Monday, June 04, 2012

सुनको भाउमा नयाँ रेकर्ड


एकैदिन १६ सय बढ्यो

 काठमाडौं, २१ जेठ - नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

अन्तर्राष्ट्रिय सुन बजारमा भएको वृद्धिसँगै नेपालमा आइतबार एकैदिन सुन १ हजार ६ सय रुपैयाँ महँगो भई प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार डलरको सटहीदर घटेपछि सुनको भाउ पनि घट्ने अपेक्षा गरिए पनि अन्तर्राष्ट्रिय बजार एक्कासि वृद्वि भएपछि नेपालमा पनि नयाँ उचाइमा पुगेको हो ।

“आइतबार कारोबार भएको भाउ हालसम्मकै ऐतिहासिक रेकर्ड हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा एकैदिन ७० डलर महँगो भएपछि नेपाली बजारमा एकैदिन उच्च वृद्धि भयो ।”

यसअघि गत वैशाख २२ गते सुनको भाउले प्रतितोला ५६ हजार रुपैयाँको रेकर्ड कायम गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन ७० डलर महँगो भएको थियो । आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुने भएकाले संघले शुक्रबारको अन्तिम मूल्यका आधारमा नेपालमा आइतबारका लागि मूल्य  निर्धारण गरको थियो ।

शुक्रबारको नेपालमा भाउ निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ५ सय ५४ डलर कायम थियो । बजार बन्द हुँदा भने सुनको १ हजार ६ सय २४ डलर कायम भएपछि सोही आधारमा आइतबारको नेपाली बजारमा तय भएको हो ।

आइतबार सुनको भाउ ९ सय ६० भारु महँगो भईप्रति १० ग्राम ३० हजार भारु पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समयमा भारतीय मुद्राको समेत घटिरहेकाले सुनको भाउमा असर गरिरहेको विश्लेषकहरू बताउँछन् ।

अमेरिकी सरकारले बेरोजगारीदर बढेको तथ्यांक सार्वजनिक गरेपछि डलर कमजोर भई सुनको भाउ उच्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । यससँगै डलरको भाउ कमजोर भएको र लगानीकर्ता सुनतर्फ लागेकाले भाउ एक्कासि महँगो भएको बताइएको छ । यस्तै युरोजोनको आर्थिक संकट गहिरिंदै गएकाले पनि सुनको भाउ बढिरहेको सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि गत मंसिरमा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १ हजार ९ सय डलरसम्म पुगेको थियो । केही समययता १ हजार ५ सय डलर वरपर रहेको सुन आइतबार एक्कासि बढेको हो । आर्थिक संकट बढ्दै गएकाले केही अर्थशास्त्रीहरूले सन् २०१२ भित्रैमा सुनको भाउ २ हजार डलर नाघ्न सक्ने अनुमान गरेका छन् ।
विश्वव्यापी आर्थिक संकटमा पनि लगानीकर्ताले सुनलाई सुरक्षित लगानी क्षेत्रको रूपमा लिँदै आएका छन् ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबारको तुलनामा प्रतितोला २० रुपैयाँ महँगो भएको छ । शुक्रबार प्रतितोला १ हजार ३५ रुपैयाँ रहेको चाँदी महँगो भई आइतबार १ हजार ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको संघले जनाएको छ ।

No comments: