Saturday, February 02, 2013

सुन अभाव हल्लामात्रै


काठमाडौं, १८ माघ - व्यवसायीले सुन अभावको वहान बनाएर प्रचलित मूल्यभन्दा बढी रकममा व्यापार गर्ने गरेको पाइएको छ । काठमाडौंको मख्खन टोलस्थित सूर्यलाल–गोविन्दलाल एन्ड सन्स पसलमा मंगलबार पुग्दा उक्त पसलका मालिकले जति पनि सुन किन्न पाउने बताए ।

मंगलबार बजारमा सुन ५८ हजार २ सय रुपैयाँमा कारोबार भए पनि उक्त पसलमा भने ५९ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको थियो । यो नेपाल सुनचाँदी व्यवसायीले अन्तर्राष्ट्रिय मूल्यअनुसार तोकेको मूल्यभन्दा १ हजार ६ सय रुपैयाँ बढी मूल्य हो । बजारमा अन्य व्यापारीले सुन अभावका कारण ग्राहक नै फर्काउनुपर्ने अवस्था भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । तर बजारमा ग्राहकले बढी मूल्य तिरेर सुन किनिरहेका छन् ।
मख्खनस्थित लक्ष्मी ज्योति ट्रेडर्समा मंगलबार सुन सकिएको भए पनि अर्को दिन आउँदा ग्राहकले चाहेजति सुन पाउन सकिने उक्त पसल सञ्चालकले बताए । तर, उनले मंगलबार आफ्नो पसलमा सुन सकिएको भन्दै मूल्य पनि बताउन मानेनन् ।
नेपाल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्य भने विवाहको मौसम भएकाले बजारमा सुनको चर्को अभाव भइरहेको बताउँछन् । उनका अनुसार, बजारमा हाल दैनिक ३५ देखि ४० किलो सुनको माग भए पनि १५ किलोमात्र सुन आपूर्ति भइरहेको छ । राष्ट्र बैंकले लागू गरेको सुन आयात तथा बिक्री कार्यविधि–२०६८ अनुसार वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गरी व्यवसायीलाई बिक्री गर्न पाउँछन् । दुई वर्षअघि सुन आयात गरी व्यवसायीले सञ्चित गरेका कारण शोधनान्तर घाटा उच्च भएपछि केन्द्रीय बैंकले सुन आयातमा कडाइँ गरेको हो ।
सरकारले सुन आयात कम गर्ने अप्रत्यक्ष उपायका रूपमा भन्सारदर बढाएको छ । आयात भएको सुन ६० प्रतिशत वाग्मती अञ्चलमा मात्रै र ४० प्रतिशत बाँकी अञ्चलमा खपत हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका तदर्थ समितिका सचिव माणिकरत्न शाक्यले जानकारी दिए । उनका अनुसार महासंघको काठमाडौं शाखाको सिफारिसमा एक व्यापारीले सातामा १ किलो ५ सय ग्राम मात्र सुन किन्न सक्नेछन् । “तर त्यो पनि चक्रिय पालोमा हो,” शाक्यले भने ।
नेपाली बजारमा विवाहको मौसमले सुनको माग उच्च भए पनि अभावका कारण आपूर्ति गर्न नसकिएको शाक्यको भनाइ छ । वैध रूपमा आएको सुनले बजार धान्न नसकेकाले बजारमा कालोबजारी बढेको भन्दै महासंघले सुनको आयात बढाउनुपर्नेमा जोड दिँदै आएको छ ।
पछिल्लो समय बजारमा सुन अभावको मौका छोप्दै केही व्यापारीले बजारमा खुलेआम गुणस्तरहीन सुन वास्तविक मूल्यभन्दा बढीमा बिक्री गरिरहेको एक व्यवसायीले नाम नबताउने सर्तमा भने । अहिले बजारमा अवैध र गुणस्तरहीन सुन ल्याई बिक्री भइरहेको उनी बताउँछन् । “अन्तर्राष्ट्रिय गुणस्तर अनुसार ९९.९५ प्रतिशत सुनलाई शुद्ध अर्थात् २४ क्यारेटको सुन मानिन्छ तर ती पसलहरूले ९८ प्रतिशत अर्थात् गुणस्तरहीन सुन बिक्री गरिरहेका छन्,” स्रोतले भन्यो ।
तीन महिनाअघि मात्र यी पसलबाट कालोबजारी भएको बिलसहित प्रमाणित भएपछि यी व्यापारी अहिले बिनाबिल नै सुनको कारोबार गरिरहेको  स्रोतको भनाइ छ । यस सम्बन्धमा सुन व्यापारीले नेपाल सरकारका सम्बन्धित निकाय र राष्ट्र बैंकलाई जानकारी गराए पनि अहिलेसम्म कुनै कारबाही नभएको सक्कली सुन व्यवसायीको गुनासो छ ।
mail

No comments: