Saturday, May 18, 2013

सुनको आयात ५ किलो बढ्यो

काठमाडौं, १ जेठ - नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा ५ किलो बढाएको छ । बुधबार केन्द्रीय बैंकले ‘सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६८’ संशोधन गरी दैनिक आयात परिमाण १५ किलोबाट बढाएर २० किलो पुर्र्याएको हो ।
विवाहको लगनसँगै बजारमा सुनको अभाव चर्किएपछि व्यवसायीको आग्रहमा बैंकले असारसम्मका लागि आयात कोटा थप गरेको हो । बजारमा अभाव भएपछि केन्द्रीय बैंकले गत वर्ष पनि चैतदेखि असारसम्म दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।
बजारमा चरम अभाव भइरहेकाले कोटा थप हुँदा थोरै भए पनि राहत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । “हामीले १० किलो बढाउन माग गरेका थियौं,” शाक्यले भने, “पाँच किलो बढे पनि व्यवसायीलाई थोरै भएपनि राहत पुग्छ ।”बिक्रीको मुख्य सिजनमै सुन अभाव हँुदा व्यवसायी मारमा परेको र कतिपय स्थानमा पसल नै बन्द भएको शाक्यले बताए । विवाहको लगनमा सुनको माग बढेर दैनिक ४० किलो पुग्ने उनको भनाइ छ ।
यसपटक सुनको भाउ सस्तो भएकाले माग उच्च भएको व्यवसायीको भनाइ छ ।हिन्दु परम्परामा जन्मदेखि मृत्युसम्मका संस्कारमा सुनको आवश्यक पर्छ । विवाहका साथै दसंै–तिहारलगायतका अन्य शुभकार्यमा सुनको प्रयोग हुने भएकाले विवाहको लगन भएका बेला सुनका गहनाको माग बढ्ने गछन् । नेपालमा वैशाख, जेठ, असोज, मंसिर, माघ र फागुनमा सुनको माग उच्च हुने व्यवसायीको भनाइ छ । यसैगरी पछिल्लो समयमा घरजग्गा कारोबार र सेयर बजारसमेत ओरालो लागे पनि लगानीका रूपमा सुन खरिद गर्ने समेत बढेको बताइन्छ ।
चार वर्षदेखि अत्याधिक सुन आयात भई व्यापार घाटा उच्च भएपछि सरकारले सुन आयातलाई नियन्त्रण गर्न थालेको हो । सुनको आयात र लगानीलाई निरुत्साहित गर्न नेपाल राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गरेको थियो ।
कार्यविधिको व्यवस्थाअनुसार वाणिज्य बैंकले सुन आयात गरी सुनचाँदी व्यवसायीलाई बिक्री गर्नुपर्छ । उक्त सुन व्यापारीले पनि गरगहना बनाएर मात्र बेच्न पाउने नियम छ । यसैगरी आयातित सुनमध्ये ६० प्रतिशत बाग्मती अञ्चलभित्र र बाँकी ४० प्रतिशत अन्य १३ अञ्चलमा बिक्री गर्नुपर्ने व्यवस्था छ । यसैगरी सुनचाँदी व्यवसायीका संस्थालाई पनि सुनको कोटा तोकिएको छ । व्यवसायी संघको सिफारिसका आधारमा मात्र व्यवसायीले बैंकबाट सुन खरिद गर्न सक्छन् ।
कार्यविधिको व्यवस्था लागू गराउन अनुगमन नहुँदा सुन बिक्रीमा कालोबजारी समेत हुँदै आएको छ । गत आर्थिक वर्षमा ११ अर्ब ४७ करोड रुपैयाँबराबरको सुन आयात भएकोमा चालू आवको ८ महिनामा १७ अर्ब १५ करोडबराबरको सुन आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

No comments: