Sunday, July 08, 2012

उत्कृष्ट पाँच सहकारी पुरस्कृत

काठमाडौं, २३ असार- राष्ट्रिय सहकारी संघले पाँच सहकारीलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०६८’ बाट सम्मान गरेको छ । अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले सहकारीलाई पुरस्कार प्रदान गरे ।


पुरस्कृत हुने सहकारीहरूमा तनहुँ दुग्ध उत्पादक सहकारी संघ, सृजना बचत तथा ऋण कञ्जनपुर, नेपा बहुउदेश्यीय सहकारी कालिकोट, बछौली नारी चेतना बचत तथा ऋण चितवन र हिमालयन सहकारी ओखलढुंगा रहेका छन् ।
कार्यक्रममा आठवटा जिल्ला संघलाई एक÷एक थान कम्प्युटर प्रदान गर्नुका साथै सगरमाथामा सहकारीको झन्डा फहराउने सहकारीकर्मी शिवकुमार डाँगीलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा मन्त्री ढकालले राष्ट्रिय सहकारी नीति तयार गरेर यस क्षेत्रका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए । सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै उनले आगामी बजेटमा सरकारले यसलाई प्राथमिकता दिने जानकारी दिए ।

राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारीलाई उत्पादनमा लाग्न सुझाव दिए । “देशको आवश्यकता उत्पादन बढाउनु हो,” उनले भने, “सहकारी सोही दिशामा अघि बढ्नुपर्छ ।”

संघले ९०औं अन्तर्राष्ट्रिय सहकारी दिवस, १८औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा १९औं राष्ट्रिय सहकारी संघ दिवस संयुक्त रूपमा मनाएको हो । प्रत्येक वर्ष जुलाइको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रूपमा मनाइँदै आएको छ ।

No comments: