Thursday, April 07, 2011

कुल गार्हस्थ्य उत्पादन ३.८ प्रतिशत मात्रै

२४ चैत, काठमाडौं । आगामी आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ३.८ प्रतिशत हुने अनुमान गरिएको छ । एसियाली विकास बैंकले बुधबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिकस्थिति र भविष्यको सङ्क्षिप्त विवरणमा देशको आर्थिक गतिविधि मूलतः शान्तिप्रक्रियामा हुने प्रगतिमाथि निर्भर हुनेछ ।

यस वर्ष अनुकुल मौसम रहेमा कृषि क्षेत्रको वद्धिदर चार प्रतिशत हुने समेत अपेक्षा गरिएको छ । राजनीतिक अस्थिरता, लोडसेडिङ र पेट्रोलियम पदार्थमा मूल्य वृद्धिका कारण गैर कृषि क्षेत्रका गतिविधिमा सुस्तता आउने प्रक्षेपण गरिएको छ ।


त्यसैगरी सन् २०११ मा सेवा क्षेत्रको वृद्धिदर सन् २०१० को ६.० प्रतिशतबाट घटेर ४.५ प्रतिशत हुने अनुमान छ । त्यस्तै, औद्योगिक क्षेत्रको वृद्धिदर अघिल्लो वर्षको ३.३ प्रतिशत रहेकोमा सन् २०११ मा १.० प्रतिशतमा झर्ने अनुमान छ भने सन् २०१२ मा अनुकूल मौसम रहिरहने हो भने कुल गार्हस्थ्य उत्पादन ४.४ प्रतिशतसम्मले वृद्धि हुनेछ ।

नेपाल पर्यटन वर्ष २०११ का कारण पर्यटन क्षेत्रका गतिविधि बढ्न गई सेवा क्षेत्रको वृद्धिदर ५.५ प्रतिशतसम्म हुनुपर्ने देखिन्छ । निर्माणसम्बन्धी गतिविधिमा आउन सक्ने तीव्रताका कारण औद्योगिक वृद्धि १.५ प्रतिशत हुनसक्ने प्रतिवेदनमा उल्लेख छ ।


बैंकका यहाँस्थित कार्यालयका निर्देशक व्यारी जे हिचककले ऊर्जा सङ्कटका साथै खाद्यवस्तु र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण सन् २०११ मा औसत मूल्यवृद्धि दर १०.० प्रतिशत हुने अनुमान गरिएको बताउनुभयो ।

भारतमा मूल्यवृद्धिमा हुने सामान्य सुधार र सिन्डिकेट प्रणालीका विरुद्ध सरकारले चालेको कदमका आधारमा सन् २०१२ मा मूल्यवृद्धि ८.० प्रतिशतमा सीमित रहनसक्ने उहाँले बताउनुभयो । निर्देशक हिचकका अनुसार भुक्तानी सन्तुलनमा भने सन् २०११ र २०१२ मा सीमित सुधार मात्र हुनेछ । पर्यटन क्षेत्रबाट हुने आम्दानी केही वृद्धि हुने देखिए पनि मध्यपूर्वमा भएको अशान्तिले विप्रेषण वृद्धिलाई कमजोर पार्नसक्नेछ भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आयात खर्च बढ्ने अनुमान गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष सन् २०११ र २०१२ मा शोधान्तर घाटा कुल गार्हस्थ्य उप्तादनको ०.५ प्रतिशत रहने अनुमान उहाँको छ । राजनीतिक अवरोध र घरजग्गा कारोबारको गिरावटबाट राजस्व परिचालनमा पर्न सक्ने नकारात्मक प्रभाव आर्थिक वृद्धिदरका लागि प्रमुख जोखिम भएका प्रतिवेदनमा जनाइएको छ ।

त्यसैगरी, मध्यपूर्वको अस्थिरताले विप्रेषण घटाउने सम्भावना देखिनु, जापानमा हालै आएको भूकम्प र सुनामीका कारण त्यहाँबाट आउने पर्यटकको सङ्ख्या र अनुदान घट्ने सम्भावना देखिनु र नेपालको आर्थिक हैसियतलाई प्रभावित पार्नसक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु तर मूल्य समायोजन नहुनु आर्थिक वृद्धिदरका लागि बाहृय जोखिमका रूपमा प्रस्तुत गरिएको छ ।

‘मुलुकको युवा जनशक्तिका लागि रोजगारी सिर्जना गर्नु नेपालको विकासका लागि एउटा प्रमुख चुनौती हो र यो नै मुलुकमा स्थायित्व र प्रगति हासिल गर्ने एउटा मुख्य आधार पनि हो । रोजगारीका अवसर सिर्जना र आर्थिक वृद्धि दर हासिल गर्नका लागि विद्यमान श्रम कानुनमा सुधार, व्यवसायका लागि उपयुक्त वातावरण निर्माण तथा सार्वजनिक-निजी साझेदारीसम्बन्धी स्पष्ट नीति नियम ल्याउन आवश्यक छ – प्रतिवेदनमा भनिएको छ ।

आर्थिक वर्ष २०६६/६७ मा नेपालको आर्थिक वृद्धि दर ४.४ प्रतिशत रहेको तथा त्यसअघि २०६५/६६ मा यो दर ३.८ प्रतिशत थियो । यसरी आर्थिक वृद्धिदरमा उल्लेखनीय सुधार नहुनुमा राजनीतिक अस्थिरता, प्रतिकूल मौसम र विप्रेषण भित्रिने क्रममा आएको शिथिलता मुख्य कारण रहेको प्रतिवेदनले औंल्याएको छ ।

विप्रेषण वृद्धिमा आएको कमी, वाणिज्य बैंकहरूले घरजग्गा व्यवसायमा गरेको अत्यधिक लगानी, बैंकिङ क्षेत्रको तरलतामा आएको कमीलगायतका कारणले बैंकहरूबीचको सापटी दर उच्च हुन पुग्यो । आन्तरिक उत्पादनमा आएको गिरावट र भारतमा आर्थिक वर्ष सन् २०१० को पहिलो छ महिनामा भएको उच्च मूल्यवृद्धिका कारण नेपालमा पनि मूल्य वृद्धिदर दोहोरो अङ्कमा रहृयो ।

आयातमा वृद्धि, निर्यातमा सुस्ततता र रेमिटयान्समा आएको गिरावटलगायत कारणले व्यापार घाटा बढ्न गई सन् २०१० को कुल गार्हस्थ्य उत्पादनको २.८ प्रतिशतमा पुग्यो । प्रतिवेदन अनुसार अघिल्लो वर्षमा कुल गार्हस्थ्य उत्पादनको ४.२ प्रतिशत बराबरको बचत भएको थियो र बाहृय सञ्चितिमा ११३ मिलियन अमेरिकी डलर बराबरको गिरावट भयो ।

त्यसैगरी सन् २००ढ मा सरकारी वित्तीय घाटा कुल गार्हस्थ्य उपतादनको ३.३ प्रतिशत रहेकोमा सन् २०१० मा २.० प्रतिशतमा घटयो । मुख्यतः राजस्व सङ्कलनमा भएको निरन्तर वृद्धिले सरकारी वित्तीय स्थायित्व कायम भयो । यद्यपि यसो हुनुमा बजेट ढिलाइको कारण पुँजीगत खर्चमा आएको कमीको पनि योगदान छ ।

यसैगरी चुनौतीपूर्ण राजनीतिक अवस्था हुँदाहुँदै पनि राष्ट्रिय रूपमा गरिबीको रेखामुनि रहेको जनसङ्ख्याको हिस्सा सन् २००४ मा ३१ प्रतिशत रहेकोमा सन् २०१० मा २५ प्रतिशतमा झरेको अनुमान छ ।

2 comments:

Anonymous said...

I have shared your blog banner in my blog i.e www.sabinbhatta.blogspot.com .I hope you will share my blog banner too in your blog.

journalist yadav said...

subin G, thanx u for ur support.
I've also shared your banner in your blog.