Friday, January 04, 2013

निषेधित क्षेत्रमा सहकारीको लगानी


सहरी क्षेत्रमा सञ्चालित वित्तीय सहकारी (बचत तथा ऋण र बहुद्देश्यीय)ले कानुनले निषेध गरेका क्षेत्रमा लगानी गरेको भेटिएको छ । सहकारीले मापदण्डविपरीत सुन, चाँदी र सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । कमजोर अनुगमनका कारण सञ्चालकले आफूखुसी जथाभावी लगानी गर्दा सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा छ ।

राष्ट्र बैंक र सहकारी विभागको संयुक्त अनुगमनमा सहकारीको बदमासी देखिएको हो । अनुगमनका क्रममा सबैभन्दा बढी घरजग्गा क्षेत्रमा लगानी भएको पाइएको छ । अनुगमन भएका सहकारीमध्ये अधिकांशले ६५ प्रतिशतसम्म रकम घरजग्गामा मात्र लगानी गरेको विभागले जनाएको छ । कतिपय सहकारीले आफ्नै प्रकृतिको संस्थाको सेयर, संस्थाका सञ्चालकको लगानी रहेको कम्पनी र संस्था स्वयंले आफ्नै नाममा समेत लगानी गरेका छन् ।

सहकारीले व्यापारिक सञ्जाल बनाएर विभिन्न कम्पनीमा गैरकानुनी रूपमा लगानी गरेको विभागले जनाएको छ । सहकारीका नाममा हाउजिङ, अस्पताल, स्कुल, कलेज, एयरलाइन्स र इन्भेस्टमेन्ट कम्पनीमा पनि लगानी भएको छ ।
सहकारी दर्ता तथा नियमन मापदण्ड, २०६८ ले सहकारीले सदस्यबाट मात्र बचत संकलन गरी उनीहरूलाई ऋण लगानी गर्न पाउने व्यवस्था गरेको छ । यस्तो लगानीमा आफैंले प्रवाह गरेको सेयर, अन्य वित्तीय संस्थाको सेयर, सुनचाँदी धितोमा लगानी गर्न नपाइने व्यवस्था छ । त्यसैगरी बचत तथा ऋण सहकारीले ओभरड्राफ्ट र सञ्चालकले लगानी गरेको निजी उद्योगमा लगानी गर्न नपाइने उल्लेख छ ।

विभागका रजिस्ट्रार केदार न्यौपानेले व्यापारिक उद्देश्यले खुलेका सहकारीले छिटो कमाउन मापदण्डविपरीत लगानी गरेको बताए । राष्ट्र बैंकले घरजग्गामा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेपछि घरजग्गा कारोबारी सहकारीतिर सरेको उनको भनाइ छ । “बैंक तथा वित्तीय संस्थाका खराब ऋणी नै सहकारीतिर लागेकाले समस्या बढेको हो,” उनले भने ।

न्यौपानेका अनुसार व्यापारिक उद्देश्यमा खुलेका सहकारीले कारोबारी सदस्य बनाएर कारोबार गर्छन् र सदस्यलाई संस्थामा कुनै भूमिका दिँदैनन् । स्वनियमनमा चल्ने सहकारीका सदस्य भूमिकाविहीन हुँदा सञ्चालकले संस्थाको निक्षेप दुरुपयोग गरेको उनले बताए ।

कानुनविपरीत लगानी गरेका सहकारीलाई लगानी फिर्ता गर्न समयसीमा दिइएको र सो अवधिमा लगानी फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिइसकिएको न्यौपानेले बताए ।

No comments: