Thursday, February 16, 2012

बहुद्देश्यीय केन्द्रीय संघ दर्ता अन्योलमा

काठमाडौं, ३ फागुन
बहुद्देश्यीय सहकारी केन्द्रीय संघ दर्ता अन्योलमा परेको छ । संघ दर्ताको विषयमा सहकारीकर्मीबीचको विवादका कारण सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकाल दुई साता बिदामा बसेपछि दर्ता प्रक्रिया अघि बढ्न सकेको छैन ।

यसैगरी विभागका उपरजिस्टार गोपिकृष्ण निरौला पनि बिदामा छन् । विभाग स्रोतका अनुसार संघ दर्ताबारे कानुनी रायका लागि कानुन मन्त्रालयमा पठाइएको छ ।

सहकारी विभागमा निवेदन दर्ता गरेको पाँच महिनासम्म दर्ताको प्रमाणपत्र नपाएपछि बहुउदेश्यीय सहकारीहरू भने आन्दोलनमा उत्रीएका छन् । “रजिस्टार स्वयम्ले माघ २९ गते दर्ता प्रमाणपत्र उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गर्नुभएको थियो,” नेपाल बहुद्देश्यीय सहकारी केन्द्रीय संघ तदर्थ समितिका सञ्चालन सुरेन्द्र भण्डारीले भने, “सहकारी आन्दोलनमै गलत मनसाय बोकेका व्यक्तिका कारण विवाद भएको हो ।”

देशभर ४ हजार ३ सय बहुद्देश्यीय सहकारी रहेको र उनीहरूको हकहितका लागि केन्द्रीय संघ आवश्यक रहेको भण्डारीको तर्क छ । दर्ता नहुने कारणसहित विभागले फाइल फिर्ता गर्ने आफूहरू कानुनी उपचार खोज्ने उनले बताए ।

सहकारी ऐन २०४८ ले जिल्लाका २५ वटा प्रारम्भिक सहकारी वा पाँचवटा जिल्ला संघ मिलेर विषयगत संघ दर्ता गर्न सक्ने प्रावधान छ । तर बहुद्देश्यीय सहकारीको निश्चित विषय नभएकाले यसको केन्द्रीय संघ दर्ता गर्न नहुने केही सहकारीको तर्क छ ।

“बहुद्देश्यीय सहकारी आफैंमा बहुविषय हो,” सहकारी आन्दोलनका एक अगुवाले भने, “उनीहरूको कसरी विषयगत संघ दर्ता हुनसक्छ ।” बहुद्देश्यीय सहकारी जिल्ला संघमा आबद्व हुनुपर्ने उनको तर्क थियो ।
संघ दर्ता नहुने छाटकाँट देखेपछि बहुउद्देश्य सहकारीकर्मीले बल प्रयोग गरी विभागका कर्मचारीलाई दवाव दिएको उनले आरोप लगाए । भण्डारी भने आफूहरूले बल प्रयोग नगरेको र लागि २७ गते विभागमा भएको वार्ताबारे अनावश्यक आरोप लगाई भ्रम फैलाएको बताउँछन् ।

आफूहरूविरुद्व राष्ट्रिय सहकारी संघ र केन्द्रीय संघहरूले विभिन्न लान्छना लगाएको भन्दै बहुद्देश्यीय सहकारीहरूले कार्यक्रम घोषणा गरेका छन् । उनीहरूले आफूहरूमाथि लगाएको आरोप फिर्ता गर्न र राष्ट्रिय संघका उपाध्यक्ष विजयराज घिमिरे र राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीको राजीनामा मागसमेत गरेका छन् ।

आफ्नो माग पूरा नगरे राष्ट्रिय सहकारी संघविरुद्व थप आन्दोलन गर्ने र सहकारी बैंकबाट रकम निकाल्नेसमेत चेतावनी दिएका छन् । संघ दर्ताको विषयमा सहकारीकर्मीबीच विवाद बढेपछि सहकारी वर्ष २०१२ का कार्यक्रमसमेत प्रभावित हुने देखिएको छ ।
 

No comments: