Thursday, September 20, 2012

विद्युतीय राफसाफ सेवा ५० वित्तीय संस्थामा

काठमाडौं, ३ असोज   - नेपाल क्लियरिङ हाउस (एनसीएचल) मार्फत विद्युतीय प्रविधिबाट एकाउन्ट पेई (एसी) चेक राफसाफ सेवा सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या चार दर्जन नाघेको छ ।  

गत आर्थिक वर्षसम्ममा नेपाल राष्ट्र बैंकका साथै ३२ वाणिज्य बैंक, ११ विकास बैंक र ६ वटा फाइनान्स गरी ५० वटा कम्पनीले सदस्यता लिई सेवा लिइरहेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले जानकारी दिए ।

यस सेवा अन्र्तगत एसीपेइ चेक राखेकै दिन ग्राहकको खातामा रकम जम्मा हुन्छ । कम्पनीका अनुसार सामान्य चेक १२ बजेसम्म र राष्ट्र बैंकले तोकेको स्ट्यान्डर्ड चेक भने २ बजेसम्म प्राप्त भएमा सोही दिन राफसाफ भई ग्राहकको खातामा जम्मा हुने गरेको प्रधानले बताए ।

विद्युतीय प्रविधिमा चेक राफसाफका लागि बैंकले चेकको स्क्यानिङ र विवरण भरेर सफ्टवेयरमार्फत पठाए पुग्छ । सोहीबाट विवरण हेरेर राष्ट्र बैंक हुँदै ग्राहकको खातामा रकम भुक्तानी गरिन्छ । यसअघि चेक नै पठाउने गर्दा एसीपेइ चेक राफसाफका लागि साता दिनदेखि महिनासम्म समय लाग्ने गरेको थियो ।

हाल दैनिक ७ हजार ८ सय ५० वटा चेक राफसाफ भइरहेको कम्पनीले जनाएको छ । बैंकहरूले अहिले उपत्यकाभित्रका शाखाका चेक मात्र अनलाइन राफसाफ गर्ने गरेकाले यो सेवा उपत्यकाबाहिर विस्तार गरेपछि अझै बढ्ने प्रधानले बताए ।

एनसीएचएलले राफसाफबापत रकमअनुसार बैंकसँग प्रतिचेक ५ रुपैयाँदेखि १० रुपैयाँ लिने गरे पनि ग्राहकहरूले भने यो सेवा निशुल्क पाउँदै आएका छन् ।

विद्युतीय माध्यमबाट चेक राफसाफ गर्नका लागि नेपाल राष्ट्र बैंकको अगुवाइमा सन् २००८ मा एनसीएचएलको स्थापना भएको हो । कम्पनीेले गत माघ २० गतेदेखि विदेशी मुद्राको र चैत २७ गतेदेखि नेपाली मुद्राको चेक राफसाफ सेवा सुरु गरेको हो ।







 

No comments: