Tuesday, April 30, 2013

सरकारलाई झुक्याउँदै सुन व्यापारी


आधा सटर खोलेर कारोबार

काठमाडौं, १२ वैशाख- सरकारी अनुगमन टोलीलाई झुक्याउँदै न्युरोडका सुनचाँदी व्यापारीले पसलको आधा सटर खोलेर कारोबार गरेका छन् । सोमबार सरकारले गरेको अनुगमनको विरोधमा मंगलबार र बुधबार पसल बन्द गरेका व्यवसायीले बिहीबार भने झुक्याएर कारोबार गरेका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा एक्कासि सुनको मूल्यमा आएको गिरावटपछि कम तौलमा बिक्री गरेको उजुरीका आधारमा वाणिज्य विभागले पसल अनुगमन सुरु गरेको थियो । अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले अनिश्चितकालका लागि व्यापार बन्द गरेका थिए ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पसल बन्द रहेको बताए पनि बिहीबार दिउँसो न्युरोडका न्यु जयलक्ष्मी गहना गृह, भैरव ज्वेलर्स, सिल्भर प्यालेस, रिद्विसिद्धि ज्वेलर्स, पञ्चकन्या स्टोर, सिल्भर क्विनलगायत दर्जन पसलले आधा सटर खोलेर आंशिक व्यापार गरेका थिए । 

“अनुगमन निरन्तर जारी रहनेछ,” वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिँडारीले भने, “व्यवसायीले पसल बन्द गरेका कारण अनुगमन रोक्नुपरेको छ, खुल्नासाथ पुनः सुरु हुन्छ ।”
सिल्भर प्यालेसका एक कर्मचारीले अनुगमन टोली आउने भएकाले सटर आधामात्र खोलिएको बताइन् । जयलक्ष्मी गहना गृहका सुरक्षागार्डले भने पुरानो अर्डर वितरण गर्न पसल खोलिएको भन्दै बिल हुने व्यक्तिलाई मात्र भित्र छिर्न दिएका थिए ।
महासंघ अध्यक्ष रमेश मर्हजनले बिहीबार पनि सबै पसल बन्द रहेको दाबी गरे । आधा सटर खोलेर कारोबार भइरहेको छ नि भन्ने कारोबारको प्रश्नमा उनले ‘अर्डर लिइसकेका गहना दिन खोलेको हुनसक्ने’ बताए । “विवाहको लगन छ, अर्जेन्ट अर्डर दिनलाई पसल खोलेको हुनसक्छ,” उनले भने ।
सरकारले सोमबार न्युरोडका तीनवटा सुनचाँदी पसल अनुगमन गरेपछि त्यसको विरोधमा व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले मंगलबार र बुधबार पसल बन्द गरेका थिए ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले ठग्न पाउनुपर्छ भन्दै सुनचाँदी व्यवसायीले आन्दोलन गरेको बताए । “अनुगमनको विरोध गर्नु भनेको हामीले खुलेआम ठग्न पाउनुपर्छ, पित्तललाई सुन भनेर बेचे पनि हुन्छ भन्नु हो,” उनले भने, “सरकारले कुनै हालतमा पनि सुनचाँदी पसलको अनुगमनलाई रोक्नु हुँदैन ।”
महर्जनले भने अनुगमन शैलीको मात्र विरोध गरिएको बताए । “व्यवसायीलाई आतंकित बनाउने शैलीमा हुल आएर अनुगमन त हँुदैन नि !” उनले भने, “मापदण्ड बनाएर व्यवस्थित अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्छ ।” अनुगमन मापदण्ड नआएसम्म आन्दोलन जारी रहने भन्दै उनले संयुक्त आन्दोलनका लागि अन्य संघहरूसँग पनि छलफल भइरहेको जानकारी दिए ।
यसअघि भएको अनुगमनमा सुनचाँदी पसलले तौल कम गरेको, भाउ सस्तो हुँदा सुन लुकाएको, ज्याला र जर्ती बढी लिएकोलगायतका ठगी गरेको भेटिएको थियो ।
गत साता अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि सुनको भाउ एक्कासि घटेपछि व्यापारीले अभाव देखाउँदै सुन बेचेका थिएनन् । सुन नपाइएको गुनासो बढेपछि सरकारले अनुगमन सुरु गरेको हो ।
यसैबीच, बिहीबार सुन भाउ प्रतितोला ५२ हजार रुपैयाँ पुगेको छ । बुधबार प्रतितोला ५१ हजार ५ सय रुपैयाँ कायम रहेको सुन बुधबार ५ सय रुपैयाँ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

No comments: