Tuesday, January 24, 2012

सुनमा आकर्षणसँगै व्यवसायी बढे

काठमाडौं, ९ माघ
भविष्यको बचतका लागि सर्वसाधारण सुन किन्न आकर्षित भएपछि यस क्षेत्रमा व्यवसायीको संख्या बढेको छ । एक वर्षयता काठमाडौं उपत्यकालगायत देशभर १ हजारभन्दा बढी सुन पसल खुलेको छ ।

विदेशबाट आउने रेमिटेन्सले गाउँमा सर्वसाधारणको समेत क्रयशक्ति बढेको र उनीहरूले सुन खरिद गर्ने भएकाले गाउँ–गाउँमा सुन पसल खुलेको व्यवसायीहरू बताउँछन् ।

“लगानीका विकल्पहरू नभएकाले सर्वसाधारणहरू सुन किन्न आकर्षित भएका छन्,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य भन्छन्, “सर्वसाधारणको मागकै कारण गाउँ–गाउँमा सुनचाँदी पसल खुलेका छन् ।” सेयर बजार ओरालो लागेको र उद्योगमा लगानीका लागि सुरक्षित वातावरण नभएका कारण पनि सुनमा लगानी बढिरहेको उनले दाबी गरे, “सम्पत्तिको सुरक्षाकै लागि सुनमा लगानी भइरहेको छ, देशमा औद्योगिक वातावरण बन्ने बित्तिकै यो आकर्षण स्वतः घट्छ ।

शाक्यका अनुसार पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाप्रति सर्वसाधारणको विश्वास घटेकाले पनि बैंकमा बचत गर्ने व्यक्ति पनि सुन किनेर राख्न थालेका छन् । पछिल्लो समयमा सुनको भाउ आकासिएपछि सुनमा गरेको लगानी फाइदाजनक भएकाले पनि लगानीकर्ता यसतर्फ आकर्षित भएका हुन् । एक वर्षमा सुनको भाउ झन्डै दोब्बर भइसकेको छ ।
संघमा आबद्ध व्यवसायी मात्र २ हजार ५ सयभन्दा बढी छन् । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ५ सय छन् । यसमा नेपाल रत्न तथा आभूषण संघ, सुनचाँदी कला व्यवसायी संघमा १\१ हजार व्यवसायी छन् ।

व्यवसायीका अनुसार देशभर ५ हजारभन्दा बढी सुनचाँदी पसल छन् । पछिल्लो समयमा काठमाडौंका साथै देशका अन्य ठाउँमा समेत सुनको माग बढ्दै गएको उनीहरूको भनाइ छ ।

सुनप्रति नेपालीको आकर्षण बढे पनि नेपाल राष्ट्र बैंकले भने यसलाई ‘अनुत्पादक’ भन्दै निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएको छ । गत वर्षदेखि कोटा प्रणाली लागू गरी हाल वाणिज्य बैंकले दैनिक १५ किलोमात्र सुन आयात गर्न अनुमति दिइएको छ । यसैगरी ढिक्का सुन बेच्च नपाइने र गहना मात्र बनाएर बेच्नुपर्ने व्यवस्था गरिएको छ ।

आर्थिक वर्ष ०६६÷६७ मा नेपालमा करिब ४५ अर्ब रुपैयाँको सुन आयात भएको थियो । यसले देशको व्यापार घाटा बढाएपछि सरकारले सुन आयातलाई नियन्त्रण गर्न थालेको हो । त्यसैगरी गत आवमा १० अर्ब र चालू आवको ६ महिनामा १० अर्बको सुन आयात भएको छ ।

केन्द्रीय बैंकका अधिकारीहरूसमेत नेपालीहरूमा सुनप्रति आकर्षण बढ्दै गएको स्वीकार गर्छन्  । तर लकरमा थन्क्याउने पुग्ने गरी सरकारले सुन किन्न नसक्ने भएको नियन्त्रणका उपाय अपनाइएको उनीहरूको भनाइ छ ।
“नेपालीलाई गहना बनाएर लगाउनका लागि १५ किलो सुन पर्याप्त हो,” बैंकका एक उच्च अधिकारीले भने, “लकरमा राख्नका लागि डलर खर्च गरेर राज्यले सुन किन्न सक्ने अवस्था छैन ।”
व्यवसायीहरूका अनुसार बजारमा दैनिक ३५ किलो सुन माग रहेकाले आयात बढाउन आवश्यक छ ।

No comments: