Thursday, November 10, 2011

डलर महँगिएपछि सुनको मूल्यमा नयाँ उचाइ

  •    एकैदिन १ हजार बढ्यो 
  •    तोलाको ५४ हजार ७ सय
यादव हुमागाईं
काठमाडौं, २२ कात्तिक
नेपाली मुद्राको तुलनामा अमेरिकी डलर मजबुत बन्दै गएपछि स्थानीय बजारमा सुनको मूल्य अकासिएको छ । स्थानीय बजारमा एकैदिन १ हजार रुपैयाँ बढेर मंगलबार सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ २० मा सुन प्रतितोला ५४ हजार २ सयमा कारोबार भएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा भने यसअघि प्राप्त गरेको सुनको रेकर्ड मूल्यलाई तोड्न सकेको छैन । गत भदौमा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय डलर पुग्दा नेपाली बजारमा ५४ हजार २ सयको बिन्दुमा थियो । तर, हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८ सय भए पनि नेपालमा भने यसअघिको रेकर्ड तोडिएको छ ।

“नेपाली मुद्राको तुलनामा अमेरिकी डलर मजबुत भएकाले सुनले हालसम्मकै उच्च बिन्दु कायम ग¥यो,” संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “भदौमा प्रतियुनिट ६७ रुपैयाँ रहेको डलर हाल ७८ रुपैयाँ पुगेको छ ।” नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर प्रतियुनिट ७८.२५ रुपैयाँ निर्धारण गरेको थियो ।

संघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको दैनिक मूल्य कायम गर्दै आएको छ । यसैले अन्तर्राष्ट्रिय बजार र डलरको उतारचढावले नेपाली बजारभाउमा असर देखिने गरेको छ ।

अन्तर्राष्टिय बजारमा मंगलबार सुन प्रतिऔंस ३५ डलर बढेको छ । मंगलबार १ हजार ७ सय ९८ डलरको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारभाउ कायम गरिएको संघले जनाएको छ ।

“लगानीकर्ताहरू सेयर बजार र डलर छाडेर सुनतर्फ लागेपछि मूल्य उच्च भइरहेको छ,” शाक्यले भने, “अमेरिकाको संकटका कारण डलरप्रति गिर्दो विश्वास र ग्रिसको आर्थिक संकट नै सुनको मूल्य बढ्नुका प्रमुख कारण हुन् ।”

मध्यपूर्व एसियाली देशका साथै अमेरिका, ग्रिसलगायतका देशको संकटका कारण भदौदेखि अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उच्च छ । लगानीकर्ताले सुनलाई ‘सुरक्षित लगानी’ मानेर लगानी बढाउँदा मूल्य बढिरहेको छ ।

त्यस्तै, भारत, चीनलगायतका देशमा सुनको माग वृद्धि हुँदा विश्वबजारमा उत्पादन कम भएकाले भाउ उच्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । “पछिल्लो समय नेपालमा पनि घरजग्गा र सेयरबजार ओरालो लागेपछि सुनमा लगानी बढेको छ,” शाक्यले भने, “रेमिट्यान्सका कारण गाउँगाउँका सर्वसाधारण पनि क्रयशक्ति बढेपछि सुनतर्फ आकर्षित भएका छन् ।”
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ महँगो भई १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको छ ।

सरकारले भने सुनचाँदीलाई ‘अनुत्पादक क्षेत्र’ का रूपमा लिई यसको आयातलाई निरुत्साहित गर्दै आएको छ । आर्थिक वर्ष ०६५÷६६ मा ४१ अर्ब ६३ करोडको सुन आयात भई व्यापारघाटा उच्च भएपछि सरकारले आयात निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएको छ । गत आवको आर्थिक विधेयकमार्फत भन्सारदर बढाइएपछि हाल वाणिज्य बैंकहरूमार्फत दैनिक १५ किलोमात्र सुन आयात भइरहेको छ भने चाँदी बजार मागअनुसार आयात गर्न पाउने व्यवस्था गरेको छ ।

No comments: