Thursday, June 28, 2012

सर्वसाधारणको पहुँचबाहिर सुन



“वर्षभरिको कमाईले एक तोला सुन किन्नसमेत पुग्दैन,” बानेश्वरको एक सुन पसलमा भेटिएका धितालले भने । पाँच वर्षअघि श्रीमतीलाई किनिदिएको गहनाबाट गर्जो टार्ने उनले आफ्नो योजना सुनाए ।

केशवको यो पीडा आमसर्वसाधारण नेपालीको पीडा हो । पछिल्ला केही वर्षमा सुनको मूल्य लगातार उकालो लागेपछि सुन आम नेपालीको पहुँचभन्दा बाहिर पुगेको छ । हिन्दु धर्मालम्बीको जन्मदेखि मृत्यु संस्कारसम्मका कार्यमा सुन अनिवार्य मानिन्छ । सुनको भाउ अत्यधिक बढ्दा सर्वसाधारण नेपाली मारमा परेका छन् ।

काठमाडौं, १३  असार- नयाँबानेश्वरका केशव धिताल छोराको बिहेको तयारी छन् । तर, यसैबेला सुनको भाउ अकासिएपछि उनी पुराना गहना गालेर नयाँ बनाउने योजनामा छन् ।

नेपालीको वार्षिक सरदर आय ५० हजारभन्दा कम छ । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै नेपालमा सुन तोलाको ६० हजार नजिक पुगेको छ । यस हिसाबले हेर्दा सर्वसाधारण नेपालीको वर्षभरिको कमाइले एक तोला सुन किन्न नसक्नेस्थिति भइसकेको छ ।
नेपाली बजारमा तीन वर्षमा सुनको मूल्य दोब्बरले वृद्धि भइसकेको छ । यसले गर्दा अत्यावश्यक कामका लागि सुन आवश्यक पर्ने सर्वसाधारणले पुराना गहनाबाट नयाँ गहना बनाउने गरेको व्यवसायी बताउँछन् । बजारमा नयाँ सुन किन्ने ग्राहक अत्यन्त न्यून रहेको उनीहरूको भनाइ छ ।
“तीन वर्षको अवधिमा सुनको भाउ दोब्बरले वृद्धि भइसकेको छ,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य भन्छन्, “आम नेपालीलाई एक तोला सुन किन्न पनि सोच्नुपर्ने अवस्था छ ।”

भाउ उच्च भएपछि बजारमा पुराना गहनाबाट नयाँ बनाउने ग्राहक धेरै भएको शाक्यले बताए । “अहिले पुराना गहना रिफाइन गरी नयाँ बनाउने ग्राहक धेरै छन् ।” सुनको भाउ सामान्य हुँदा चाडबाडको र विवाहको लगनको समयमा नेपाली बजारमा दैनिक ४५ किलो सुन खपत हुने गरेकामा अहिले मुस्किलले १० किलो खपत भइरहेको उनले बताए ।

यसवर्ष मात्रै नेपाली बजारमा सुनको भाउ आधादर्जन पटक रेकर्ड कायम गरिसकेको छ । गत साता मात्र सुनको भाउले प्रतितोला सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको संघले जनाएको छ ।
नेपालमा २०६५ सालको सुरुमा २१ हजार रुपैयाँको हाराहारीमा रहेको सुन  क्रमशः बढ्दै ०६६ सालमा २५ हजार, ०६७ सालमा ३२ हजार रुपैयाँ र ०६८ सालको सुरुमा ४१ हजार रुपैयाँ कायम भयो ।

युरोपेली र अमेरिकी अर्थतन्त्रमा देखिएको संकटका कारण सुनको भाउ २०६८ सालको मध्यतिर ह्वात्तै बढ्यो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ९ सय डलर पुगेपछि ०६८ सालको मंसिरमा सुनको भाउ ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यो आर्थिक वर्षमा मात्र सुनको भाउ १५ हजार रुपैयाँभन्दा बढी महँगो भइसकेको छ । गत साउनका सुनको भाउ ४४ हजारको रुपैयाँको हाराहारीमा थियो ।

किन बढ्दैछ सुनको भाउ
अमेरिका हुँदै विश्वव्यापी रूपमा देखिएको आर्थिक संकट नै सुनको भाउ बढ्नुको प्रमुख कारण मान्छन् अर्थशास्त्री । “सुरक्षित लगानीका रूपमा सुनप्रतिको आकर्षण बढ्दा भाउ पनि बढेको हो,” अर्थशास्त्री डा. चिरञ्जीवी नेपाल भन्छन् । डलरभन्दा सुनमा लगानी बढेकाले पछिल्लो मागसँगै भाउ पनि उच्च भएको उनको भनाइ छ ।

विश्वभर धेरै देशका केन्द्रीय बैंकले आफ्नो सुन संचिति बढाएपछि सर्वसाधारणको समेत आकर्षण बढेको अर्थविद्हरूको विष्लेषण छ । उनीहरू भन्छन्, “विश्वभर लगानीको पहिलो रोजाइ सुन हो, त्यसैले भाउ पनि लगातार बढिरहेको छ ।”

पछिल्लो दिनमा अमेरिकी अर्थतन्त्रमा सुधार आएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १ हजार ६ सय डलरमा झरेको छ । तर नेपालले डलरमा सुन किन्ने भएकाले नेपाली मुद्रा कमजोर हँुदा सुनका उपभोक्तालाई मार परिरहेको छ ।

सुन एक मात्र वस्तु हो जसको भाउ अन्तर्राष्ट्रिय मूल्यका आधारमा दैनिक निर्धारण हुन्छ । अन्तर्राष्ट्रिय बजार भाउमा भन्सारदर र आयातकर्ता र व्यापारीको कमिसन जोडी सुनको भाउ तय हुन्छ । उच्च मूल्य हुँदा पनि नेपाली बजारमा सुनको ठूलो खपत भइरहेको अवस्था रहस्यमय रहेको अर्थविद्को विश्लेषण छ ।

भाउ सामान्य घट्यो

नेपाली बजारमा बुधबार सुुनको भाउ सामान्य घटेको छ । मंगलबार ५७ हजार ४ सय रुपैयाँ रहेको सुन बुधबार २ सय सस्तो भई ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।
यसअघि सोमबार ५६ हजार ६ सय रहेको सुन मंगलबार ८ सय रुपैयाँ बढेको थियो । यसैगरी चाँदी भने मंगलबारको तुलनामा १० रुपैयाँ सस्तो भई पनि १ हजार ३० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

No comments: