Saturday, February 02, 2013

सहकारीलाई रजिस्ट्रारको आग्रह - मनोमानी नगरी आफैं सच्चिनुहोस्

काठमाडौं, १५ माघ - सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानले सहकारीहरू आफैं नसच्चिए विचरा भन्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । संहकारीबीच अस्वस्थ्य प्रतिस्पर्धा र सञ्चालकले संस्थाको रकम घरजग्गालगायत निजी कम्पनीमा लगानी गरेको अवस्थालाई दृष्टिगत गर्दै उनले सो चेतावनी दिएका हुन् ।


“सहकारी सिद्धान्तअनुसार नचल्ने हो भने तपाईंहरूलाई कठैबरा भन्नुपर्ने अवस्था आउँछ,” एभरेस्ट इनर्जी को–अपरेटिभले सहकारीका समस्याबारे गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भने । केही सहकारीमा सञ्चालकले मनोमानी गर्दा संस्था समस्यामा परेको उनले बताए, “व्यक्तिको कारोबार हो कि सहकारीको छुट्टयाउन नसक्ने अवस्था छ ।”


अध्यक्ष तथा सञ्चालकले घरजग्गा कारोबारमा संस्थाको पैसा लगानी गरेको र सदस्यहरू सक्रिय नभएकाले समस्या बढिरहेको न्यौपानेले दाबी गरे । सरकारले सहकारी खोल्नलाई मात्र प्रोत्साहन गरिरहेकाले समस्या बढिरहेको उनले बताए । सरकारले राम्रो सहकारीलाई प्रोत्साहन गर्ने र ऐन कानुनविपरीत चल्ने सहकारीलाई कारबाही गर्ने नीति लिएको उनले जानकारी दिए । “राम्रो काम गर्नेलाई हामी प्रत्साहन गर्छौं,” उनले भने, “गलत काम गर्नेलाई कारबाही गर्दा हस्तक्षेप भयो भनेर गुनासो नगर्नुहोस् ।”


सहकारी सञ्चालनको सोचाइमा समेत परिवर्तन ल्याउनुपर्नेमा रजिस्ट्रार न्यौपानेले जोड दिए । “गाउँमा मल बेच्न र सहरमा बचत तथा ऋण कारोबारका लागि मात्र सहकारी हो भन्ने भएको छ,” उनले भने, “अब सहकारीले उत्पादन वृद्धि रोजगारी सिर्जना र गरिबी निवारणमा मद्दत पु¥याउनुपर्छ ।”


सहकारी आफैं नियममा बस्ने (स्वनियन) संस्था भएकाले सरकारी नियमन कम हुने वातावरण बनाउन रजिस्ट्रार न्यौपानेले सहकारीकर्मीलाई आग्रह गरे । “सहकारीलाई फाइनान्स कम्पनी नबनाउनुहोस्,” उनले भने । सहरी क्षेत्रमा धेरै सहकारी खुलेकाले धेरै ब्याज दिने अस्वस्थ्य प्रतिस्पर्धा भएको भन्दै मर्जरमा जान उनले जोड दिए ।


पूर्वअर्थमन्त्री तथा एभरेस्ट इनर्जी सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले वित्तीय संस्था आफ्नो काम बिर्सेर घरजग्गाको कारोबारमा लागेकाले समस्या बढेको दाबी गरे । आफू अर्थमन्त्री भएका बेला ठूला सहकारीको अनुगमन गरेको र त्यसमा सञ्चालकले संस्थाले प्रवाह गरेको ऋणको धितो आफ्नो नाममा राखेको लगायतका गम्भीर त्रुटि भेटिएको उनले जानकारी दिए । यसलाई सुधार गर्न लेखापरीक्षकलाई कारबाही गरेर काम सुरु गरेको उनको दावी छ ।


सहकारी संस्थाहरूले संयुक्त लगानीमा विद्युत् सहकारी स्थापना गरेका हुन् । संस्थाले सन् २०१५ सम्ममा दोलखा, मार्बुको घट्टेखोलामा ५ मेगावाटको जलविद्युत् आयोजना बनाउने लागिरहेको छ । ८१ करोड २५ लाख रुपैयाँ लागत हुने आयोजनामा ४० प्रतिशत सहकारीहरूको र ६० प्रतिशत बैंकको लगानी रहने बताइएको छ ।

No comments: