Sunday, April 17, 2011

सुनचाँदीको मूल्य बढेको बढ्यै, भाउमा नयाँ रेकर्ड

यादव हुमागाई
काठमाडौं, ३ वैशाख

स्थानीय बजारमा साताभर उच्च मूल्यमा सुनचाँदीको कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै उच्च मूल्य कायम भएको सुनचाँदीमा साताको अन्तिम दिन शुक्रबार भने हालसम्मकै उच्च रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।

आइतबार प्रतिदस ग्राम ३४ हजार ८ सय ९५ रुपैयाँ रहेकामा सुनको मूल्य वृद्वि भई सोमबार ३४ हजार ९ सय ३५ पुग्यो । त्यसपछि सामान्य घटेर मंगलबार ३४ हजार ८ सय १० र बुधबार ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार नयाँ वर्ष परेकाले स्थानीय बजार भाउ निर्धारण नभए पनि अन्तर्राष्ट्रिय बजारमा उच्च वृद्वि भएपछि त्यसको असर स्थानीय बजारमा शुक्रबारको भाउमा प¥यो । शुक्रबार एकैदिन तीन सय ८५ रुपैयाँ वृद्वि भई प्रतिदस ग्राम ३५ हजार २ सय ३५ (प्रतितोला ४० हजार १ सय) रुपैयाँको रेकर्ड कायम भएको छ ।
“शुक्रबारको कारोबार मूल्य हालसम्मकै उच्च हो” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “जापानको प्राकृतिक प्रकोप, लिबियामा बहुराष्ट्रिय सेनाको आक्रमणले सुनचाँदीको भाउ उकालो लागेको छ ।” अमेरिकी बजारमा रोजगारी दर बढेको कारण सुनचाँदीमा लगानी बढेकाले मूल्य बढेको शाक्य बताउँछन् । “रोजगारी बढेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च भएको छ शाक्य भन्छन्, “नेपालमा डलरको भाउ पनि बढेकाले स्थानीय बजारमा मूल्य अत्याधिक भएको हो ।”

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बेलुकीसम्ममा सुनको भाउ प्रतिऔंस एक हजार ४ सय ७५ डलर पुगेको छ । यसले आइतबार सुनको मूल्य बढ्ने व्यवसायीको अनुमान छ ।

यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै चाँदीको मूल्य पनि उच्च भएको छ । आइतबार प्रतिदस ग्राम ९ सय ६४.५० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार वृद्वि भई ९ सय ८६ रुपैयाँमा कारोबार भयो । मंगलबार पुनः घटेर आइतबारको मूल्यमा झरे पनि बुधबार र शुक्रबार पुनः उकालो लाग्यो । शुक्रबार अत्याधिक मूल्य बढेर हालसम्मकै उच्च प्रतिदस ग्राम १ हजार ७ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

यसैबीच सुुनको मूल्य अत्याधिक भएपछि नेपाली उपभोक्ता भने प्रभावित भएका छन् । विवाहको सिजनसँगै मूल्य अत्याधिक भएपछि बिक्री घटेको व्यवसायी बताउँछन् ।

No comments: