Friday, July 06, 2012

‘संस्थाबाट पेस्की लिई मुद्दतीमा राखेर ब्याज

काठमाडौं, २० असार
सहकारीका सञ्चालकले संस्थाबाट पेस्की लिएर सोही संस्थामा मुद्दती खोली ब्याजबाट मोटो रकम लिने गरेको भेटिएको छ  । सरकारको कमजोर अनुगमनका कारण सहकारीमा विकृति फैलिएको र सीमित व्यक्तिले सहकारीको दुरुपयोग गरेको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।

“सहकारी विभागले गरेको अनुगमनमा सञ्चालकले संस्थाबाट लाखौं रकम पेस्की लिएर सोही संस्थामा मुद्दती खाता खोली व्याज खाने गरेका भेटिएको छ,” नेपाल सहकारी पत्रकार समाजले गरेको कार्यक्रममा कार्यपत्र पेस गर्दै सहसचिव ढकालले भने, “सरकारको कमजोरीको फाइदा उठाउँदै केही सीमित व्यक्तिले सहकारीको दुरुपयोग गरेका छन् ।” सहकारी ऋणीहरूको कब्जामा रहेकाले बचतकर्ताहरू भने जोखिममा रहेको उनको भनाइ थियो ।


यसैगरी अनुगमनका क्रममा संस्थाका अध्यक्षलगायतका सञ्चालक स्वयंले अधिकांश बचत उपयोग गरेको समेत भेटिएको ढकालले जानकारी दिए । “संस्थाको ८० प्रतिशतभन्दा बढी निक्षेप ३ प्रतिशतले उपयोग गरेको पनि भेटियो”, उनले भने, “एउटै व्यक्तिले धेरै रकम चलाएपनि संस्था किन जोखिममा नहोस् ।”


अनुगमनबाट कर छल्ने नियतले साधारणसभामा साधारणका नाममा सदस्यलाई रकम बाँड्ने गरेको, संस्थाका नाममा घरजग्गा खरिद गर्दा प्रक्रिया पूरा नगरी अनियमितता गरेको लगायतका गम्भीर त्रुटि भेटिएको ढकालले उल्लेख गरे ।

ढकालले कार्यपत्रमा व्यावसायिक सहकारी संघको कमजोर व्यवस्थापन, कमजोर कानुनी संरचना, व्यक्तिगत व्यवसायका रूपमा सहकारीको दुरुपयोग, बचत तथा लगानी कारोबारको असुरक्षाका साथै तालिम तथा शिक्षा कमजोर रहेको औंल्याएका छन् ।


सहकारीमा बचत तथा ऋण सहकारीको नियमन तथा अनुगमन आवश्यक रहेको उल्लेख गर्दै ढकालले यसका लागि दोस्रो तहको स्वायत्त निकाय गठन हुनुपर्ने बताए । “अब सहकारी विभागले बचत तथा ऋण सहकारीको अनुगमन गर्न सक्दैन,” ढकालले भने, “प्रभावकारी अनुगमनका लागि छुट्टै स्वायत्त निकायको आवश्यकता छ ।” यसैगरी सहकारीको विकासका लागि राष्ट्रिय नीति, सहकारी ऐनमा परिमार्जन, बचत तथा ऋण ऐन नियमको तर्जुमा, विभागको पुनर्संरचना र कार्यालयको विस्तारलगायतका सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


संकटा बचत तथा ऋण सहकारीसँगको सहकार्यमा सहकारी पत्रकार समाजले सहकारी अर्थव्यवस्थाबारे पत्रकारिता तालिम गरेको थियो । तालिममा अर्थविद् डा.चिरञ्जीवी नेपाल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकाल, कानुन मन्त्रालयका उपसचिव मानबहादुर अर्याल र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी स्रोत व्यक्ति थिए ।  


बुधबार कार्यक्रमको समापन गर्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीले सबै क्षेत्रमा काम गर्ने वातावरण बनाउन आग्रह गरे । सहकारीमा पर्याप्त पुँजी रहेको उल्लेख गर्दै उनले उद्योग र उत्पादनका क्षेत्रमा जान आग्रह गरे । पत्रकार रामकृष्ण रेग्मीले आर्थिक विषय जनतासँग प्रत्यक्ष जोडिएकाले सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

No comments: