Thursday, January 17, 2013

सीमित व्यवसायीको कब्जामा सुन


काठमाडौं, ४ माघ - सरकारले बिक्री प्रणाली व्यवस्थित गर्न नसक्दा आयात भएको अधिकांश सुन सीमित व्यापारीले कब्जा गर्न थालेका छन् । सुनचाँदी व्यवसायी कम्पनी\फर्मले बैंकहरूबाट आलोपालोमा एक किलोमात्र सुन किन्न पाउने व्यवस्था भए पनि केही व्यापारीले धेरै कम्पनी दर्ता गरेर सुन ओगट्न थालेका हुन् ।
“नेपाल राष्ट्र बैंकको नियमअनुसार व्यवसायीले एक पटकमा एक किलोमात्र सुन किन्न पाउँछन्,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “बजारमा अभाव भएपछि एउटै व्यक्तिले धेरै कम्पनी दर्ता गरेर धेरै सुन लिने गरेको पाइएको छ ।”
यसबाट साना व्यापारीले सुन नपाउँदा कालोबजारी बढेको शाक्य बताउँछन् । “बजारमा सुन अभाव छ, यस्तो अवस्थामा कसलाई के भन्ने ?” उनले भने ।

साना व्यापारीले ठूला व्यवसायीसँग सुन किन्दा बैंकभन्दा ५ सय रुपैयाँदेखि १ हजारसम्म महँगो पर्छ । ठूला व्यापारीले धेरै सुन ओगट्ने गरेकाले सानाले बैंकबाट सीधै सुन नपाएका हुन् । “धेरै व्यवसायीले एक किलो सुन किन्न सक्दैनन्,” नेपाल रत्न तथा आभूषण संघका महसचिव सुमन ताम्राकारले भने, “ठूला व्यापारीले भने धेरै कम्पनी देखाएर सबै सुन किनिरहेका छन् ।”

ताम्राकारका अनुसार भारतीय व्यापारीले नेपालीका नाममा कम्पनी खोलेर सुन किन्ने गरेका छन् । १० किलोसम्म किन्ने त्यस्ता व्यापारीले एक–दुई किलोमात्र बजारमा देखाउने र बाँकी कालोबजारी गर्ने गरेको उनको दाबी छ ।

सुन अधिक आयात हुँदा अर्थतन्त्रलाई नै असर गरेपछि सरकारको अनुरोधमा केन्द्रीय बैंकले सुन आयातलाई निरुत्साहित गर्न विविध उपाय अपनाउँदै आएको छ । सुन आयात र बिक्रीलाई व्यवस्थित गर्न राष्ट्र बैंकले लागू गरेको ‘सुन आयात तथा बिक्री–वितरण कार्यविधि २०६८’ अनुसार वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गर्न सक्छन् । त्यसमध्ये सुनचाँदी व्यवसायीलाई प्रतिव्यवसायी बढीमा १ किलो सुनमात्र बिक्री गर्नुपर्छ । व्यवसायीले पनि उक्त सुन गरगहना बनाएर मात्र बिक्री गर्न सक्छन् । सुनमा लगानी हुन नदिन सरकारले सर्वसाधारणलाई ढिक्का सुन खरिद गर्न नपाउने व्यवस्था गरेको छ ।

सुन बिक्रीको विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्ने भए पनि अधिकांश व्यवसायीले नबुझाएको राष्ट्र बैंक विदेशी विनिमय विभागका एक अधिकारीले बताए । कार्यविधिको व्यवस्थालाई केन्द्रीय बैंकले प्रभावकारी रूपमा लागू गर्न नसक्दा समस्या बढेको उनले स्वीकार गरे ।
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले बजारमा सुन अभावबारे राष्ट्र बैंकले अध्ययन गरिरहेको र आवश्यक भए आयात कोटासमेत बढाउने बताए ।

विवाहको लगन सुरु भएकाले बजारमा सुनको माग बढेको अध्यक्ष शाक्यको भनाइ छ । “अहिले माग बढेर दैनिक ३० किलोभन्दा माथि पुगेको छ,” उनले भने, “आयात कोटा बढाउन राष्ट्र बैंकसमक्ष अनुरोध गरिसकेका छौं ।”

नेपालीले शुभकार्यमा सुनलगायत बहुमूल्य धातु प्रयोग गर्ने भएकाले वैशाख, जेठ, असोज, मंसिर, माघ र फागुनमा बिक्री बढ्छ । यो समयमा माग बढेर दैनिक ४० किलोसम्म पुग्ने व्यवसायी बताउँछन् । पछिल्लो समय चीनबाट नेपाल हुँदै भारतसम्म सुन तस्करी हुने गरेको छ । प्रहरीले पटक–पटक गरी १२ किलोभन्दा बढी अवैध सुन पक्राउ गरिसकेको छ । नेपाली बजारमा आवश्यक सुनको परिणामबारे सरकार र व्यवसायीबीच मतभेद भए पनि यसबारे कुनै अध्ययन भएको छैन ।

सेयर बजार र घरजग्गा कारोबार ओरालो लागेपछि सुनमा लगानी गर्नेहरू बढेको व्यवसायी बताउँछन् । रेमिट्यान्सका कारण ग्रामीण क्षेत्रका सर्वसाधारणको क्रयशक्ति बढेकाले सुन किनेर सञ्चय गर्नेको संख्या पनि बढेको छ ।

No comments: