Thursday, July 26, 2012

मर्जर, संस्थागत सुशासन, विपन्न वर्ग कर्जावृद्वि र वित्तीय साक्षरतामा जोड


आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गर्ने, संस्थागत सुशासन बढाउने साथै विपन्न क्षेत्रमा कर्जा प्रवाह बढाउनुका साथै वित्तीय साक्षरता बढाउनेतर्फ ध्यान दिने बताएको छ । गर्भनर डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको नीतिमा निर्यात प्रोत्साहन, विदेशी मुद्रा सटही र बचतमा प्रोत्साहन, ब्याजदर करिडोर लागू गर्ने र उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन केन्द्रित रहने कार्यदिशा तय गरिएको छ ।

मौद्रिक लक्ष्य

मौद्रिक नीतिले चालू आवमा मुद्रास्फीतिलाई ७.५ प्रतिशतमा सीमित गर्ने, कम्तिमा ८ महिनालाई पुग्ने गरी विदेशी मुद्रा सञ्चिति गर्ने, ५.५ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्न आवश्यक कर्जा प्रवाह गर्ने लक्ष्य राखेको छ । विस्तृत मुद्रा प्रदाय १५ प्रतिशत, वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा १६ प्रतिशत र सरकारतर्फ प्रवाह हुने कर्जा १५.८ प्रतिशत, बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप परिचालन १५.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । स्थिर विनिमयदरलाई कायम राख्ने विषयलाई मौद्रिक नीतिको अन्तरिम लक्ष्य लिइएको छ । बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलताका साथै बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई मौद्रिक नीतिको कार्यान्वयन लक्ष्यका रूपमा लिइएको छ ।


सञ्चालन उपकरण

खुलाबजार कारोबारलाई मौद्रिक नीति कार्यान्वयनको प्रमुख उपकरणको रुपमा प्रयोग गरिने छ । अन्तिम ऋणदाता सुविधा तथा सुरक्षणपत्रहरूको डिस्काउन्ट गर्ने जस्ता प्रयोजनका लागि बैंकदर हाललाई ८ प्रतिशत कायम गरिएको छ । बैंकले उपलब्ध गराउने स्थायी तरलता सुविधा पनि बैंकदरमै उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ ।

असल कर्जाको धितोमा बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइने पुनर्कर्जाको ब्याजदर हाल कृषि र जलविद्युत्का लागि ६.५ प्रतिशत र अन्य उत्पादनशील क्षेत्रका लागि ७ प्रतिशत रहेकामा घटाई ६ प्रतिशत कायम गरिनेछ । साथै, पशुपन्छी तथा मत्स्यपालनका लागि प्रवाह हुने कर्जाका लागि समेत ६.० प्रतिशत ब्याजदरमा पुनर्कर्जा प्रदान दिइनेछ । यस्तो पुनर्कर्जाअन्तर्गत प्रदान गरिने कर्जामा ग्राहकबाट ९ प्रतिशतभन्दा बढी ब्याज असुल पाइनेछैन ।
रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, निर्यातमूलक व्यवसाय र वैदेशिक रोजगारीका लागि तोकिएका वर्गमा प्रवाह गरिने विशेष पुनर्कर्जादरलाई १.५ प्रतिशतमा यथावत् छ भने यो सुविधाको उपयोग बढाउन प्रक्रिया सजिलो बनाइने र महिला तथा तोकिएको वर्ग वा समुदायद्वारा सञ्चालित साना व्यवसायमा समेत विशेष पुनर्कर्जाको सुविधा उपयोग गर्न पाउने व्यवस्था गरिएको छ । यो सुविधा उपयोग गर्दा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित ग्राहकबाट ४.५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था कायम छ । विदेशी मुद्रामा उपलब्ध गराइने निर्यात पुनर्कर्जाको ब्याजदर प्रचलित लाइवोर दरमा ०.२५ प्रतिशत थप गरी निर्धारण गर्ने व्यवस्थालाई निरन्तरता दिँदै पुनर्कर्जा उपलब्ध गराउने व्यवस्थालाई सरलीकरण गरिएको छ । वित्तीय प्रणालीको अधिक तरलताको स्थितिलाई ध्यानमा राखी चालू आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंक, विकास बंैक र वित्त कम्पनीहरूले विपन्न वर्ग कर्जा अनुपात क्रमशः ४ प्रतिशत, ३.५ प्रतिशत र ३ प्रतिशत पु¥याउनु पर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले राख्नुपर्ने अनिवार्य नगद मौज्दात हाल ५.० प्रतिशत रहेकामा सो अनिवार्य नगद मौज्दातलाई ‘क’ वर्गका लागि ६ प्रतिशत, ‘ख’ वर्गको लागि ५.५ प्रतिशत र ‘ग’ वर्गका लागि ५ प्रतिशत कायम गरिएको छ ।

सुनचाँदीबाट भन्सार संकलन दोब्बर

काठमाडौं, ७ साउन


सुनचाँदी र हीराबाट राजस्व संकलन दोब्बर बढेको छ । आयात वृद्धिसँगै सरकारले भन्सारदर बढाउँदा राजस्व संकलन बढेको हो ।


सुनचाँदी तथा हीराको आयातबाट सरकारले आर्थिक वर्ष २०६८/६९ मा ९८ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । आर्थिक वर्ष २०६७/६८ मा ४२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।


सरकारले आव २०६८/६९ मा सुनबाट मात्र ८१ करोड ८० लाख रुपैयाँ राजस्व उठाएको छ । सो वर्ष आयात भएको ५ हजार ९ सय किलो सुनबाट सरकारले उक्त राजस्व संकलन गरेको हो । त्यसैगरी चाँदीबाट १६ करोड र हीराबाट भने ३४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।


“सरकारले भन्सारदर बढाएको र आयातसमेत बढेका कारण भन्सार महसुल बढेको हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने ।


गत आवमा भन्सार महसुलकै कारण ९ महिनामात्र आयात भएको थियो । यस आवमा भने पूरै समय सुन आयात भएको छ ।
गत आवमा ८ महिना दैनिक १५ किलो तथा ४ महिना २० किलो आयात भएको थियो । गतवर्षदेखि सुनको भाउ क्रमशः उकालो लागे पनि बिक्री नघटेकाले सुनको आयात बढेकाले राजस्व संकलन बढेको हो । सरकारले भने सुनलाई अनुत्पादक भन्दै यसको आयात निरुत्साहित गर्न भन्सारदर बढाउँदै लगेको छ ।


दुई वर्षको बीचमा सुनको भन्सारदर चारपटक बढिसकेको छ ।  दुई वर्षअघि नेपालमा सुनको भन्सारदर कम हुँदा बजारभाउ भारतको तुलनामा कम भई एकै वर्ष ४१ अर्वको सुन आयात भएको थियो । यसले देशको व्यापारघाटा बढाए पछि चैत १९ मा विधेयकमार्फत सुनको भन्सारदर प्रति १० ग्राम १ सय ३० बाट बढाएर ४ सय ७० रुपैयाँ पु¥याएको थियो । त्यसपछि मंसिरमा भन्सारदर १ हजार पु¥याएको थियो ।


गत आवको बजेटबाट सुनको भन्सारदर १ हजार ५ सय पु¥याएको सरकारले ६ महिनाअघि २ हजार ३ सय पु¥याएको छ ।
यसैगरी दुई वर्षअघि प्रतिकिलो ४ सय रुपैयाँ रहेको चाँदीको भन्सारदर पनि ४ पटक समायोजन भइसकेको छ । हाल सरकारले चाँदीमा प्रतिकिलो ४ हजार ६ सय रुपैयाँ भन्सार महसुल लिने गरेको छ । हीरामा भने आयात मूल्यमा १ प्रतिशत भन्सार लिने गरेको छ ।

Saturday, July 21, 2012

‘सहकारीले ऋणीलाई सुकुम्बासी बनाए’

काठमाडौं, ४ साउन
बचत तथा ऋण सहकारीले ऋणीलाई सुकुम्बासी बनाएको सहकारी विभागका रजिस्टार केदार न्यौपानेले आरोप लगाएका छन् ।


“केही सहकारीले सदस्यको व्यवसाय र आयस्रोत नहेरी ऋण दिँदा तिर्न नसक्ने अवस्था आएको र संस्थाले भने धितो जग्गा लिलाम गरेर ऋणीलाई सुकुम्बासी बनाएको पाइएको छ,” सुमेरु सहकारीको १४ औं वार्षिकोत्सवमा बिहीबार बोल्दै रजिस्टार न्यौपानेले भने । संस्थाले ऋण प्रवाह गर्दा सदस्यको क्षमता, आयस्रोत र लगानी गर्ने क्षेत्र हर्नुपर्ने उनको भनाइ थियो । “ऋण लिएर व्यवसाय गर्छ कि मादकपदार्थ सेवन गर्छ, संस्थाले विचार पु¥याउनुपर्छ,” न्यौपानेले भने ।


यसअघि गत महिना डिभिजन सहकारी कार्यालयले काठमाडौंले गरेको अन्तक्र्रिया कार्यक्रममा समेत सहकारीबीच अस्वस्थ प्रतिस्पर्धाका कारण एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिएर नतिरकेको, एक संस्थाका खराब ऋणीले अर्को संस्थाबाट पैसा झिकेको पाइएको  स्वयंम सहकारीकर्मीले नै स्वीकार गरेका थिए ।


सहकारी दर्ता तथा नियमन मापदण्ड–२०६८ ले एक व्यक्ति एक प्रकृतिको एकभन्दा बढी संस्थामा सदस्य बन्न नपाउने व्यवस्था गरेको छ । तर उक्त व्यवस्था प्रभावकारी कार्यान्वयन नहुँदा एकै व्यक्तिले धेरैवटा संस्थामा कारोबार गर्ने गरेका छन् ।


सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले केही व्यक्तिले सहकारीलाई बदनाम गराउन खोलेको भन्दै त्यो नगर्न चेतावनी दिए । “कि सहकारीको मूल्य, मान्यता र सिद्वान्तअनुसार काम गर्नुहोस्,” बडालले भने, “होइन भने सहकारी क्षेत्रबाट बिदा हुनुहोस्, यसलाई व्यक्तिगत व्यवसाय भने नबनाउनुहोस् ।”


नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका अध्यक्ष मीनराज कँडेलले घरजग्गाको कारोबार ठप्प हँुदा सहकारीमा पनि चुनौती आएको बताए । घरजग्गामा ठूलो रकम जाम भएर बसेकाले सहकारीमा पनि समस्या आउन सक्ने भन्दै यसबारे सचेत हुन उनले आग्रह गरे ।

सुमेरु सहकारी १४ औं वर्षमा

पुल्चोकस्थित सुमेरु सेभिङ एन्ड क्रेडिटको अपरेटिभ १४ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाले ललितपुरको धापाखेलस्थित सुमेरु सामुदायिक अस्पताल परिसरमा सदस्य सेवा केन्द्र खोलेको छ । बिहीबार राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सेवा केन्द्रको उद्घाटन गरे ।


सदस्यको सुविधाका लागि खोलिएको काउन्टरबाट बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म ३ सय ६५ दिनै सेवा दिने जनाएको छ । सहकारी इतिहासमै यो पहिलो र नमुना सेवा भएको संस्थाले दाबी गरेको छ ।


वार्षिकोत्सवकै अवसरमा संस्थाले बिहीबार गरेको रक्तदान कार्यक्रममा ३ सयभन्दा बढीले रक्तदान गरेको संस्थाले जनाएको छ । यसअघि संस्थाले साउन २ र ३ गते पुल्चोकमा निःशुल्क बाल स्वास्थ्य परीक्षणसमेत गरेको थियो ।


१३ वर्षसम्म सदस्यलाई स्तरिय वित्तीय सेवा दिइरहेको संस्थाले ५ लाखभन्दा बढी रकम घरैबाट राख्न र झिक्न सकिने, सुमेरु हस्पिटलमा उपचार गर्दा छुट, मुद्दती बचतकर्तालाई दुर्घटना बिमालगायतका सेवा दिइरहेको अध्यक्ष भरत महर्जनले जानकारी दिए ।
यसैगरी संस्थाले आफ्नो कार्यक्षेत्रका एकल महिला र ७० वर्ष नाघेका वृद्धवृद्धालाई ५ सय रुपैयाँ भत्ता, ललितपुर जिल्लाबाट एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई  छात्रवृत्तिका साथै सदस्यलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । यसैगरी सुमेरु अस्पतालसँग समन्वय गरी २ सय जनासम्म बिरामीलाई निःशुल्क जटिल अप्रेसन  गर्नेसमेत अध्यक्ष महर्जनले बताए ।  

हीराका गहनाको आकर्षण घट्यो

आयातमा ३८ प्रतिशत गिरावट

काठमाडौं, ३ साउन 
मूल्य उच्च भएपछि हीराका गहनाप्रति नेपालीको आकर्षण घटेको छ । बिक्रीमा कमी आएपछि हीराको आयात ३८ प्रतिशतले घटेको छ ।


आर्थिक वर्ष २०६७/६८ मा २० हजार ८ सय ३९ क्यारेट हीरा आयात भएकामा २०६८÷०६९ मा ३८ प्रतिशत कमी भई १३ हजार ४९ क्यारेट मात्र आयात भएको भन्सार विभागले जनाएको छ  । विभागका अनुसार गत आवमा नेपालीले ३४ करोड ७६ लाख रुपैयाँको हीराका गहनाको उपभोग गरेका छन् । यो अघिल्लो आवको तुलनामा १८ प्रतिशत कम हो । अघिल्लो आवमा ४२ करोड ११ लाख रुपैयाँको हीरा खपत भएको थियो ।


“एक वर्षमा हीराको मूल्य ३५ प्रतिशतसम्म महँगो भएको छ,” नेपाल रत्न तथा आभूषण संघका महासचिव तथा इको डिजाइन ज्वेलरीका सञ्चालक सुमनमान ताम्राकारले भने, “यसले गर्दा पनि नेपालमा पछिल्लो वर्ष हीराको बिक्री घटेको छ ।”


सुनका गहनाको तुलनामा हीराको उपयोग कम हुने भएकाले मूल्य उच्च हुँदा सुनको आयात बढे पनि हिराको भने घटेको हो । गत वर्ष सुनको आयात भने दोब्बर बढेको छ ।


“नेपाली समाजमा शुभकार्यमा सुनको प्रयोग अनिवार्य भएकाले मूल्य बढे पनि यसको आयात बढेको हो,” ताम्राकारले भने । सुनलाई गहनाका साथै लगानीका रूपमा समेत खरिद गरिने, तर हीरा भने गहनाका रूपमा किन्ने प्रचलन रहेकाले यसको बिक्री बढ्न नसकेको उनले बताए ।

Tuesday, July 17, 2012

सहकारीमा बढ्दो ठगी


११ महिनामा १० सहकारी निक्षेप लिएर फरार

काठमाडौं, २४ असार 

कमजोर कानुन र प्रभावकारी अनुगमन नहुदा सहकारीका संचालकहरु सर्वसाधारणबाट निक्षेप उठाएर भाग्न थालेका छन् । सर्वसाधारणको निक्षेप घरजग्गा, व्यक्तिगत व्यवसायमा लगानी गरेका संचालक सदस्यले रकम मागेका बेला तिर्न नसकेपछि फरार भएका हुन् । 

चालू आथिर्क वर्षको ११ महिनामै १० वटा सहकारीका अध्यक्ष तथा संचालकहरु सर्वसाधारणबाट करोडौ रकम उठाएर फरार भएका छन् । त्यसमध्ये आठ वटा बचत तथा ऋण र दुई वटा बहुउद्देश्यीय रहेको डिभिजन सहकारी कार्यालय काठमाडौले जानकारी दिएको छ । 

उक्त सहकारीमध्ये निक्षेपकर्ताको उजुरीको आधारमा हिमशिखरका संचालकले तीन करोड रुपैयाँ ठगीको देखिएपनि अन्य संस्थाले कती ठगी गरे भन्नेबारे समेत नियामक निकायमा जानकारी छैन । अध्यक्षसहित सबै संचालकलाई कारवाहि गर्न डिभिजन कार्यालयले प्रहरीलाई सिफारीस गरेपनि हालसम्म कोही पक्राउ परेका छैनन् । 

रकम नपाएको र सञ्चालकहरु फरार भएको निवेदन दिएपछि अनुगमन गर्दा कार्यालय नै बन्द गरेको र कार्यालयको सम्पर्कमा समेत नआएपछि कारवाही गर्न प्रहरीलाई पत्राचार गरिएको डिभिजन कार्यालयका अधिकृत कृष्ण प्रसाद शर्माले बताए । कति रकम ठगी भयो भन्नेबारे समेत प्रहरीले अनुसन्धान गर्ने उनको भनाइ थियो । 

घरजग्गा कारोबारमा मन्दी आएपछि सहकारीमा समस्या देखिएको र भाग्ने क्रम पनि बढेको अधिकृत शर्माले जानकारी दिए । “अघिल्ला वर्षमा एक÷दुई सहकारीमा मात्र समस्या देखिएको थियो, शर्माले भने, “यस वर्ष घरजग्गा कारोबार ठप्प भएपछि धेरै लगानी गर्ने सहकारीमा समस्या देखिएको हो ।” केही सहकारीका  संचालकको नियत नै ठग्ने भएपनि अधिकांशले घरजग्गा गरेको लगानी नउठेको र सदस्यको रकम मागेका बेला दिन नसकेकाले संचालक फरार भएको पाइएको उनको भनाइ थियो । 

‘सहकारी विभागबाट अनुमति प्राप्त’ भनी बोर्ड राखेर बचत तथा ऋण कारोबार गर्ने सहकारीले नियामक निकायको कमजोरीको फाइदा उठाउदै रकम लिएर भाग्न थालेका हुन् । अधिकृत शर्मा भने सहकारी कार्यालयमा जनशक्ति अभाव भएकाले  नियमित अनुगमन गर्न नसको र विकृती बढेको स्विकार गर्छन । “करिब चार हजार सहकारी दर्ता भएको काठमाडौंमा अनुगमनका लागि ९ जना मात्र कर्मचारी रहेका छन्” उनले भने, कसरी नियमित अनुगमन गर्न सकिन्छ ।” यस्तैसहकारीबाट ठगी गर्नेलाई कारवाहि गर्न पर्याप्त कानुन नहुनु, २०४८ सालको सहकारी ऐन समयानुलक संसोधन नहुनले समस्या बढेको उनले दावी गरे । 

सहकारी ऐनले गल्ती काम गर्ने सहकारीलाई १ हजार ५ सय रुपैयाँसम्म जरिवाना र खारेजी गर्ने व्यवस्था गरेको छ । सहकारी दर्ता तथा नियमन मापदण्ड २०६८ ले संचालकले बचत निक्षेपको अपचलन गरेको लगायतका गल्तीमा ठगीको कारवाहीका लागि प्रहरीमा सिफारीस गर्ने व्यवस्था गरेको छ । 

गत वर्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको एक सरकारी समितिले सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा रहेको भन्दै प्रभावकारी अध्ययन गर्न सरकारलाई सुझाव दिएको थियो । राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोलीले गरेको अनुगमनमा समेत सहकारीमा जोखिमपूर्ण कारोबार भइरहेको भेटिएको थियो । 

तर, हालसम्म सरकारले सहकारी अनुगमन र कारवाहिका लागि कुनै प्रभावकारी व्यवस्था गरेको छैन । गत वर्ष बजेटमा ५ करोडभन्दा बढी कारोबार भएको सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकले गर्ने घोषणा गरेपनि जनशक्तिको अभाव देखाउदै केन्द्रीय बैंकले अस्विकार गरेको थियो । हालै स्थापना भएको सहकारी मन्त्रालयले विभाग अन्र्तगत रहनेगरी सहकारी अनुगमन सेल गठन गरी प्रभावकारी अनुगमन गर्ने तयारी भइरहेको जनाएको छ । 


भागेका सहकारी



  • जय शिवशक्ति बहुउदेश्यीय सहकारी, स्वयंभु, अध्यक्ष कृष्ण हरि रिमाल
  • कस्मिक बचत तथा ऋण, पुतलिसडक अध्यक्ष खिलाबहादुर बम्जन 
  • ग्रेस बहुउद्देश्यीय सहकारी, चुच्चेपाटी, अध्यक्ष प्रकाश कार्की 
  • कमलिन बचत तथा ऋण, त्रिपुरेश्वर, अध्यक्ष शैलेश पि खत्री 
  • डिमान्ड सेभिङ एण्ड क्रेडिट, मिनभवन, अध्यक्ष दावा लामा 
  • पिताश्री बचत तथा ऋण, बानेश्वर, अध्यक्ष बद्रीप्रसाद आचार्य 
  • हिमशिखर बचत तथा ऋण,  चावहिल, अध्यक्ष गंगा कार्की 
  • सिन बचत तथा ऋण, बानेश्वर, अध्यक्ष जीवन सुनवार
  • बालकल्याण बचत तथा ऋण, ठमेल
  • डोर बचत तथा ऋण चावहिल



‘आफ्नो रकमको सुरक्षा आफै गर्नुहोस’
–कृष्णप्रसाद शर्मा, सहकारी अधिकृत डिभिजन सहकारी कार्यालय काठमाडौं
सहकारी सदस्य नियन्त्रीत संस्था हो । संस्था संचालन गर्ने अधिकार सदस्यमै हुन्छ । त्यसैले सहकारीमा कारोबार गर्नुअघि सदस्य बन्न मिल्छ या मिल्दैन, विधान हेरेर सदस्य बनेर मात्र कारोबार गर्नुपर्छ । संचालनको बारेमा राम्रोसँग जानकारी राख्नुपर्छ । कुनै संस्थाले अप्रत्यातिश व्याज, उपहारको प्रलोभन देखाउदा लोभिनु हुदैन । सहकारी सिद्वान्त, सदस्यको अधिकार बुझेर मात्र सहकारीमा कारोबार गर्नु थाल्नुपर्छ । सहकारी मुख्यतया सदस्य नियन्त्रीत संस्था हो, संचालकको काम कारवाहि प्रति सचेत हुनुपर्छ । कुनै संचालकले रकम ठगरे भागेमा सहकारी कार्यालयले संचालनको सम्पति रोक्का गर्ने र कारवाहिका लागि प्रहरीलाई पठाउने मात्र हो । त्यसैले आफ्नो निक्षेपको सुरक्षा गर्ने पहिलो जिम्मेवारी सदस्यको आफ्नै हो । 

Sunday, July 08, 2012

‘सरी !अब राष्ट्र बैंकले बचाउन सक्दैन’

काठमाडौं, २३ असार- राष्ट्र बैंकले घरजग्गा व्यवसायलाई अब कुनै पनि सहुलियत÷सुविधा नदिने र लिलामी हुनबाट नबचाउन भएको छ । “कम मूल्यमा जग्गा बेचेर ऋण तिर्नुहोस्, नभए बैंकहरूले लिलामी गर्छन्,” शनिबार गभर्नर डा. युवराज खतिवडाले व्यवसायीलाई भने, “सरी ! राष्ट्र बैंकले अब तपाईंहरूलाई बचाउन सक्दैन ।”

निर्माणाधीन अपार्टमेन्टलाई वित्तीय समस्या नभएको र जग्गा सट्टेबाजी गर्नेलाई राष्ट्र बैंकले कुनै हालतमा सहयोग नगर्ने उनले बताए ।


गभर्नरको यो भनाइले राष्ट्र बैंक घरजग्गा लगानीलाई थप खुकुलो बनाउने पक्षमा नभएको संकेत गरेको छ । अब घरजग्गामा लगानी बढाउन राष्ट्र बैंकले नसक्ने बताउँदै खतिवडाले कम मूल्यमै भए पनि जग्गा बेचेर ऋण तिर्न व्यवसायीलाई सुझाव दिए ।


घरजग्गा व्यवसायीले सरकार र राष्ट्र बैंकसँग सहयोगका लागि आग्रह गरिरहेका बेला गभर्नरले यस्तो जवाफ दिएका हुन् । तीन 
वर्षयता घरजग्गा कारोबार सुस्त छ ।


राष्ट्र बैंकले २०६६ पुसमा घरजग्गा कर्जामा ४० प्रतिशत सीमा लगाउँदै त्यस क्षेत्रमा गएको कर्जा घटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकले २०७० असारसम्म घरजग्गामा लगानी २५ प्रतिशत सीमाभित्र राख्न भनेको छ ।


खतिवडाले सबै पक्षलाई जिम्मेवारीपूर्ण व्यवसाय गर्न आग्रह गरे । “माछापोखरी बन्ने ठाउँमा गिटी हालेर पिच गर्नुभयो, हरियाली डाँडामा डोजर चलाउनुभयो,” घरजग्गाको कारोबारमा वित्तीय क्षेत्रको संलग्नताबारे बोल्दै खतिवडाले भने, “तपाई जिम्मेवार नागरिक बन्नु पर्दैन ?”


घरजग्गा र बैंकर उपस्थित कार्यक्रममा कडा रूपमा प्रस्तुत भएका खतिवडाले राजनीतिक नेता र द्वन्द्वबाट विस्थापित सबै व्यक्ति घरजग्गा कारोबारमा दलाल बनेकाले सामाजिक विकृति बढेको बताए । यस्तो स्थितिमा घरजग्गा नियन्त्रण आवश्यक रहेको तर्क उनको थियो । “घरजग्गामा भएको बैंकहरूको २५ प्रतिशत लगानी सबै खराब भयो भने नाफा शून्य हुने स्थितिमा ४० प्रतिशत बनाउँदा स्थिति कस्तो होला ?” उनले प्रतिप्रश्न गरे ।


पूर्वगभर्नर गणेशबहादुर थापाले आवश्यकताबारे अध्ययनै नगरी घरजग्गामा लगानी भएकाले समस्या आएको बताए । “कति घडेरी र अपार्टमेन्ट आवश्यक छ भन्ने अध्ययनै नगरी लगानी गर्दा यस्तै हुन्छ,” उनले भने, “घरजग्गा व्यवसाय राष्ट्रिय समस्या भएकाले सरोकारवाला सबै पक्ष बसेर समाधान निकाल्नुपर्छ ।”


राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा जनता बैंकका सञ्चालक गुरुप्रसाद न्यौपानेले केन्द्रीय बैंकले कडाइ गरेपछि ढुकुटी, सहकारीलगायतका अनौपचारिक कारोबार फस्टाएको बताए । “घरजग्गा कारोबार नहुँदा अनौैपचारिक कारोबार फस्टाएको छ,” उनले भने, “ब्याज तिर्नकै लागि २४ देखि ३६ प्रतिशतसम्म ब्याजमा कर्जा लिनुपर्ने स्थिति छ ।” घरजग्गा व्यवसायलाई चलायमान बनाउन अपार्टमेन्टको लागत कम हुनुपर्ने उनको भनाइ थियो ।


न्यौपानेले हाउजिङ कम्पनीले पुँजीबजारबाट पुँजी संकलन गर्नुपर्ने, घर किन्नेलाई लामो अवधिको कर्जा उपलब्ध गराउनुपर्ने, आधुनिक आवास परियोजना सञ्चालन गर्नुपर्नेलगायतका सुझाव दिए ।


घरजग्गा विकास तथा अपार्टपेन्ट निर्माणमा वित्तीय लगानी भए पनि खरिदका लागि लगानी हुन नसक्दा समस्या आएको घरजग्गा कारोबारसँग सम्बन्धित व्यवसायीको भनाइ छ । नेपाल आवास तथा जग्गा विकास संघका अध्यक्ष इच्छाराज तामाङले व्यवसायीले मूल्य र बैंकले ब्याज घटाई घरजग्गा र अपार्टमेन्ट कारोबार चलायमान बनाउने प्रयास भइरहेको बताए । राष्ट्र बैंकले व्यक्तिगत घर कर्जाको सीमालाई बढाएर २ करोड र बैंक तथा वित्तीय संस्थाको लगानी सीमालाई ४० प्रतिशत बनाए सरल हुने दाबी उनको थियो ।
पूर्वडेपुटी गभर्नर पुष्पराज राजकर्णिकारले घर आवश्यक भएका मध्यमवर्गसम्म पुग्ने गरी लामो अवधिको कर्जा प्रवाहमा जोड दिए घरजग्गा कारोबार अगाडि बढ्ने बताए ।


राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानले घरजग्गामा लगानी गर्दा जोखिमबापत छुट्याउनुपर्ने रकममा छुट दिए सहज हुने दाबी गरे । “घरजग्गामा लगानी गर्दा जोखिमबापतको रकम बढ्ने र त्यसले नाफामा असर गरी बैंकको साख नै बिग्रने अवस्था भएकोले सोच्नुपर्ने स्थिति आएको छ,” उनले भने ।


एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेलले घरजग्गा व्यवसायी र बैंकर्सका समस्या समाधान गर्न ब्याज तिर्नकै लागि बैंकले कर्जा दिनुपर्ने सुझाव दिए । बैंकले कर्जा ब्याजदर क्रमशः घटाइरहेकाले समस्या बिस्तारै समाधान हुने उनको भनाइ थियो ।

उत्कृष्ट पाँच सहकारी पुरस्कृत

काठमाडौं, २३ असार- राष्ट्रिय सहकारी संघले पाँच सहकारीलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०६८’ बाट सम्मान गरेको छ । अन्तर्राष्ट्रिय सहकारी वर्षको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सहकारी तथा गरिबी निवारणमन्त्री एकनाथ ढकालले सहकारीलाई पुरस्कार प्रदान गरे ।


पुरस्कृत हुने सहकारीहरूमा तनहुँ दुग्ध उत्पादक सहकारी संघ, सृजना बचत तथा ऋण कञ्जनपुर, नेपा बहुउदेश्यीय सहकारी कालिकोट, बछौली नारी चेतना बचत तथा ऋण चितवन र हिमालयन सहकारी ओखलढुंगा रहेका छन् ।
कार्यक्रममा आठवटा जिल्ला संघलाई एक÷एक थान कम्प्युटर प्रदान गर्नुका साथै सगरमाथामा सहकारीको झन्डा फहराउने सहकारीकर्मी शिवकुमार डाँगीलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा मन्त्री ढकालले राष्ट्रिय सहकारी नीति तयार गरेर यस क्षेत्रका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए । सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै उनले आगामी बजेटमा सरकारले यसलाई प्राथमिकता दिने जानकारी दिए ।

राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले सहकारीलाई उत्पादनमा लाग्न सुझाव दिए । “देशको आवश्यकता उत्पादन बढाउनु हो,” उनले भने, “सहकारी सोही दिशामा अघि बढ्नुपर्छ ।”

संघले ९०औं अन्तर्राष्ट्रिय सहकारी दिवस, १८औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा १९औं राष्ट्रिय सहकारी संघ दिवस संयुक्त रूपमा मनाएको हो । प्रत्येक वर्ष जुलाइको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय सहकारी दिवसका रूपमा मनाइँदै आएको छ ।

Friday, July 06, 2012

‘संस्थाबाट पेस्की लिई मुद्दतीमा राखेर ब्याज

काठमाडौं, २० असार
सहकारीका सञ्चालकले संस्थाबाट पेस्की लिएर सोही संस्थामा मुद्दती खोली ब्याजबाट मोटो रकम लिने गरेको भेटिएको छ  । सरकारको कमजोर अनुगमनका कारण सहकारीमा विकृति फैलिएको र सीमित व्यक्तिले सहकारीको दुरुपयोग गरेको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकालले जानकारी दिए ।

“सहकारी विभागले गरेको अनुगमनमा सञ्चालकले संस्थाबाट लाखौं रकम पेस्की लिएर सोही संस्थामा मुद्दती खाता खोली व्याज खाने गरेका भेटिएको छ,” नेपाल सहकारी पत्रकार समाजले गरेको कार्यक्रममा कार्यपत्र पेस गर्दै सहसचिव ढकालले भने, “सरकारको कमजोरीको फाइदा उठाउँदै केही सीमित व्यक्तिले सहकारीको दुरुपयोग गरेका छन् ।” सहकारी ऋणीहरूको कब्जामा रहेकाले बचतकर्ताहरू भने जोखिममा रहेको उनको भनाइ थियो ।


यसैगरी अनुगमनका क्रममा संस्थाका अध्यक्षलगायतका सञ्चालक स्वयंले अधिकांश बचत उपयोग गरेको समेत भेटिएको ढकालले जानकारी दिए । “संस्थाको ८० प्रतिशतभन्दा बढी निक्षेप ३ प्रतिशतले उपयोग गरेको पनि भेटियो”, उनले भने, “एउटै व्यक्तिले धेरै रकम चलाएपनि संस्था किन जोखिममा नहोस् ।”


अनुगमनबाट कर छल्ने नियतले साधारणसभामा साधारणका नाममा सदस्यलाई रकम बाँड्ने गरेको, संस्थाका नाममा घरजग्गा खरिद गर्दा प्रक्रिया पूरा नगरी अनियमितता गरेको लगायतका गम्भीर त्रुटि भेटिएको ढकालले उल्लेख गरे ।

ढकालले कार्यपत्रमा व्यावसायिक सहकारी संघको कमजोर व्यवस्थापन, कमजोर कानुनी संरचना, व्यक्तिगत व्यवसायका रूपमा सहकारीको दुरुपयोग, बचत तथा लगानी कारोबारको असुरक्षाका साथै तालिम तथा शिक्षा कमजोर रहेको औंल्याएका छन् ।


सहकारीमा बचत तथा ऋण सहकारीको नियमन तथा अनुगमन आवश्यक रहेको उल्लेख गर्दै ढकालले यसका लागि दोस्रो तहको स्वायत्त निकाय गठन हुनुपर्ने बताए । “अब सहकारी विभागले बचत तथा ऋण सहकारीको अनुगमन गर्न सक्दैन,” ढकालले भने, “प्रभावकारी अनुगमनका लागि छुट्टै स्वायत्त निकायको आवश्यकता छ ।” यसैगरी सहकारीको विकासका लागि राष्ट्रिय नीति, सहकारी ऐनमा परिमार्जन, बचत तथा ऋण ऐन नियमको तर्जुमा, विभागको पुनर्संरचना र कार्यालयको विस्तारलगायतका सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


संकटा बचत तथा ऋण सहकारीसँगको सहकार्यमा सहकारी पत्रकार समाजले सहकारी अर्थव्यवस्थाबारे पत्रकारिता तालिम गरेको थियो । तालिममा अर्थविद् डा.चिरञ्जीवी नेपाल, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुदर्शनप्रसाद ढकाल, कानुन मन्त्रालयका उपसचिव मानबहादुर अर्याल र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी स्रोत व्यक्ति थिए ।  


बुधबार कार्यक्रमको समापन गर्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीले सबै क्षेत्रमा काम गर्ने वातावरण बनाउन आग्रह गरे । सहकारीमा पर्याप्त पुँजी रहेको उल्लेख गर्दै उनले उद्योग र उत्पादनका क्षेत्रमा जान आग्रह गरे । पत्रकार रामकृष्ण रेग्मीले आर्थिक विषय जनतासँग प्रत्यक्ष जोडिएकाले सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह गरे ।