Thursday, September 06, 2012

सहकारीमा सुधार आवश्यक छ : उपराष्ट्रपति

काठमाडौं, १८ भदौ - उपराष्ट्रपति परमानन्द झाले सहकारीमा सुधार आवश्यक रहेको बताएका छन् । सोमबार एसिया प्यासिफिक क्षेत्रमा सहकारीको कार्यदिशा र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै झाले सहकारीको विकासका लागि यसले दिने सेवाको स्तरमा समेत सुधार गर्न सुझाव दिए ।

विपन्न जनतालाई  माथि उठाउने माध्यमका रूपमा सहकारीलाई सरकारले प्राथमिकता दिएको झाले बताए । खुला बजार अर्थतन्त्रको अवधारणाअनुसार सहकारीलाई पनि अगाडि बढाउन तीनखम्बे नीति लिएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले सहकारीमा सुधारका लागि सरकारले सहकारीसम्बन्धी नीति तथा कानुनमा सुधार गर्न लागेको बताए ।

पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले दिगो आर्थिक विकासका लागि सरकारले सहकारीलाई आर्थिक विकासको एक खम्बाका रूपमा स्वीकार गरेको बताए । गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, स्रोतको न्यायोचित वितरण र लोकतन्त्रको विकासका लागि सहकारी उपयुक्त माध्यम भएको बताउँदै ठूला आर्थिक संकटमा पनि सहकारी अर्थतन्त्र निर्वाधरूपमा अगाडि बढेको उनको दाबी थियो ।

अन्तर्राष्ट्रिय सहकारी सञ्जाल (एसिया प्यासिफिक)का क्षेत्रीय निर्देशक डा. चान हो चायले नयाँ पुस्तालाई सहकारीसम्बन्धी शिक्षा दिई यसमा सक्रिय सहभागी गराई सहकारीमा आधारित उद्यमशीलताको विकास गर्न सुझाव दिए 

दुई दिनसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी सञ्जाल (एसिया प्यासिफिक)का प्रतिनिध, भारत, श्रीलंका, मलेसियाका साथै नेपालका सहकारीकर्मी गरी करिब १ सय जनाको सहभागिता छ ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को उपलक्ष्यमा सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी संघले संयुक्त रूपमा सम्मेलन आयोजन गरेको हो । सम्मेलनमा सहकारी व्यवसायलाई यस क्षेत्रमा गरिएको प्रवद्र्धन, सरोकारवाला पक्षबीच सम्बन्ध विस्तार,  गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, सामाजिक एकतामा पु¥याएको योगदानबारेमा अनुभव आदान–प्रदान गरिने बताइएको छ ।
 

No comments: