Thursday, March 06, 2014

सहकारी नेताज्यूको माला मोह

सहकारीका दुईवटा केन्द्रीय संघका साधारणसभा हालैमात्र सम्पन्न भए । सहकारी क्षेत्रको एकमात्र राष्ट्रिय सहकारी बैंक र त्यस लगत्तै नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) साधारणसभामा धुमधामका साथ भएको चुनावबाट नेतृत्व चयन भयो । केही पुरानै अनुहार दोहारिए, केही नयाँ थपिए । राजनीतिक दलका प्यानल बने, केहीले जिते, धेरैले हारे ।

चुनावपछि नव निर्वाचित नेताज्यूहरुमा माला र सम्मानको मोह खुवै देखियो । चुनावको परिणाम घोषणा लगत्तै विजेताहरु निर्वाचनस्थलदेखि नै सुरु भएको माला, अविर र खादाले रंगिने शिलशिला अझ सकिएको छैन । उनीहरु नेताले चुनाव जितेझै जिल्ला जिल्ला घुमघाम गर्दै माला, अविर र खादाले रंगिदै आएका छन् । राजनीतिक दलका नेताहरु चुनाव जित्दा अनुहार नै ढाक्ने गरी माला लगाउँछन्, त्यसैगरी यसपटक सहकारीमा भएको चुनावले हालै भएको संविधान सभाको चुनावको विजय जुलुस र शासकहरुको देश दौडाहालाई माथ गरेको छ ।

माला मोहमा बैंकको तुलनामा नेफ्स्कूनका नेताहरु अगाडी देखिए । नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष जम्बो टोली नै लिएर प्रारम्भिक संस्थादेखि जिल्ला संघहरुका सम्मान थाप्न देश दौडाहमा लागेका छन् । नेताज्यूहरुका फेसबुकका भित्ताहरु पनि सम्मान, बधाई थापेका, माला लगाएका र अविरले रातै भएका अनुहारले रंगिएका छन् ।

अहिले बचत तथा ऋण सहकारीमा देखिएको समस्याका कारण सिंगो सहकारी क्षेत्र नै बदनाम भइरहेको छ । यसैको छानविनका लागि भनेर सरकारले उच्चस्तरिय जाचबुझ आयोग पनि बनाएको छ, तर नेफ्स्कुनका पदाधिकारीलाई न यसबारे कुनै चासो न त चिन्ता नै । उनीहरु फगत आत्म प्रचारमा रमाएका झै देखिन्छ । उनीहरुको देश दौडाहा देख्दा लाग्छ, ठुलै युद्ध जितेर खुसीयाली मनाइरहेका छन् ।

‘तपाईहरुलाई किन यति धेरै सम्मान थाप्ने मोह ?’ फेसबुकमा एक नवनिर्वाचित संचालकलाई यस स्तम्भकारले सोध्यो । उनले सम्मान गर्ने होडबाजी नै चलेको र आफुले यसलाई बन्द गरौ भन्ने प्रस्ताव राख्दा विरोध गरेको र आफु भने नजाने घोषणा गरे । तर, त्यसको एक साता पनि बित्न नपाउँदै उनी स्वयंम अध्यक्षको पछि लागेर मध्यतराईका जिल्लाहरुमा सम्मान थाप्ने पुगे । अहिले उनी आफ्नो बोली फेर्दै भन्छन् यो त हाम्रा लागि सर्वसाधारणको भावना बुझ्ने मौका पनि त हो नि ।

कति हास्यास्पद कुरा नेताज्यू, लामो सयम सहकारीमा विताइसकेको तपाईहरु सहकारी क्षेत्रका समस्याहरुबारे अनभिज्ञ त पक्कै हुनुहुन्न होला । सम्मान थाप्दा थाप्दै कार्यकाल सकिने पो हो कि बिचार गर्नुहोस् । जनता त बिचरा, एउटाले सम्मान गर्र्यो, हामी पनि के कम भन्दै सम्मानको प्रतिस्पर्धामा उत्रियो । यसलाई रोक्न किन सक्नुभएन तपाईहरुले ? यसले समाजमा कस्तो सन्देश गइरहेको छ तपाईले मूल्यांकन गर्नुभएको छ ? छैन भने सम्मानका फोटोमा आएका कमेन्टहरु केलाएर हेर्नुहोस् त । यतिखेर तपाईहरुको जिम्मेवारी के हो राम्रोसँग मनन गर्नुहोस्, बरु कार्यकालभरीमा कमसे कम एउटा भएपनि उदाहरणीय काम गरेपछि मात्र सम्मान थाप्न जाने कि ?