Thursday, July 26, 2012

सुनचाँदीबाट भन्सार संकलन दोब्बर

काठमाडौं, ७ साउन


सुनचाँदी र हीराबाट राजस्व संकलन दोब्बर बढेको छ । आयात वृद्धिसँगै सरकारले भन्सारदर बढाउँदा राजस्व संकलन बढेको हो ।


सुनचाँदी तथा हीराको आयातबाट सरकारले आर्थिक वर्ष २०६८/६९ मा ९८ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । आर्थिक वर्ष २०६७/६८ मा ४२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।


सरकारले आव २०६८/६९ मा सुनबाट मात्र ८१ करोड ८० लाख रुपैयाँ राजस्व उठाएको छ । सो वर्ष आयात भएको ५ हजार ९ सय किलो सुनबाट सरकारले उक्त राजस्व संकलन गरेको हो । त्यसैगरी चाँदीबाट १६ करोड र हीराबाट भने ३४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।


“सरकारले भन्सारदर बढाएको र आयातसमेत बढेका कारण भन्सार महसुल बढेको हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने ।


गत आवमा भन्सार महसुलकै कारण ९ महिनामात्र आयात भएको थियो । यस आवमा भने पूरै समय सुन आयात भएको छ ।
गत आवमा ८ महिना दैनिक १५ किलो तथा ४ महिना २० किलो आयात भएको थियो । गतवर्षदेखि सुनको भाउ क्रमशः उकालो लागे पनि बिक्री नघटेकाले सुनको आयात बढेकाले राजस्व संकलन बढेको हो । सरकारले भने सुनलाई अनुत्पादक भन्दै यसको आयात निरुत्साहित गर्न भन्सारदर बढाउँदै लगेको छ ।


दुई वर्षको बीचमा सुनको भन्सारदर चारपटक बढिसकेको छ ।  दुई वर्षअघि नेपालमा सुनको भन्सारदर कम हुँदा बजारभाउ भारतको तुलनामा कम भई एकै वर्ष ४१ अर्वको सुन आयात भएको थियो । यसले देशको व्यापारघाटा बढाए पछि चैत १९ मा विधेयकमार्फत सुनको भन्सारदर प्रति १० ग्राम १ सय ३० बाट बढाएर ४ सय ७० रुपैयाँ पु¥याएको थियो । त्यसपछि मंसिरमा भन्सारदर १ हजार पु¥याएको थियो ।


गत आवको बजेटबाट सुनको भन्सारदर १ हजार ५ सय पु¥याएको सरकारले ६ महिनाअघि २ हजार ३ सय पु¥याएको छ ।
यसैगरी दुई वर्षअघि प्रतिकिलो ४ सय रुपैयाँ रहेको चाँदीको भन्सारदर पनि ४ पटक समायोजन भइसकेको छ । हाल सरकारले चाँदीमा प्रतिकिलो ४ हजार ६ सय रुपैयाँ भन्सार महसुल लिने गरेको छ । हीरामा भने आयात मूल्यमा १ प्रतिशत भन्सार लिने गरेको छ ।

No comments: