Friday, March 22, 2013

सीमित व्यक्तिको चलखेलले सहकारी धराशायी : डेपुटी गभर्नर

काठमाडौं, २२ फागुन - नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले सहरी क्षेत्रका केही सहकारीका सञ्चालकहरूले सदस्यको निक्षेप आफू खुसी प्रयोग गर्ने र कुम्ल्याएर हिँड्ने प्रवृत्ति बढेकाले सिंगो सहकारी क्षेत्र नै धराशायी बन्दै गएको बताएका छन् ।
मंगलबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले गरेको ‘वित्तीय सहकारीका समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा डेपुटी गभर्नर अधिकारीले सहकारीमा अनेक प्रलोभन पारेर सर्वसाधारणबाट पैसा जम्मा गर्ने र भाग्ने नै सहकारीको ठूलो समस्या बनेको उल्लेख गरे ।
समस्याग्रस्त सहकारीको अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलको संयोजकसमेत रहेका अधिकारीले सहकारीविरुद्ध परेका २२ वटा उजुरीमाथि अध्ययन भइरहेको जानकारी दिए । “कस्ता सहकारीलाई समस्याग्रस्त भन्नेबारे हामीसँग आधार छैन,” उनले भने, “समस्यामा परेका र नपरेका ठूला सहकारीको वित्तीय विवरण मगाएर अध्ययन गरिरहेका छौं ।” समस्याग्रस्त संस्थाको बैंकमा रहेको मौज्दात, सम्पत्ति, लगानीको मूल्यांकन गरेर सदस्यलाई पैसा फिर्ता गर्न सुझाव दिइने उनले बताए ।
सहकारी निजी क्षेत्रका बैंक वित्तीय संस्थाभन्दा फरक सिद्धान्त भएकाले सहकारीमा समस्या देखा पर्दा सामान्य रूपमा हेर्न नहुने उनको सुझाव थियो । “सिद्धान्तः सहकारी स्वनियममा बस्ने हो, तर नबस्नेलाई अनुगमन र नियन्त्रण पनि आवश्यक हुन्छ,” उनले भने ।

सहकारी र लघुवित्तको काम गर्ने संस्थालाई अनुगमन गर्न छुट्टै निकाय गठन गर्न आवश्यक रहेको भन्दै अधिकारी त्यसका लागि ऐनको मस्यौदा तयार भइरहेको जानकारी दिए । सहकारीलाई राष्ट्र बैंकले अनुगमन गर्न नमिल्ने र आवश्यक परेका अनुगमनका लागि प्राविधिक सहयोग गर्ने उनले बताए ।
सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले ब्याजको लोभमा सहकारीमा निक्षेप जम्मा गर्ने प्रवृति रहेकाले बढी ब्याज र प्रचार–प्रसारलाई निरुत्साहित गर्न लागिपरेको बताए । राष्ट्र बैंक र विभागबीच समन्वय नहुन सहकारीमार्फत घरजग्गामा लगानी बढेको र यसले सहकारीलाई समस्या भएको उनले दाबी गरे ।
“राष्ट्र बैंकले घरजग्गामा लगानी कडाइ गरेपछि सहकारीबाट लगानी भएकाले समस्या बढ्यो,” न्यौपानले भने, “वित्तीय क्षेत्रसँग समन्धित निर्देशन जारी गर्दा राष्ट्र बैंक र विभागको समन्वय आवश्यक छ ।”
विभागसँग सहकारी संस्थालाई कारबाही गर्ने अधिकार नभएको भन्दै न्यौपानेले संस्थाका सदस्यलाई नै सचेत हुन आग्रह गरे । “गल्ती काम गर्ने सहकारीलाई हामी सचेत गराउने, सुधार गर्न समय सीमा दिनेबाहेक केही गर्न सक्दैनौं,” उनले भने । सहकारीमा सञ्चालक कार्यकारी हँुदा पनि संस्थाको रकम दुरुपयोग गरेको पाइएकाले त्यसलाई निषेध गर्न लागिएको उनले जानकारी दिए ।
नेपाल बहुद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सीमित सहकारीको समस्या देखाएर केही बैंकरहरू सहकारी सिध्याउन लागेको आरोप लगाए । सरकारले मात्र सबै सहकारीको नियमन गर्न नसक्ने ठोकुवा गर्दै भण्डारीले सहकारीका केन्द्रीय संघहरूलाई परिचालन गरेर अघि बढेमात्र समस्या समाधन बताए । यसअघि अनुगमन गरेको प्रतिवेदन लुकाएकाले अहिले सहकारीमा समस्या आएको उनको भनाइ थियो । “दुई वर्षअघि नै अनुगमन गर्दा केही सहकारीको सतप्रतिशत घरजग्गामा लगानी भएको भेटिएको थियो, उनले भने, “त्यस्तो अवस्थामा सहकारी विभाग किन चुप लागेर बस्यो ।”
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेतीले सहकारी शिक्षा र तालिम व्यापकता दिन सकेमात्र सहकारीमा विकृति घट्ने बताए । सहकारीमा देखिएका समस्या समाधान गर्न सहकारी आन्दोलनबाट पनि लागिपरेको जानकारी दिँदै तरलताको समस्या रहेका संस्थालाई बैंकले सहयोग समेत गरिरहेको बताए ।  

No comments: