Monday, December 26, 2011

सुनचाँदी पसलमा गैरकानुनी काम


केन्द्रीय बैंकको अनुमतिबिनै ‘सुन धितो’ कर्जा
काठमाडौं, १० पुस
सुनचाँदी व्यवसायीले वर्षौंदेखि गैरकानुनी रूपमा सुन धितोमा सर्वसाधारणलाई ऋण दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिबिना निक्षेप संकलन र ऋण लगानी गर्न नपाइने कानुनी व्यवस्था उल्लंघन गर्दै व्यापारीले सुन धितो राखेर ऋण दिँदै आएका हुन् । 

नेपाल राष्ट्र बैंक ऐन–२०५८ ले बैंकको स्वीकृतीबिना निक्षेप तथा ऋण कारोबार गर्न नपाइने व्यवस्था गरेको छ । ऐनको दफा ७६ (उपदफा १) मा ‘कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन बैंकबाट तोकिएबमोजिम स्वीकृति लिनुपर्नेछ’ भन्ने उल्लेख छ । तर, सुनचाँदीलगायत बहुमूल्य गरगहना कारोबार गर्ने अनुमति लिएका व्यापारीले वर्षाैंदेखि स्वीकृतिबिना सुन धितो राखेर सर्वसाधारणलाई ऋण दिँदै आएका छन् ।
कपनका सुन व्यवसायी हर्कबहादुर नेपालीको हत्याका अपराधीले पनि पसलबाट सुन धितोमा ४५ हजार रुपैयाँ ऋण लिएको प्रहरीले पुष्टि गरेको छ  । यस घटनाले पनि सुन व्यवसायीले कानुनविपरीत ऋण दिने गरेको पुष्टि भएको छ । यसैगरी ऋण लिने बहानामा अपराधिक समूहले व्यवसायीसँग सम्बन्ध बढाउने गरेको पनि देखिएको छ ।
ऐन उल्लंघन गर्दै सुन पसलमा हुँदै आएको गैरकानुनी काममा केन्द्रीय बैंकको आँखा पुग्न सकेको छैन । बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सुनचाँदी व्यापारीले ऋण दिनु गरैकानुनी भए पनि बैंकको आँखा नपुगेको स्वीकारे ।
“केन्द्रीय बैंकको अनुमतिबिना निक्षेप संकलन र ऋण लगानी गैरकानुनी हो,” ज्ञवालीले भने, “यसबारे कानुन कार्यान्वयन विभागले छानबिन गरेर कारबाही अगाडि बढाउँछ ।” हुन्डी, ढुकुटीलगायत गैरबैंकिङ क्षेत्रमा हुने कारोबार नियन्त्रणमा केन्द्रीय बैंक लागिरहेको उनले दाबी गरे ।
सुनचाँदी व्यवसायीहरू भने सुन धितो राखेर कर्जा दिने काम आफ्नो परम्परागत व्यवसाय भएकाले यसलाई कानुनी मान्यता दिनुपर्ने बताउँछन् ।
“आफैंले बिक्री गरेको सुन धितो राखेर ऋण दिने काम पहिलेदेखिनै चल्दै आएको हो, नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भने, “यसलाई सरकारले कानुनी दायरामा ल्याउन पहल गर्नुपर्छ ।” सुनलाई पनि पैसा सरह मान्यता दिएपछि धितोमा कर्जा प्रवाह गर्न थालिएको उनले बताए । धितो राखेर कर्जा दिने बैंकिङ सेवाको सुरुवातसमेत सुन पसलबाट सुरु भएको शाक्यको दाबी थियो ।
शाक्यका अनुसार बैंक तथा वित्तीय संस्था र ग्रामीण क्षेत्रसम्म बैंकिङ शाखा सञ्जाल  विस्तार भइरहेकाले सुन व्यापारीले ऋण दिने काम विस्तारै घट्दै गएको छ । ग्रामीण क्षेत्रमा यस्तो कारोबार अझै कायम रहे पनि सहरी क्षेत्रमा न्यून भइसकेको उनले उल्लेख गरे ।
गहना गृहका सञ्चालक महेशमान श्रेष्ठ पनि व्यापारीले गर्दै आएको सुन धितो कर्जालाई कानुनी मान्यता दिनुपर्ने बताउँछन् । यसका लागि व्यवसायीहरूले पहल गरिरहेको उनले जानकारी दिए ।
“सुन व्यवसायीको राष्ट्रिय कार्यशालाले नै कर्जा दिने कामलाई कानुनी मान्यता दिनुपर्ने प्रस्ताव पारित गरेको छ,” नेपाल रत्न तथा आभूषण संघका प्रथम उपाध्यक्षसमेत रहेका शाक्यले भने, “ग्रामीण क्षेत्रमा बैंक नपुगेको ठाउँमा समेत व्यवसायीले सेवा दिएकाले यसलाई कानुनी मान्यता दिनुपर्छ ।”
बैंक तथा वित्तीय संस्थाको तुलनामा व्यवसायीले सहज रूपमा ऋण दिने भएकाले सर्वसाधारण यतातर्फ आकर्षित भएका हुन् । बैंकले धितो मूल्यांकनको ७० प्रतिशतसम्म मात्र ऋण दिने, लामो प्रक्रिया, बिललगायतका कागजात खोज्ने भएकाले पसलबाट ऋण लिएको सर्वसाधारण बताउँछन् ।
“बैंकमा सुन धितो राखेर कर्जा लिन धेरै झन्झटिलो छ” बनेपाको एक सुन पसलमा कारोबार गरिरहेका एक सर्वसाधारणले भने, “त्यसैले २ वर्षदेखि पसलबाट कारोबार गरिरहेको छुँ ।” बैंकमा आयस्रोत देखाउनुपर्ने र धितोको ७० प्रतिशतसम्म मात्र कर्जा दिने गरेको, तर पसलमा भने सीधै ९० प्रतिशत रकम कर्जा पाइने उनले बताए । सुन पसलबाट लिने कर्जाको ब्याजदर भने बैंकभन्दा धेरै हुने भए पनि छिटोछरितो हुने भएकाले पसलमा कारोबार गरेको उनको भनाइ छ ।
वित्तीय संस्थाले समेत सुन धितो कर्जामा प्राथमिकताका साथ लगानी गरेका छन् । पछिल्लो समयमा घरजग्गा व्यवसायमा आएको मन्दीले पनि सुन धितोलाई बैंकरहरूले सुरक्षित लगानी मान्दै आएका छन् ।
केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले २०६८ असोजसम्म कुल १७ अर्ब २० करोड २१ लाख रुपैयाँ ऋण प्रवाह गरेका छन् । त्यसमध्ये वाणिज्य बैंकले १६ अर्ब १२ करोड ८३ लाख, विकास बैंकले ८६ अर्ब २८ लाख र फाइनान्स कम्पनीले २१ करोड कर्जा प्रवाह गरेका छन् ।
सुन कर्जामा आम सर्वसाधारण आकर्षित भए पनि केन्द्रीय बैंकले यसलाई अनुत्पादक क्षेत्र भन्दै आयात नियन्त्रण गर्दै आएको छ । हाल वाणिज्य बैंकहरूले दैनिक १५ किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था गरेको छ ।

No comments: