Saturday, February 11, 2012

काम गर्दा दवाव त आउछ त्यसलाई मजाले समाधान गर्न सक्छु

२७ वर्षअघि नबिल बैंकमा जुनियर अधिकृतबाट बैंकिङ करिअर सुरु गरेका अमृतचरण श्रेष्ठ सोही बैंकमा करिब डेढवर्ष कायम–मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत पनि भए । धेरै व्यक्तिहरू धेरै संस्थामा परिवर्तन भए पनि उनले सधै नबिलमै रहेर काम गरे । तर, बैंकले उनलाई प्रमुख कार्यकारीको भूमिकामा पूर्ण रूपले स्वीकार गर्न सकेन । अन्ततः स्वेच्छिक अवकाश योजनामा बैंकबाट बाहिरिएका श्रेष्ठ एक महिनाअघि नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए । एनसीसीको एक महिने अध्ययनमा बैंक एउटा समूहबाट प्रेरित भई आन्तरिक समस्यामा रुमल्लिनुका साथै त्यो ‘वंशानुगत’ समस्याका रूपमा रहेकाले आशातित सफलता प्राप्त गर्न नसकेको श्रेष्ठ बताउँछन् । २७ वर्ष नबिलमा रहँदा कमाएको ख्यातिलाई डगमगाउन नदिने प्रतिबद्धता जनाउने श्रेष्ठ, ३ वर्षभित्र एनसीसीलाई नयाँ उचाइमा पु¥याउने बताउँछन् । व्यावसायिक रूपमा स्वतन्त्र ढंगले काम गर्न दिए आगामी आर्थिक वर्षमा सेयरधनीलाई १०१५ प्रतिशत लाभांश वितरण गर्ने अवस्था आउने दाबी उनको छ । बैंकको अवस्था, आगामी कार्यक्रम र संभावनाहरूको बारेमा बैंक तथा वित्त ब्युरो प्रमुख लोकबहादुर चापागाई र संवाददाता यादव हुमागाईले गरेको कुराकानी :
अमृतचरण श्रेष्ठ,  
सिइओ, नेपाल क्रेडिट एन्ड क्रमर्स बैंक

एनसीसीमा प्रमुख कार्यकारी भएर आएको एक महिना पुगेको छ । बैंकको अवस्था कस्तो पाउनुभयो ?
एनसीसी बैंकको अबस्था बाहिरबाट सुनेको भन्दा बिल्कुल फरक छ । बैंकको आकार पनि सानो भएकाले यसलाई १४–१५ वर्ष पुरानो भयो भन्न सुहाउँदैन । बैंकमा एउटा समूहले व्यावसायिक व्यवहार नगरेका कारण आन्तरिक समस्यामा बढी जकडिएको रहेछ । तर, पछिल्लो अवधिमा यो स्थितिमा धेरै सुधार आएको भएपनि अझै अवशेषहरू बाँकी छन् । बैंक अझै सञ्चित नोक्सानी (क्युमुलेटिभ लस) मा छ । यो चालू आर्थिक वर्षको अर्धवार्षिक नाफाले पूर्ति हुने स्थिति छ । हाल बैंकको निक्षेप १३ अर्ब रुपैयाँ छ भने ९ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । बैंकले २२ शाखामार्फत सेवा दिइरहेको छ । अहिले बैंकको कर्पोरेट कार्यालय रहेको र सँगै बन्दै गरेको भवन बैंकको आफ्नै सम्पत्ति हो भने बाह्रबीसे शाखा र भैरहवाको केन्द्रीय कार्यालय पनि आफ्नै स्वामित्वमा छ ।
१५ वर्षको अवधिमा बैंकको कारोबारको आकार खासै नबढेकाले पनि पुरानो बैंक भन्न सुहाउँदैन । कारोबारको स्थिति हेर्दा ४–५ वर्ष पुरानो बैंक जस्तो मात्र देखिन्छ । यो समस्या खासगरी बैंकमा व्यावसायिक व्यक्तिहरूको नहुँदा देखिएको हो । व्यावसायिक अडान लिएर काम ग¥यो भने सुधार नहुने भन्ने स्थिति होइन । एक वर्षभित्र बैंकलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ ।
एनसीसी बैंक व्यावसायिक रूपमा अगाडि नबढेको भन्नुभयो । त्यसलाई सुल्झाएर कसरी अघि बढ्नुहुन्छ ?
नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण टोलीसँग पनि मैले बैंकको अवस्थाका बारेमा छलफल गरिसकेको छु । उहाँहरूले बैंकको विगतबारे स्पष्ट बताउनुभएको छ । पुराना नेतृत्वकर्ताले कर्जा प्रवाह गर्दा राम्रोसँग अडान नलिँदा समस्या देखिएको हुनसक्छ । राष्ट्र बैंकले पनि यसतर्फ कैफियतहरू देखाएर राम्रोसँग बैंकका कमजोरीहरू खुलाएको र मैले पनि त्यसै अनुरुप काम गर्ने प्रतिबद्धता जनाएर आएको छु । म आफूले व्यावसायिक धर्म निभाउन कुनै कसर नराखी अघि बढ्न दृढ छु । सुरुमा बैंकमा समस्या रहेको स्थितिमा रत्नराज बज्राचार्य सरले छाडिसकेको स्थितिमा ७–८ महिनाको अवधिमा प्रवाह भएको कर्जामा पनि त्रुटी देखिएको छ । मैले त्यसलाई सुधार गर्ने प्रतिबद्धता गरेको छु । सामान्य बैंकिङका अतिरिक्त राम्रा आयोजना छनोट गरी लगानीको दरलाई बढाउन सकियो भने बैंकको अवस्था सुध्रिन्छ ।
त्यस्तै यसबीचमा मैले बैंकका सेयरधनीहरूसँग पनि अन्तक्र्रिया गरिसकेको छु । १५ वर्षसम्म उनीहरूले गरेको लगानीको प्रतिफल नपाएको गुनासो गरेका छन् । जुन स्वाभाविक पनि छ । सधैं लगानीकर्ताले पैसा थपेको थपै गर्दा सेयरधनीहरूमा नैराश्यता देखिएको छ । एनसीसीका लगानीकर्ता वास्तवमै पीडित भएको अनुभव गर्न सकिन्छ । उनीहरूमा बैंकको प्रगति नै नहुने हो कि भन्ने भान परिसकेको छ । यस्तो अवस्थामा बैंकलाई सुधार गरी राम्रोसँग काम गर्ने सञ्चालक समितिसँग सम्झौता गरेर म आएको हो । व्यावसायिक रूपमा काम गर्ने सर्तमा मात्र मैले यो जिम्मेवारी स्वीकारेको हुँ । पुरानै स्थितिमा फर्किने गरी म कुनै पनि अवस्थामा काम गर्न सक्दिन । त्यसैले मैले आफ्नो छुट्टै ‘टिम’ बनाएर काम गर्ने तयारी गरेको छु । हालैमात्र नबिल बैंकमा लामो अनुभब भएका कृष्णगोपाल मानन्धरलाई बैंकमा ल्याएको छु ।
स्वाभाविक रूपमा सञ्चालक समितिले सीईओ नियुक्ति गर्दा स्वतन्त्र रूपमा काम गर्न दिन्छु भनेर सम्झौता गर्छन् । तर, व्यवहारमा फरक व्यवहार गर्ने गरेको अवस्थामा तपाईंले त्यसलाई लागू गर्न सक्नुहोला ?
धेरै हदसम्म सञ्चालक समितिले सुरुमा स्वतन्त्र रूपमा व्यावसायिक ढंगले काम गर्न दिने सहमति गरे पनि व्यवहारमा फरक देखिन्छ । तर, यस्ता धेरै व्यावहारिक विषयहरू सीईओको क्षमतामा पनि निर्भर हुन्छ । दबाब आउनु सामान्य हो । तर, दबाब आयो भन्दैमा आफ्नो नैतिकता नै बिर्सियो भने त सम्झौता गर्नुको के नै अर्थ हुन्छ र ? सम्झौता गर्दा सम्झिने र व्यवहारमा उतार्ने बेला बिर्सिने त सीईओकै कमजोरी हो ।

राष्ट्र बैंकका अधिकारीहरूसँग छलफल गर्दा पनि मैले नबिलमा २७ वर्षमा बनाएको छविलाई यहाँ पनि कायम गर्छु भनेर प्रतिबद्धता जनाएको छु । उहाँहरूले पनि ‘तपाईंसँग धेरै आशावादी छौं, नबिलमा बनाएको छवि कायम राख्नुहोस्, हाम्रो पूण सहयोग हुन्छ’ भनेर सुझाव दिनुभएको छ । काम गर्दा दवाव त आउछ त्यसलाई मजाले समाधान गर्न सक्छु भन्ने विश्वास छ ।
एनबी समूहसँग आबद्ध कर्जाका कारण बैंक अझै कति समय पीडित हुन्छ । यो समूहको कर्जा असुलीका लागि कस्तो प्रयास थाल्नुहुन्छ ?
एनबी समूहसँग आबद्ध कर्जा प्रकरणमा अब बैंक धेरै समय पीडित रहनुपर्दैन । सो समूहसँग आवद्ध रहेको हरिसिद्धी प्रकरणलाई सर्वोच्च अदालतले बैंकको पक्षमा फैसला गरिदिएको छ । त्यसैगरी अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पनि मुद्दा फिर्ता लिएको छ । अब यसमा कुनै कानुनी समस्या छैन । हरिसिद्धीबाट नामसारी भएर एनसीसी बैंककै गैर बैंकिङ सम्पत्तिका रुपमा दर्ज भएको छ । अब त्यसलाई बिक्री गर्न रोकिने स्थिति छैन । धेरै समस्याहरूबाट पार भइसकेकाले अब एक महिनाभित्र सम्भवतः यो विषय समाधान भईसक्छ । त्यस्तै हरिसिद्धीका अन्य जग्गाहरू पनि धितोमा छन् । एनबि बैंकमा पनि छ । यो प्रकरणमा बैंकले आफ्नो कर्जा असुल्नलाई गैर बैंकिङ सम्पत्ति लिन पाउने कानुनी समस्यामा नजिर बसेको छ । यसले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि सजिलो हुन्छ । अझै एनसीसीमा भेसराज लोहोनीसँग सम्वन्धित केही कुराहरू बाँकी छ । त्यसमा उहाँहरू पनि पीडित हुनहुन्छ । त्यो पनि अब छिट्टै समाधान हुन्छ । बैंकको कुला कर्जामा खराव कर्जाको अंश ४ प्रतिशत हाराहारी छ र यो आगामी त्रैमासमा अझ घट्छ । बैंकको पुँजी एकदमै राम्रो छ । पुँजीकोषसमेत १४ प्रतिशत हाराहारीमा छ । यस आधारमा बैंकले अहिलेकै निक्षेपमा पनि करिब १ अर्ब कर्जा प्रवाह गर्दा पनि राष्ट्र बैंकको नियमभित्र पर्छ ।

बाहिर नदेखिए पनि बैंक धेरै वर्ष भित्रभित्रै राष्ट्र बैंकको अधिनमा रहेकाले कर्जा प्रवाहमा खासै सुधार आउन सकेन । ५० लाखभन्दा माथिको कर्जा राष्ट्र बैंकको स्वीकृति लिएरमात्र लगानी गर्नुपर्ने भएकाले कर्जाको आकार बढेन । तर पनि बैंकका स–साना कर्जा धेरै छन् । यसले कर्जा प्रवाहमा विविधीकरण पनि गरेको छ ।
आगामी डेढ वर्षभित्र बैंकको पुँजी वृद्धि गर्नुपर्ने बाध्यता छ । पुँजी पु¥याउन कस्ता कार्यक्रम ल्याउनुहुन्छ ? अहिले धेरै रकम खराव कर्जाबापत व्यवस्था (प्रोभिजन) गर्नुपर्ने अवस्था छैन । सबै कर्जा असुलीकै चरणमा छन् । त्यसैले असार मसान्तमा पुँजी १ अर्व ६० करोड पुग्ने देखिन्छ । यसैबीचमा आगामी साधारणसभबाट उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जान बाटो खुला गरि अघि बढ्ने योजना छ । ३० करोडको पुँजी भएको विकास बैंक वा फाइनान्स कम्पनीसँग मर्ज गरेर आगामी वर्षपछि सेयरधनीले लाभांश खान पाउने अवस्था सिर्जना गर्ने सोच छ । अब सेयरधनीलाई हकप्रद सेयर भर्न लगाउँदिन । मसँगको छलफलमा सेयरधनीले समेत बजारमा भिजेको व्यक्ति बैंकको नेतृत्वमा आएकाले सुधार हुने अपेक्षा पालेका छन्, जुन स्वभाविक छ । कमर्चारी पनि उत्साहित भएका छन् । वाणिज्य बैंकले जोखिम लिएर काम गर्नुपर्छ । यस वर्ष लगानीकर्ताका लागि कुनै लाभांश दिन नसकिए पनि अर्को वर्ष कम्तीमा पनि १०–१५ प्रतिशत लाभांश दिने गरि बैंकको समग्र कारोबारमा सुधार ल्याउनु मेरो दायित्व भएको छ । त्यो बेलासम्म बैंकको विकास पनि भइसकेको हुनेछ । मैले काम सुरु गर्दा सञ्चालक समिति र मुख्य लगानीकर्तालाई स्वतन्त्र रुपमा काम गर्न दिनुहोस्, बैंकलाई एउटा उचाइमा पु¥याउँछु भनेर प्रतिवद्वता जनाएको छु । यो वर्षको वार्षिक बजेट तयार भएर कार्यान्वयनको अवस्थामा रहेकाले खासै परिवर्तन गर्न सकिँदैन । तर, आगामी वर्ष बैंकको बजेट बनाउँदा नै कम्तीमा तीन वर्षको क्षेत्रअनुसार विकास गर्ने लक्ष्यसहित बजेट बन्छ । तीन वर्षपछि बैंकको पोर्टफोलियो व्यवस्थापनमा एउटा उचाइ मिलेको महसुस हुनेगरि मैले आफ्ना योजना अघि सारेको छु । यसबाट लगानी खेर जाँदैन भन्ने विश्वास पनि दिनु छ ।
नयाँ बैंकहरूले समेत आफ्नो सेवाहरूमा प्रविधिको अधिकतम उपयोग गरेका छन् । तर, एनसीसी पनि पुरानै ढर्रामा हिँडिरहेको छ । यसतर्फ तपाईंका योजना के–के छन् ?
लामो समयसम्म बैंक आफ्नै समस्यामा अल्झिरहेकाले यतातिर ध्यान पु¥याएन । प्रविधिमा आधारित सेवाहरू एकदम थोरै छ । नयाँ ‘प्रोडक्ट’ ल्याउने, बजार बढाउने, ग्राहकलाई नयाँ नयाँ सेवा दिने काम भएकै छैन । अहिले एससीटी सञ्जालको एटिएम कार्ड बाहेक अरू कुनै किसिमका कार्ड प्रचलनमा छैनन् । त्यसैले ठूला बैंकसँग मिलेर ‘भिजा इलेक्ट्रोन कार्ड’ सुरु गर्ने सोच छ । त्यसैगरी बैंकको प्रणालीमा नै पनि प्राविधिक पक्षहरूमा धेरै सुधार आवश्यक छ ।

बैंकको खराब कर्जाको स्थिति कस्तो छ ?

बैंकमा खराब कर्जाका अझै ५–६ वटा खाता छन् । सबै गरेर २२\२४ करोड रुपैयाँ होला । दुख दिने खाता पनि यिनै हुन् । कर्जा बढेन भने त्यतिले पनि बैंकको वित्तीय स्थितिमा अप्ठेरो पार्छ । कर्जा बढाएपछि खराबकर्जा तुलनात्मक रुपमा न्यून हुन्छ । त्यसैगरि बैंकको करीव ४६–४७ करोड रुपैयाँबराबरको गैर बैंकिङ सम्पत्ति छ । यसलाई विक्री गरेपछि बैंक सबल बन्ने र नयाँ ढंगले आफ्ना सेवा विस्तार गर्न पनि बाटो खुल्छ । कतिपय ग्राहकहरू नबिलमा एनसीसीमा एउटै छन् । जस्तै, नेकोनको लगानीमा नेतृत्व गर्ने (लिड) बैंकको भन्दा एनसीसीको कर्जा बढी फसेको छ । तर, संयुक्त लगानीमा नेतृत्वकर्ता बैंकले बास्ता नगरेपछि अरू सहायक बैंकलाई अप्ठ्यारो पर्ने रहेछ । सबै आफ्नैमा व्यस्त भएकाले यसमा लागिनपरेको जस्तो पनि देखिन्छ । दुबै बैंकमा भएका एउटै ग्राहक अरू पनि छन् ।
२७ वर्ष नबिलमा बिताए पनि तपाईंलाई बैंकले विश्वास गर्न त सकेन । अर्कोतिर एउटै बैकमा लामो समय काम गरेको व्यक्तिलाई नेपालमा सीईओको भूमिका दिने प्रवृत्ति एकदम कम छ नि ? खास समस्या के हो ?
जुनियर अधिकृतबाट काम सुरु गरेर कामु सीईओ करिब डेढ वर्ष काम गरेको म एकजना मात्र होला । वित्तीय क्षेत्रमाजस्तै नबिलमा पनि सबै सीईओ बाहिरबाट आए । यसअघि शोभनदेव पन्तले केही समय कामु सीईओ भएर काम गर्नूभएको थियो । मैले पहिलेनै अप्ठेरो भए बाहिरबाट सीईओ ल्याउन त्यहाँको सञ्चालक समितिलाई आग्रह गरेको थिएँ । जति बेला मेरो स्थाई महाप्रवन्धकको पद छँदै थियो, म कामु सीईओ हँुदा पछि पूर्णरूपमा सीईओ हुँदैन पनि भनिएन । कामु पद लामो समयसम्म भएपछि एउटा बैंकको सीईओको आसा गर्नु स्वभाविक हो । यसले बजारमा पनि स्वभाविक असर पर्छ । बारम्बार आश्वासन पनि पाएको थिएँ । तर, १७ महिनामा उहाँहरू परिवर्तन हुनुभयो । तर पछि नयाँ सीईओ ल्याएर सीईओपछिको दोस्रो मुख्य व्यक्ति ‘चिफ फाइनान्ससियल कन्ट्रोलर’ को जिम्मेवारी दिइयो । तर, म जहिले पनि ‘फ्रन्ट लाइन’मा बसेर काम गरेकाले केही अप्ठ्यारो महसुस गरि बैंकले स्वेच्छिक अवकास योजनाअन्तर्गत त्यहाँबाट बिदा भएको हुँ । बैंकमा पनि महाप्रबन्धकसम्म स्थायी कर्मचारी हुन्छ । सीईओ हुनलाई करारमा आउनुपर्छ । त्यसका लागि मैले महाप्रबन्धकबाट राजिनामा दिनुपर्छ । त्यसमा बोर्डको इच्छा र सहमति हुनुपर्छ । बोर्डले पनि एक स्थाइ कर्मचारीलाई जागिर छुटाएर करार गर्नुप¥यो । यही कुराले अप्ठ्यारो भएको हुनसक्छ ? बैंकका कर्मचारीलाई आफ्नो स्थायी जागिर छाडेर सबै कर्जाहरू तिरेर करारमा बस्नुपर्छ । तर, करारमा रहेका सीईओलाई करारमै आउन समस्या भएन । जागिर छोडेर करारमा जान गाह्रो हुन्छ । जागिर छोडेपछि नियुक्ति भएन भने के गर्ने त ?  यसलै पनि होला बैंकको कर्मचारी त्यही बैंकमा सीईओ भएको उदाहरण एकदमै थोरै छ ।

No comments: