको छ  । विभागका अनुसार गत आवमा नेपालीले ३४ करोड ७६ लाख रुपैयाँको हीराका गहनाको उपभोग गरेका छन् । यो अघिल्लो आवको तुलनामा १८ प्रतिशत कम हो । अघिल्लो आवमा ४२ करोड ११ लाख रुपैयाँको हीरा खपत भएको थियो ।


“एक वर्षमा हीराको मूल्य ३५ प्रतिशतसम्म महँगो भएको छ,” नेपाल रत्न तथा आभूषण संघका महासचिव तथा इको डिजाइन ज्वेलरीका सञ्चालक सुमनमान ताम्राकारले भने, “यसले गर्दा पनि नेपालमा पछिल्लो वर्ष हीराको बिक्री घटेको छ ।”


सुनका गहनाको तुलनामा हीराको उपयोग कम हुने भएकाले मूल्य उच्च हुँदा सुनको आयात बढे पनि हिराको भने घटेको हो । गत वर्ष सुनको आयात भने दोब्बर बढेको छ ।


“नेपाली समाजमा शुभकार्यमा सुनको प्रयोग अनिवार्य भएकाले मूल्य बढे पनि यसको आयात बढेको हो,” ताम्राकारले भने । सुनलाई गहनाका साथै लगानीका रूपमा समेत खरिद गरिने, तर हीरा भने गहनाका रूपमा किन्ने प्रचलन रहेकाले यसको बिक्री बढ्न नसकेको उनले बताए ।


नेपालीले सुनलाई सुरक्षित लगानीका रूपमा समेत खरिद गर्ने गरेका छन् । यसैगरी यसलाई राख्न पनि सजिलो र मूल्य पनि हीराको तुलनामा कम भएकाले यसप्रतिको आकर्षण कम नभएको व्यवसायीको तर्क छ । सुनको तुलनामा हिरा महँगो र सर्वसाधारण नेपालीको पहुँच नभएकाले पनि बिक्री कम भएको व्यापारीहरू बताउँछन् ।

नेपालमा विभिन्न स्तरका हीरा भारतीय बजारबाट आयात हुँदै आएको छ । त्यसमध्ये केही प्रतिशत नेपाली मौलिक डिजाइनमा गहना बनाई अमेरिका र युरोपमा निर्यात हुने गरेको छ भने अधिकांश नेपाली बजारमा खपत हुने गरेको व्यवसायी बताउँछन् ।
गत आवमा मात्रै सरकारले हीराको आयतबाट ३४ लाख ८३ हजार राजस्व संकलन गरेको छ । अघिल्लो आवमा भने ४२ लाख २८ हजार राजस्व उठाएको थियो । हाल सरकारले हीरामा १ प्रतिशत भन्सार शुल्क लिँदै आएको छ ।

हीराको आयात

आव    परिमाण (क्यारेटमा)    मूल्य (हजारमा)    भन्सार महसुल (हजारमा)
२०६७\०६८    २०८३९    ४२११९३    ४२२८
२०६८\०६९    १३०४९    ३४७६०१     ३४८३

No comments: