Tuesday, July 08, 2014

बैंकहरुको कृषि कर्जा २३ प्रतिशत बढ्यो



  • १० महिनामा ४९ अर्व लगानी

काठमाडौं  । चालु आर्थिक वर्षको बैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ४९ अर्व रुपैयाँ लगानी गरेका छन् । उत्पादनमुलक क्षेत्रमा अनिवार्य लगानी गनुपर्ने नेपाल राष्ट्र बैंकको नीति र व्यवसायीक कृषिमा सर्वसाधारणको आकर्षण बढेकाले लगानी बढेको हो ।


राष्ट्र बैंकका अनुसार बैंकहरुले गत आर्थिक वर्षको बैशाखसम्ममा ३७ अर्व ६२ करोड रुपैयाँ लगानी गरेकोमा चालु आवको यसै अवधिमा २३.४ प्रतिशतले वृद्वी भएको हो । यो वर्षको बैशाखसम्म ४९ अर्व १० करोड कृषि क्षेत्रमा लगानी भएको छ ।

केन्द्रीय बैंकले कृषि क्षेत्रमा लगानी अनिवार्य बनाएकाले बैंकहरुको कर्जा बढेको हो । बैंकहरुले २०७२ असार मसान्तसम्ममा कुल लगानीको १२ प्रतिशत हाइड्रो र कृषिमा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । यसका लागि बैंकहरुले कृषि कर्जा विस्तार गर्दै लगेका छन् ।

“व्यवसायीक कृषिमा सर्वसाधारणको आकर्षण र सीमा निर्धारणले कृषि क्षेत्रमा बैंकहरुको कर्जा बढ्दै गएको हो।” राष्ट्र बैंकका प्रवक्क्ता भाष्करमणी ज्ञवालीले भने, “तर अझै यो पर्याप्त भने होईन ।”

राष्ट्र बैंकले प्रकाशित गरेको १० महिनाको तथ्यांक अनुसार वैंशाखसम्ममा बैंकहरुले लगानी गरेका क्षेत्रहरुमध्ये सबैभन्दा धेरै बृद्वीदर पनि कृषि क्षेत्रको छ । बैंकहरुको कर्जा खानी क्षेत्रमा २.३, उत्पादन उद्योगमा १५.८, निर्माणमा १८.९, फलामजन्य उद्योगमा ९.३, यातायातका सामानमा १०.८, यातायात\संचारमा ४.७ होलसेल÷खुद्रा व्यवसायमा १८.८, फाइनान्स\इस्योरेन्समा ४.५, सेवा उद्योगमा १४.७, उपभोग ११.२ र अन्य कर्जा ८.४ प्रतिशत कर्जा भएको छ ।

यसैगरी कृषि क्षेत्रमध्ये सबैभन्दा बढी चिया खेतीमा बढेको छ । वैशासम्ममा बैंकहरुको चिया खेतीम लगानी ६७.६ प्रतिशतले बृद्वी भई ३ अर्व ५७ करोड लगानी भएको छ । गत आवको यसै अवधिमा भने २ अर्व मात्र लगानी रहेको थियो ।

यसैगरी व्यवसायीक पशुपालनमा समेत बैंकहरुको लगानी बढेको छ । गत आवको बैशाखसम्ममा पशुपालनमा ११ अर्व ८९ करोड लगानी गरेकोमा चालु आवको यसै अवधिमा १३ प्रतिशतले वृद्वी भई १४ अर्व ३४ करोड पुगेको छ । यस्तै माछापालनमा कर्जामा २२.६, व्यवसायीक कृषिमा ३.२ अन्य कृषि व्यवसायमा ३५.४ प्रतिशत लगानी वृद्वी भएको छ ।

समग्रमा बैंशाखसम्ममा बैंकहरुको कर्जा लगानी १३.८ प्रतिशतले वृद्वी भई १० खर्व ८७ अर्व ६५ करोड कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

बैशाखसम्म कृषिक्षेत्रमा भएको लगानी (रु १० लाखमा)
व्यवसायीक कृषि ६४२२.६
चिया ३५७०.३
पशुपालन १४३४९.९
वन÷माछापालन ५५८३.१
अन्य १९१७५.४

No comments: