Monday, April 23, 2012

‘सहकारी विकास कोष’ स्थापना गर्न सुझाव

काठमाडौं, १० वैशाख
सहकारी क्षेत्रबाट उठ्ने करबाट ‘सहकारी विकास कोष’ स्थापना गर्न सरोकारवालाहरूले माग गरेका छन् । आफूले तिरेको करबाट सहकारी क्षेत्रकै विकास र प्रवद्र्वनमा खर्च गरी यसको दिगो विकासका लागि कोष आवश्यक रहेको उनीहरूको भनाइ छ ।

आइतबार कर कार्यालय ललितपुरमार्फत सरकारलाई सुझाव पठाउँदै ललितपुरका सहकारीकर्मीले आफूले तिरेको कर आफ्नै क्षेत्रको विकासमा खर्च गर्न आग्रह गरे । जिल्ला सहकारी संघसहित ६ वटा विषयगत संघले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा विभिन्न १० बुँदे माग राखिएको छ । मागमा सहकारीको आयकरमा क्षेत्रगत आधारमा छुट, लाभांश कर हटाउन, विषयगत संघहरूको कर छुट गर्न, पान नम्बर नलिएका सहकारीलाई दर्ता गर्नका लागि लाग्ने जरिवानमा छुट गर्न माग गरिएको छ । यसैगरी जोखिम बेहोर्ने कोष व्यवस्थामा पनि राष्ट्र बैंकबाट अनुमति प्राप्त सीमित कारोबार गर्ने सहकारी सरहको सहुलियत दिन माग गरिएको छ ।

एक सातासम्म विभिन्न सहकारी संघसंस्था तथा सहकारीकर्मीहरूसँग छलफल गरी सुझाव बुझाइएको जिल्ला बचत तता ऋण सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले जानकारी दिए ।

ज्ञापनपत्र बुझेपछि कर कार्यालयका प्रमुख कुलप्रसाद चुडालले सहकारीकर्मीको सुझाव माथिल्लो निकायसमक्ष पु¥याउने बताए । सहकारीमा लाग्दै आएको करबारे पुनरावलोकनका लागि हाल छलफल भइरहेको उनको भनाइ थियो ।

No comments: