Thursday, November 10, 2011

सुन झनै महँगो

काठमाडौं, २३ कात्तिक
स्थानीय बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुन प्रतितोला ५ सय बढेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

मंगलबार पनि एकैदिन सुनको भाउ १ हजार रुपैयाँ वृद्धि भई ५४ हजार ७ सय पुगेको थियो । यसअघि गत भदौमा सुनको भाउले ५४ हजार २ सयको रेकर्ड बनाएपछि केही घटबढ भए पनि फेरि रेकर्ड बनाउन थालेको हो ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य खासै उतारचढाव नआए पनि नेपाली मुद्राको अवमूल्यनको असर स्थानीय बजारमा परेको हो ।

बुधबार अमेरिकी डलरको सटही दर ४४ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सटहीदर प्रतियुनिट ७९ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।  अन्तर्राष्ट्रिय बजारभाउ र डलरको मूल्यका आधारमा संघले दैनिक स्थानीय बजारभाउ निर्धारण गर्दै आएको छ ।

तीन महिनामा नेपाली रुपैयाँका तुलनामा अमेरिकी डलरको सटहीदर १० डलर बढेको छ । त्यसैको असर नेपाली बजारमा परेको संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ ।

यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ हजार १ सय १० रुपैयाँ कायम रहेकामा बुधबार १ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।
विश्लेषकहरू सुनचाँदीको भाउ उच्च हुनुको प्रमुख कारक अमेरिका, ग्रिसलगायतको आर्थिक संकटलाई मान्छन् । लगानीकर्ताहरू डलर र सेयरबजार छोडेर सुनतर्फ लागेका कारण भाउ उच्च भएको उनीहरूको तर्क छ । संकटका बेला सुनलाई ‘सुरक्षित लगानी’ मानिन्छ ।  यस्तै भारत, चीन लगायतका देशमा सुनको माँग वृद्वि भएको विश्व बजारमा सुनको मागको तुलनामा उत्पादन कम भएकाले पनि सुनको भाउ उच्च भएको उनीहरू बताउँछन् ।

No comments: