Thursday, May 24, 2012

सहकारीलाई सबै क्षेत्र काम गर्ने वातावरण बनाउ

काठमाडौं,  १० जेठ
सहकारीले शिक्षा, विद्युत् उत्पादन, उद्योग, बिमालगायतका क्षेत्रमा काम गर्न पाउने वातावरण बनाउन सरोकारवालाहरूले सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आग्रह गरेका छन् ।

नवगठित मन्त्रालयले सहकारीकर्मीको सुझाव लिन बुधबार गरेको कार्यक्रममा बोल्ने अधिकांश सहकारीकर्मीले कानुन सुधार गरेर सहकारीले हरेक क्षेत्रमा काम गर्न पाउने वातावरण बनाउन आग्रह गरे । उनीहरूले सहकारी ऐन कानुमा सुधारका साथै सहकारी शिक्षा तालिममा समेत जोड दिन सुझाव दिएका थिए ।
मन्त्रालयको कार्ययोजना बनाउन सुझावका लागि गरिएको कार्यक्रममा बोल्दै मन्त्री एकनाथ ढकाले सरोकारवालाको सुझावकै आधारमा आफू अघि बढ्ने बताए । सरकारले सहकारीमार्फत गरिबी निवारण गर्न चाहेको र त्यसैका लागि मन्त्रालय गठन भएको उनको भनाइ थियो । सहकारीमा ३० लाखभन्दा बढी जनता आबद्व रहेको उल्लेख गर्दै मन्त्रालय आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय हुने उनले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीकर्मीको मागअनुरूप मन्त्रालय गठन भएकाले सहकारीकर्मीको मर्मअनुसार कार्यक्रम ल्याउन आग्रह गरे । विश्वका धेरै देशले सहकारीमार्फत आर्थिक प्रगति गरेको उदाहरण दिँदै बडालले नेपालले पनि सहकारीमार्फत गरिब जनताको आर्थिक र सामाजिक विकास गर्नसक्ने दाबी गरे ।

नेपाल बचत ता ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष मीनराज कँडेलले छुट्टै बचत तथा ऋण सहकारी ऐनको आवश्यता रहेको बताए ।

राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारीमा ठूलो पुँजी जम्मा भए पनि लगानीका क्षेत्र सीमित भएको गुनासो गरे । सहकारीले उत्पादनका क्षेत्रमा समेत लगानी गर्न पाउने गरी कानुन संशोधन गर्न उनले मन्त्रालयलाई आग्रह गरे ।

कार्यक्रममा बोल्ने अन्य सहकारीकर्मीले गरिबी निवारण कोष, युवा स्वरोजगार कोषलाई मन्त्रालय मातहतमा ल्याइ सहकारीमार्फत कर्जा लगानीको व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरेका थिए । यसैगरी नेपाल राष्ट्र बैंकको विपन्न वर्ग कर्जा सहकारीले उपयोग गर्न पाउनुपर्ने उनीहरूको भनाइ थियो ।

No comments: