Sunday, May 13, 2012

‘कानुनले नै सहकारीलाई खुम्च्यायो’

काठमाडौं, २८ वैशाख- सहकारीसम्बन्धी कानुन (सहकारी ऐन) कै कारण सहकारी खुम्चिएर बस्नुपरेको सरोकारवालाहरूले दाबी गरेका छन् । 

सहकारीसँग कृषि, उद्योग, विद्युत्लगायत उत्पादनशील र सेवामूलक क्षेत्रमा लगानी गर्ने क्षमता भए पनि कानुनले लगानीको दायरा सीमित बनाएको उनीहरूको आरोप छ ।
बिहीबारदेखि धुलिखेलमा सुरु भएको ‘ललितपुर सहकारी समिट–२०१२’ मा बोल्ने अधिकांश सहकारीकर्मीले कानुन संशोधन गरेर सबै क्षेत्रमा काम गर्न पाउने वातावरण बनाउन सरकारसँग मागसमेत गरेका छन् ।
नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष मीनराज कँडेलले सहकारीमा निक्षेपअनुसार लगानीका क्षेत्र सीमित भएको बताए । बचत तथा ऋण सहकारी सानो क्षेत्रमा मात्र सीमित हुन परेकाले ठूला उद्योगहरूमा लगानी हुन नसकेको उनको तर्क छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ चलिरहेको सन्दर्भमा सहकारी मैत्री संविधान तथा ऐन बनाउन उनले जोड दिए ।
“संस्थाको पैसा सदस्यको भएको र त्यसलाई संरक्षण गर्न सञ्चालक जिम्मेवार हुनुपर्छ,” कँडेलले भने, “केही सहकारी संस्थाका सञ्चालकले नै रकम लिएर भाग्ने गरेको तर्फ सदस्यहरू चनाखो बन्नुपर्छ ।”  

राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेतीले सहकारीमा लगानीयोग्य रकम पर्याप्त भए पनि लगानी गर्ने क्षेत्र थोरै भएको बताए । “सहकारी कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी गर्न चाहन्छन्,” उप्रेतीले भने, “उद्योगमा लगानी गर्न कानुनले दिँदैन, कार्यक्षेत्र बाहिर पुग्छ ।” सहकारीका ऐन कानुन संशोधन गरी शिक्षा, बिमा, जलविद्युत्लगायत नयाँ क्षेत्रमा समेत लगानी गर्न पाउने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।
सहकारीले गरिबी निवारण, श्रम विकास, उपभोग्य वस्तुको वितरणलगायतका क्षेत्रमा सहयोग पु¥याएको अन्य सहकारीकर्मीको भनाइ छ । उनीहरूले सहकारी विकासमा राष्ट्रिय सहकारी नीतिको अभाव, कर र अनुदान कम हुनु, अनुगमन र नियमनको प्रभावकारी व्यवस्था नहुनु, सहकारी विकास बोर्डको भूमिका प्रभावकारी नहुनुलगायतका समस्या औंल्याएका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा तीन दिनसम्म चल्ने कार्यक्रममा ललितपुरका १ सय ३० बढी संस्थाका करिब २ सय सहकारीकर्मीको सहभागिता छ ।

No comments: