Sunday, July 08, 2012

‘सरी !अब राष्ट्र बैंकले बचाउन सक्दैन’

काठमाडौं, २३ असार- राष्ट्र बैंकले घरजग्गा व्यवसायलाई अब कुनै पनि सहुलियत÷सुविधा नदिने र लिलामी हुनबाट नबचाउन भएको छ । “कम मूल्यमा जग्गा बेचेर ऋण तिर्नुहोस्, नभए बैंकहरूले लिलामी गर्छन्,” शनिबार गभर्नर डा. युवराज खतिवडाले व्यवसायीलाई भने, “सरी ! राष्ट्र बैंकले अब तपाईंहरूलाई बचाउन सक्दैन ।”

निर्माणाधीन अपार्टमेन्टलाई वित्तीय समस्या नभएको र जग्गा सट्टेबाजी गर्नेलाई राष्ट्र बैंकले कुनै हालतमा सहयोग नगर्ने उनले बताए ।


गभर्नरको यो भनाइले राष्ट्र बैंक घरजग्गा लगानीलाई थप खुकुलो बनाउने पक्षमा नभएको संकेत गरेको छ । अब घरजग्गामा लगानी बढाउन राष्ट्र बैंकले नसक्ने बताउँदै खतिवडाले कम मूल्यमै भए पनि जग्गा बेचेर ऋण तिर्न व्यवसायीलाई सुझाव दिए ।


घरजग्गा व्यवसायीले सरकार र राष्ट्र बैंकसँग सहयोगका लागि आग्रह गरिरहेका बेला गभर्नरले यस्तो जवाफ दिएका हुन् । तीन 
वर्षयता घरजग्गा कारोबार सुस्त छ ।


राष्ट्र बैंकले २०६६ पुसमा घरजग्गा कर्जामा ४० प्रतिशत सीमा लगाउँदै त्यस क्षेत्रमा गएको कर्जा घटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले २०७० असारसम्म घरजग्गामा लगानी २५ प्रतिशत सीमाभित्र राख्न भनेको छ ।


खतिवडाले सबै पक्षलाई जिम्मेवारीपूर्ण व्यवसाय गर्न आग्रह गरे । “माछापोखरी बन्ने ठाउँमा गिटी हालेर पिच गर्नुभयो, हरियाली डाँडामा डोजर चलाउनुभयो,” घरजग्गाको कारोबारमा वित्तीय क्षेत्रको संलग्नताबारे बोल्दै खतिवडाले भने, “तपाई जिम्मेवार नागरिक बन्नु पर्दैन ?”


घरजग्गा र बैंकर उपस्थित कार्यक्रममा कडा रूपमा प्रस्तुत भएका खतिवडाले राजनीतिक नेता र द्वन्द्वबाट विस्थापित सबै व्यक्ति घरजग्गा कारोबारमा दलाल बनेकाले सामाजिक विकृति बढेको बताए । यस्तो स्थितिमा घरजग्गा नियन्त्रण आवश्यक रहेको तर्क उनको थियो । “घरजग्गामा भएको बैंकहरूको २५ प्रतिशत लगानी सबै खराब भयो भने नाफा शून्य हुने स्थितिमा ४० प्रतिशत बनाउँदा स्थिति कस्तो होला ?” उनले प्रतिप्रश्न गरे ।


पूर्वगभर्नर गणेशबहादुर थापाले आवश्यकताबारे अध्ययनै नगरी घरजग्गामा लगानी भएकाले समस्या आएको बताए । “कति घडेरी र अपार्टमेन्ट आवश्यक छ भन्ने अध्ययनै नगरी लगानी गर्दा यस्तै हुन्छ,” उनले भने, “घरजग्गा व्यवसाय राष्ट्रिय समस्या भएकाले सरोकारवाला सबै पक्ष बसेर समाधान निकाल्नुपर्छ ।”


राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा जनता बैंकका सञ्चालक गुरुप्रसाद न्यौपानेले केन्द्रीय बैंकले कडाइ गरेपछि ढुकुटी, सहकारीलगायतका अनौपचारिक कारोबार फस्टाएको बताए । “घरजग्गा कारोबार नहुँदा अनौैपचारिक कारोबार फस्टाएको छ,” उनले भने, “ब्याज तिर्नकै लागि २४ देखि ३६ प्रतिशतसम्म ब्याजमा कर्जा लिनुपर्ने स्थिति छ ।” घरजग्गा व्यवसायलाई चलायमान बनाउन अपार्टमेन्टको लागत कम हुनुपर्ने उनको भनाइ थियो ।


न्यौपानेले हाउजिङ कम्पनीले पुँजीबजारबाट पुँजी संकलन गर्नुपर्ने, घर किन्नेलाई लामो अवधिको कर्जा उपलब्ध गराउनुपर्ने, आधुनिक आवास परियोजना सञ्चालन गर्नुपर्नेलगायतका सुझाव दिए ।


घरजग्गा विकास तथा अपार्टपेन्ट निर्माणमा वित्तीय लगानी भए पनि खरिदका लागि लगानी हुन नसक्दा समस्या आएको घरजग्गा कारोबारसँग सम्बन्धित व्यवसायीको भनाइ छ । नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाराज तामाङले व्यवसायीले मूल्य र बैंकले ब्याज घटाई घरजग्गा र अपार्टमेन्ट कारोबार चलायमान बनाउने प्रयास भइरहेको बताए । राष्ट्र बैंकले व्यक्तिगत घर कर्जाको सीमालाई बढाएर २ करोड र बैंक तथा वित्तीय संस्थाको लगानी सीमालाई ४० प्रतिशत बनाए सरल हुने दाबी उनको थियो ।
पूर्वडेपुटी गभर्नर पुष्पराज राजकर्णिकारले घर आवश्यक भएका मध्यमवर्गसम्म पुग्ने गरी लामो अवधिको कर्जा प्रवाहमा जोड दिए घरजग्गा कारोबार अगाडि बढ्ने बताए ।


राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले घरजग्गामा लगानी गर्दा जोखिमबापत छुट्याउनुपर्ने रकममा छुट दिए सहज हुने दाबी गरे । “घरजग्गामा लगानी गर्दा जोखिमबापतको रकम बढ्ने र त्यसले नाफामा असर गरी बैंकको साख नै बिग्रने अवस्था भएकोले सोच्नुपर्ने स्थिति आएको छ,” उनले भने ।


एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेलले घरजग्गा व्यवसायी र बैंकर्सका समस्या समाधान गर्न ब्याज तिर्नकै लागि बैंकले कर्जा दिनुपर्ने सुझाव दिए । बैंकले कर्जा ब्याजदर क्रमशः घटाइरहेकाले समस्या बिस्तारै समाधान हुने उनको भनाइ थियो ।

No comments: