Friday, January 04, 2013

बैंकहरूको ‘फिक्स्ड’ ब्याजदर कर्जा योजना

काठमाडौं, १७ पुस - पर्याप्त तरलता (लगानी योग्य रकम) भएपछि बैंक तथा वित्तीय संस्थाले निश्चित समयसम्म ब्याजदर परिवर्तन नहुने (फिक्स्ड ब्याजदर)  योजनासहित ऋण दिने थालेका छन् । कर्जाको ब्याजदर बढिरहँदा समस्यामा परेका ग्राहकले यस योजनाबाट राहत पाउनेछन् ।



यसअघि बैंकहरूले मुद्दती निक्षेपमा मात्र फिक्सड ब्याजदर योजना लागू गरे पनि कर्जामा भने बजारस्थितिअनुसार ब्याजदर परिर्वतन गर्दै आएका थिए ।


सहरी क्षेत्रका उपभोक्तालाई लक्षित गरी घरजग्गा, अपार्टमेन्टका साथै गाडी खरिद लगायतका क्षेत्रमा दिइने कर्जामा बैंकहरूले यस्तो योजना लागू गर्दै आएका छन् । हालसम्म राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स र एनएमबी बैंकले निश्चित अवधिसम्म ब्याजदर परिवर्तन नहुने गरी यो कर्जा योजना सुरु गरिसकेका छन् ।



वाणिज्य बैंकले एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने गरी घर र गाडी खरिदका लागि कर्जा दिइरहेको छ । बैंकले ५ वर्षे गाडी कर्जामा १२, ५ वर्षे घर कर्जामा १०.५, १० वर्षे घर कर्जामा ११.५ र १५ वर्षे घर कर्जामा १२.५ प्रतिशत ब्याजदर लागू गरेको जनाएको छ ।
फिक्स्ड ब्याजदर योजनाले कर्जाका ग्राहकलाई निश्चित अवधिसम्म ढुक्क हुने अवस्था सिर्जना भएको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । “यस योजनाले गर्दा कर्जाको ब्याज बढ्ला भन्ने ग्राहकलाई चिन्ता हुँदैन,” उनले भने ।
यसैगरी एनएमबी बैंकले पनि ग्राहकको आवश्यक्ताअनुसार २ देखि २५ वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने कर्जा योजना ल्याएको छ । ‘एनएमबी बैंक होम लोन प्याकेज’ कर्जाअन्तर्गत जग्गा खरिदका लागि अधिकतम ५० लाख र  घर तथा अपार्टमेन्टका लागि ३ करोड रुपैयाँसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।




सिटिजन्स बैंकले पनि ३ वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने गरी घरकर्जा योजना सञ्चालनमा ल्याएको छ । अधिकतम २५ वर्षे अवधि राखिएका योजनामा वार्षिक १०.५० प्रतिशत ब्याजदर तोकिएको छ ।




यसअघि बैंकहरूले ग्राहकसँग बजारअनुसार ब्याजदर परिवर्तन गर्ने पाउने आशयको सम्झौता गरी कारोबार गर्दै आएका थिए । यसैका आधारमा बैंकले कर्जाको ब्याजदर छिटोछिटो बढाउने गरेको सर्वसाधारणको गुनासो थियो ।




निश्चित समयसम्म ब्याजदर परिवर्तन नहुने गरी कर्जा दिने बैंकका योजनाले लगानी वृद्धि गर्ने र बजारमा सकारात्मक असर पार्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए । अहिले बैंकहरूले नयाँ क्षेत्र र ग्राहक खोजेर लगानी गर्नुपर्ने अवस्थामा यस्तो योजना उपयुक्त रहेको उनको भनाइ छ ।




“फिक्स्ड ब्याजदर योजनाले बैंकबाट कर्जा लिने सर्वसाधारणलाई निश्चित समयसम्म ढुक्क हुने स्थिति बनेको छ,” ज्ञवालीले भने, “यसले बैंकहरूको कर्जा लगानी बढ्नसमेत मद्दत पुग्छ ।”

No comments: