Thursday, November 24, 2011

सहकारीले विभागको मापदण्ड र निर्देशन मानेनन्

काठमाडौ, ७ मंसिर
सहकारीको वित्तीय कारोबार मापदण्ड र सहकारी विभागको निर्देशनविपरीत रहेको पाइएको छ । विभागको अनुगमनका क्रममा सहकारीले निर्देशनलाई अटेर गरी कारोबार गरिरहेको भेटिएको हो ।

सहकारी मापदण्ड–२०६८ विपरीत सहकारीहरूले कार्यक्षेत्रबाहिर कारोबार गर्ने, कम्पनीमा लगानी गर्ने, जोखिम कोषको व्यवस्था नगर्ने र आफन्तका नाममा कर्जा प्रवाह गर्ने, पर्याप्त धितो नराख्ने गरेका हुन् । वैशाखबाट लागू भएको मापदण्डमा यस्तो कारोबार गर्ने सहकारीका सञ्चालकलाई ठगीको कारबाही गर्ने उल्लेख छ । तर, कमजोर कानुनका कारण कारबाही गर्न नसकिएको विभागका अधिकारी तर्क गर्छन् ।

प्रायः सहकारीमा एकै गल्ती भेटिएको छ । तर, गल्ती गर्ने सहकारीका सञ्चालकलाई कारबाही गर्न विभागसँग पर्याप्त कानुनका नभएकाले त्रुटी दोहोरिरहेको र निर्देशनसमेत लागू नभएको विभागका अधिकारी बताउँछन् । “यसअघि अनुगमन गरेका सहकारीमा देखिएका गल्ती नयाँ सहकारीमा पनि देखिएका छन्,” विभागका रजिस्ट्रार सुदर्शनप्रसाद ढकालले भने, “सञ्चालकलाई कारबाही गर्न पर्याप्त कानुनसमेत नभएकाले गल्ती दोहोरिएका हुन् ।” कतिपय संस्थाको गल्ती पुरानै भए पनि त्यसलाई सुधार गर्न समय लागेको हुनसक्ने उनको भनाइ थियो ।

Monday, November 21, 2011

सहकारीको अनुगमनका लागि छुट्टै विभाग

काठमाडौं, ३ मंसिर
सहकारी विभागले बचत तथा ऋण सहकारीको अनुगमन प्रभावकारी बनाउन छुट्टै विभाग गठन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सहकारीको अनुगमन गर्न नसक्ने बताएपछि विभागले आफ्नो क्षमता बढाउन लागेको हो ।

Department of Cooperative 
विभागअन्तर्गत रहने अनुगमन विभागमा उपसचिव र ५ जन व्यवस्थापन विषय पढेको अधिकृत नियुक्ति गर्ने तयारी गरिएको छ । दरबन्दी स्वीकृतिका लागि कृषि तथा सहकारी मन्त्रालयमार्फत सामान्य प्रशासन मन्त्रालयमा र अर्थ मन्त्रालयमा बजेटको माग विभागका अधिकारीले जानकारी दिए ।

“उपसचिवको नेतृत्वका ५ जना अधिकृत रहने गरी अनुगमन सेल गठन गर्न लागेका छौं,” सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले भने, “मन्त्रालयमार्फत दरबन्दी स्वीकृतिका सामान्य प्रशासनमा पठाएका छौं ।” सामान्यले दरबन्दी स्वीकृत गरेपछि सेल गठन प्रक्रिया अघि बढाइने उनले बताए । यस्तै आवश्यक बजेटका लागि अर्थ मन्त्रालयमा माग गरिएको उनले जानकारी दिए ।

ढकालका अनुसार उक्त सेलले सहरी क्षेत्रका ठूला कारोबार सहकारीको निरन्तर अनुगमन गर्नेछन् । ५ करोडभन्दा बढी कारोबार भएका सहकारीलाई यसले अनुगमन गर्ने र त्यसभन्दा सानो कारोबार भएका सहकारीको भने डिभिजन कार्यालयहरूले अनुगमन गर्ने उनले बताए ।

हाल बचत तथा ऋणका साथै वित्तीय कारोबार गर्ने बहुद्देश्यीय सहकारीको संख्या करिब १५ हजार छ । त्यसमध्ये ५ हजार सहकारीको कारोबार ५ हजार रहेको विभागले तथ्यांक संकलन गरेको छ । अधिकांश ठूला सहकारी काठमाडौं उपत्यका भित्र भए पनि केही संस्था पोखरा, झापा, काभ्रेलगायतका क्षेत्रमा छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा ५ करोडभन्दा बढी कारोबार भएको सहकारी संस्थाको राष्ट्र बैंकले अनुगमन गर्ने व्यवस्था गरेको थियो । तर जनशक्ति र पूर्वाधार अभावको कारण देखाउँदै बैंकले सहकारीको अनुगमन गर्न नसकिने भन्दै विभागलाई अनुगमनमा सहयोग मात्र गरेको छ । हाल राष्ट्र बैंकका दुई अधिकृत स्तरका कर्मचारी सहकारीको अनुगमनका लागि खटिएका छन् ।

राष्ट्र बैंकको सहयोगमा गत वर्ष सहकारी विभागले गरेको अनुगमनमा समेत ठूला सहकारी संस्थाहरूले सहकारी ऐन नियम र मापदण्डविपरीत कारोबार गरेको पाइएको थियो ।
अनुगमनमा संस्थाले ऋण लगानी गर्दा धेरै सेवा शुल्क लिने गरेको, संस्थाका सञ्चालकले सदस्यहरूको निक्षेप आफ्नो निजी कम्पनीमा लगानी गर्ने गरेको, कार्यक्षेत्र बाहिर र सदस्यबाहिर कारोबार गरेको पाइएको थियो ।

अनुगमनका क्रममा गल्ती भेटिएका संस्थालाई त्रुटि सच्याउन निर्देशन दिए पनि हालसम्म के कस्तो सुधार भयो भन्ने बारेमा विभागका अधिकारीसमेत अनभिज्ञ छन् । जनशक्तिको कमीका कारणले ती संस्थामा दोहो¥याएर अनुगमन गर्न नसकिएको उनीहरूको भनाइ छ ।

देशभर २३ हजारभन्दा बढी सहकारी छन् । तर, विभागमा भने कुल ५ सय ९४ जनशक्ति छन् भने अनुगमनका लागि २ सय ८५ जना मात्र छन् । सहकारीको बढ्दो कारोबारसँगै विभागको क्षमता नबढ्दा सहकारी क्षेत्रमा जोखिम बढ्दै गएको विज्ञहरूले औल्याउँदै आएका छन् । 

Thursday, November 10, 2011

सुन ५ सय रुपैयाँ घट्यो


काठमाडौं, २४ कात्तिक

स्थानीय बजारमा बुधबार रेकर्ड कायम गरेको सुनको भाउ विहिबार भने ५ सय रुपैयाँ सस्तो भएको छ । अन्तर्राष्ट्रिय बजार भाउ घटेपनि त्यसको असर स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार बुधबार प्रतितोला ५५ हजार २ सय रुपैयाँ कायम सुन विहिबार घटेर ५४ हजार ७ सयमा कारोबार भएको छ । यसअघि मंगलबार पनि सुनको भाउ सोही विन्दुमा थियो ।

यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै विहिबार चाँदी पनि २५ रुपैयाँ सस्तो भएको छ । बुधबार तोलाको १ हजार १ सय २५ रुपैयाँ रहेकोमा विहिबार १ हजार १ सय रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

सुन झनै महँगो

काठमाडौं, २३ कात्तिक
स्थानीय बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । सुन प्रतितोला ५ सय बढेर ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

मंगलबार पनि एकैदिन सुनको भाउ १ हजार रुपैयाँ वृद्धि भई ५४ हजार ७ सय पुगेको थियो । यसअघि गत भदौमा सुनको भाउले ५४ हजार २ सयको रेकर्ड बनाएपछि केही घटबढ भए पनि फेरि रेकर्ड बनाउन थालेको हो ।

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य खासै उतारचढाव नआए पनि नेपाली मुद्राको अवमूल्यनको असर स्थानीय बजारमा परेको हो ।

बुधबार अमेरिकी डलरको सटही दर ४४ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सटहीदर प्रतियुनिट ७९ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ ।  अन्तर्राष्ट्रिय बजारभाउ र डलरको मूल्यका आधारमा संघले दैनिक स्थानीय बजारभाउ निर्धारण गर्दै आएको छ ।

तीन महिनामा नेपाली रुपैयाँका तुलनामा अमेरिकी डलरको सटहीदर १० डलर बढेको छ । त्यसैको असर नेपाली बजारमा परेको संघका अध्यक्ष तेजरत्न शाक्यको भनाइ छ ।

यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै बुधबार चाँदीको भाउ पनि १५ रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला १ हजार १ सय १० रुपैयाँ कायम रहेकामा बुधबार १ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।
विश्लेषकहरू सुनचाँदीको भाउ उच्च हुनुको प्रमुख कारक अमेरिका, ग्रिसलगायतको आर्थिक संकटलाई मान्छन् । लगानीकर्ताहरू डलर र सेयरबजार छोडेर सुनतर्फ लागेका कारण भाउ उच्च भएको उनीहरूको तर्क छ । संकटका बेला सुनलाई ‘सुरक्षित लगानी’ मानिन्छ ।  यस्तै भारत, चीन लगायतका देशमा सुनको माँग वृद्वि भएको विश्व बजारमा सुनको मागको तुलनामा उत्पादन कम भएकाले पनि सुनको भाउ उच्च भएको उनीहरू बताउँछन् ।

डलर महँगिएपछि सुनको मूल्यमा नयाँ उचाइ

  •    एकैदिन १ हजार बढ्यो 
  •    तोलाको ५४ हजार ७ सय
यादव हुमागाईं
काठमाडौं, २२ कात्तिक
नेपाली मुद्राको तुलनामा अमेरिकी डलर मजबुत बन्दै गएपछि स्थानीय बजारमा सुनको मूल्य अकासिएको छ । स्थानीय बजारमा एकैदिन १ हजार रुपैयाँ बढेर मंगलबार सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ २० मा सुन प्रतितोला ५४ हजार २ सयमा कारोबार भएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा भने यसअघि प्राप्त गरेको सुनको रेकर्ड मूल्यलाई तोड्न सकेको छैन । गत भदौमा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय डलर पुग्दा नेपाली बजारमा ५४ हजार २ सयको बिन्दुमा थियो । तर, हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८ सय भए पनि नेपालमा भने यसअघिको रेकर्ड तोडिएको छ ।

“नेपाली मुद्राको तुलनामा अमेरिकी डलर मजबुत भएकाले सुनले हालसम्मकै उच्च बिन्दु कायम ग¥यो,” संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “भदौमा प्रतियुनिट ६७ रुपैयाँ रहेको डलर हाल ७८ रुपैयाँ पुगेको छ ।” नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर प्रतियुनिट ७८.२५ रुपैयाँ निर्धारण गरेको थियो ।

संघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको दैनिक मूल्य कायम गर्दै आएको छ । यसैले अन्तर्राष्ट्रिय बजार र डलरको उतारचढावले नेपाली बजारभाउमा असर देखिने गरेको छ ।

अन्तर्राष्टिय बजारमा मंगलबार सुन प्रतिऔंस ३५ डलर बढेको छ । मंगलबार १ हजार ७ सय ९८ डलरको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारभाउ कायम गरिएको संघले जनाएको छ ।

“लगानीकर्ताहरू सेयर बजार र डलर छाडेर सुनतर्फ लागेपछि मूल्य उच्च भइरहेको छ,” शाक्यले भने, “अमेरिकाको संकटका कारण डलरप्रति गिर्दो विश्वास र ग्रिसको आर्थिक संकट नै सुनको मूल्य बढ्नुका प्रमुख कारण हुन् ।”

मध्यपूर्व एसियाली देशका साथै अमेरिका, ग्रिसलगायतका देशको संकटका कारण भदौदेखि अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ उच्च छ । लगानीकर्ताले सुनलाई ‘सुरक्षित लगानी’ मानेर लगानी बढाउँदा मूल्य बढिरहेको छ ।

त्यस्तै, भारत, चीनलगायतका देशमा सुनको माग वृद्धि हुँदा विश्वबजारमा उत्पादन कम भएकाले भाउ उच्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । “पछिल्लो समय नेपालमा पनि घरजग्गा र सेयरबजार ओरालो लागेपछि सुनमा लगानी बढेको छ,” शाक्यले भने, “रेमिट्यान्सका कारण गाउँगाउँका सर्वसाधारण पनि क्रयशक्ति बढेपछि सुनतर्फ आकर्षित भएका छन् ।”
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ महँगो भई १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको छ ।

सरकारले भने सुनचाँदीलाई ‘अनुत्पादक क्षेत्र’ का रूपमा लिई यसको आयातलाई निरुत्साहित गर्दै आएको छ । आर्थिक वर्ष ०६५÷६६ मा ४१ अर्ब ६३ करोडको सुन आयात भई व्यापारघाटा उच्च भएपछि सरकारले आयात निरुत्साहित गर्न विभिन्न उपाय अपनाउँदै आएको छ । गत आवको आर्थिक विधेयकमार्फत भन्सारदर बढाइएपछि हाल वाणिज्य बैंकहरूमार्फत दैनिक १५ किलोमात्र सुन आयात भइरहेको छ भने चाँदी बजार मागअनुसार आयात गर्न पाउने व्यवस्था गरेको छ ।

Monday, November 07, 2011

५ करोडमा सहकारी जुस उद्योग खुल्ने

काठमाडौं, १९ कात्तिक
सहकारी र निजी क्षेत्रको संयुक्त लगानीमा जुनारको पकेट क्षेत्र सिन्धुलीमा राष्ट्रियस्तरको फलफूल प्रशोधन उद्योग खुल्ने भएको छ । जुनार सहकारी केन्द्रीय संघ र उद्योग वाणिज्य महासंघले संयुक्त लगानीमा अत्याधुनिक प्रशोधन उद्योग खोल्न लागेका हुन् ।

५ करोड रुपैयाँ लागतमा खोल्न लागिएको उद्योगमा सरकारको १ लाख अनुदान र बाँकी ४ लाख सहकारी र उद्योग वाणिज्य महासंघले लगानी गर्ने जुनार केन्द्रीय संघका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । यसैगरी बजारीकरणका लागि भाटभटेनी सुपरमार्केटलगायतसँग पनि कुरा भइरहेको कोइरालाले बताए ।
आहा : सिन्धुलीको मिठो जुनार
“सरकार, सहकारी र निजी क्षेत्रको साझेदारीमा बहुउद्देश्यीय प्रशोधन उद्योग स्थापना गर्न लागेका हौं,” कोइरालाले भने, “चालू आर्थिक वर्षभित्र उद्योग स्थापना गरी उत्पादन सुरु गर्ने लक्ष्य राखेका छौं,” वार्षिक ५ हजार मेट्रिक टन फलफूल प्रशोधन गर्ने क्षमता रहने उद्योगमा जुनारका अतिरिक्त अन्य फलफूल पनि प्रशोधन गर्न सकिने उनले बताए ।

हाल रामेछाप र सिन्धुली जिल्लामा उत्पादित जुनारबाट वार्षिक २ हजार लिटर जुस उत्पादन भइरहेको छ । म्यानुअल मेसिनबाट उत्पादन हुने गरेकाले यसले खासै व्यावसायिकता पाउन नसकेको किसानहरू बताउँछन् ।
यसैगरी जुनार खेतीलाई व्यावसायिक बनाउने  संघले नर्सरी निमार्ण गर्ने  भएको छ ।  कुल ४० लाखको लागतमा निर्माण गरिन लागेको नर्सरीका लागि ११ रोपनी जग्गा लिइएको र वार्षिक १ लाख बिरुवा उत्पादन गर्ने कोइरालाको भनाइ छ ।

नेपाली जुनारको वैदेशिक माग बढेकाले सहकारीबाट अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको जुनार उत्पादनमा तीव्रता आएको कोइरालाले बताए । परम्परागत खेतीलाई त्यागि आधुनिक तरिकाले यसको खेती गरिनुपर्ने संघको जोड छ । यस खेतीको नेपालमा राम्रो सम्भवना भएकाले किसानहरूलाई यस खेतीमा आकर्षित गर्न क्षमता अभिवृद्धि, जेटिए तथा ग्रामीण कृषि कार्यकर्ताको परिचालन गरिनुपर्ने बताए  । साथै सरकारले जुनार परीक्षण गराउने ल्याबजस्ता मेसिनरी सामान व्यवस्था गरी दिनुपर्ने संघको माग छ ।

सुरक्षा भए ४० अर्ब डलरको वैदेशिक लगानी ल्याउन सकिन्छ

२९ औं वाणिज्य बैंकको रूपमा एक वर्षअघि कारोबार सुरु गरेको कमर्ज एन्ड ट्रस्ट बैंक नेपालले यस अवधिमा साढे २ करोड नाफा गरेको छ । १४ वटा शाखाबाट बैंकिङ कारोबार गरिरहेको बैंकले ३ अर्ब निक्षेप संकलन गरी त्यत्ति नै कर्जा लगानी गरेको छ । देशको अर्थतन्त्र ओरालो लागेको र बजारको अवस्था बिग्रेको बेला कारोबार सुरु गरेको बैंकले फरक सोच र सेवाका कारण ग्राहकको मन जित्न सफल भएको प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईको दाबी छ । ‘युनिभर्सल बैंकिङ’ को अवधारणामा ग्राहकलाई बैंकिङ सेवाका साथै अन्य कम्पनीसँग सहकार्य गरी विविध सेवा दिइरहेको उनी बताउँछन् ।
अनलराज भट्टराई
प्रमुख कार्यकारी अधिकृत, कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल
गैरआवासीय नेपालीहरुको नौ महिनाअघि दुबईमा सम्पन्न पाँचौं क्षेत्रीय सम्मेलनमा सन् २०१२ लाई लगानी वर्षको रूपमा मनाउनुपर्ने अवधारणा अघि सारेका भट्टराई देश विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी अत्यावश्यक रहेको तर्क गर्छन् । वैदेशिक लगानीबाट भारत, चीनलगायत दक्षिण एसियाका धेरै देश अघि बढिसकेको बताउने भट्टराईले नेपालले पनि त्यही पद्धति अनुसरण गर्नुपर्ने बताउँछन् ।
भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण भई नेपाल बैंकबाट करिअर सुरु गरी उनले यो क्षेत्रमा करिब १६ वर्ष बिताइसकेका छन् । नेपाल बैंकपछि सानिमा विकास बैंक हुँदै कमर्ज एन्ड ट्रस्टमा स्थापनाकालदेखि रहेका भट्टराईसँग बैंकिङ क्षेत्रका साथै वैदेशिक लगानी र लगानी वर्षबारे समाचार सम्पादक विजयबाबु खत्री र संवाददाता यादव हुमागाईंले गरेको कुराकानी :


कमर्ज एन्ड ट्रस्ट बैंकले एक वर्षमा के उपलब्धि हासिल ग¥यो ?
एक वर्षमा हामीले ३ अर्बभन्दा बढी निक्षेप संकलन गरी त्यत्ति नै कर्जा प्रवाह गरेका छौं । अवस्था हेरेर बिस्तारै बजार विस्तार भैरहेको छ । बजारको अवस्था उत्साहजनक छैन । सन् २००७ देखि २०१० सम्म देखिएका विभिन्न उतारचढावले हामी एकदमै सचेत छौं । विभिन्न समस्याका बाबजुत पहिलो वर्षमा हामीले २ करोड ५५ लाख नाफा गरेका छौं । बैंकको दिगो विकास हुने किसिमले हामी बिस्तारै अगाडि बढिरहेका छौं ।

देशको अर्थतन्त्र ओरालो लागेको र बजारको अवस्था बिग्रेको बेला बैंक सुरु गर्दा अन्य बैंकभन्दा भिन्न छौं भन्नुहुन्थ्यो । प्रतिस्पर्धात्मक बजारमा बैंकको पहिचान के हो त ?
२००७ मा काम सुरु गरेर २०१० सेप्टेम्बरदेखि बैंकिङ कारोबार सुरु गरेका हौं । सुरुदेखि नै हामीले ‘युनिभर्सल बैंकिङ’ को अवधारणा ल्यायौं । यो अवधारणमा विभिन्न सेवाप्रदायक संस्थासँग साझेदारी गरेर ग्राहकलाई सेवा दिइन्छ । अहिले हामीले १४ वटा शाखामार्फत सेवा दिइरहेका छौं । शाखा विस्तार गर्दा पनि बैंकिङ सेवा नपुगेका स्थानलाई जोड दिएका छौं । झापाको चारआली, तेह्रथुम, धादिङको बैरेनीलगायत निजी बैंकले शाखा नखोलेका ठाउँमा हामी पहिला पुगेका थियौं ।
हामीले वैदेशिक लगानी ल्याउन पहल गरिरहेका छौं, त्यसका लागि एउटा विकास एजेन्सीसँग काम भैरहेको छ र छिट्टै सम्झौता पनि हुँदैछ । विदेशबाट नेपालमा लगानी ल्याउने र विदेशी दात्तृ निकायले गर्ने काममा पनि सहयोग गर्ने योजना छ । स्वास्थ्य, बिमा, यात्राका लागि हामीले परामर्श दिने कोसिस गरेका छौं । हाम्रा ग्राहकले केही एयरलाइन्सबाट यात्रा गर्दा छुट पाइरहेका छन्, जसले ग्राहकलाई फरकपन दिएको छ ।
हाम्रो मुख्य पहिचान भनेको नै विदेशी लगानी भित्राउने हुनेछ । नेपाल कमर्ज एन्ट ट्रस्ट पहिलो बैंक हो, जसले २०१२ लाई लगानी वर्षका रूपमा मनाउनुपर्छ भनेर गरेको प्रस्ताव राष्ट्रिय एजेन्डा भएको छ । यही हो हाम्रो पहिचान ।

विदेशी लगानी भिœयाउन बैंकले कसरी काम गर्छ ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं क्षेत्रीय सम्मेलनमा लगानी वर्षको अवधारणा सुरु गरिएको हो । यसमा सबै सहमत हुँदै नौ महिनाको अवधिमा राष्ट्रिय एजेन्डा भएको छ । अहिले हामी नीतिगत कामहरूमा सहभागी छौं । बैंकले नौ महिनासम्म सक्रिय काम ग¥यो । त्यसको प्रतिफल बिस्तारै देखिन थालेको छ । विदेशी लगानी भनेको आजको भोलि आउँदैन । त्यसका लागि बिस्तारै सबै पक्षलाई सहमत बनाउँदै जानुपर्छ । राजनीतिक दल र नीतिगत क्षेत्रमा सहमति भएको छ । हामी उद्योग वाणिज्य महासंघ, अर्थमन्त्रालय, उद्योग मन्त्रालयसँग नजिकै रहेर काम गरिरहेका छौं ।

लगानी वर्षको अवधारणा कुन परिस्थितिमा ल्याउनुभएको थियो ? यसमा के–के काम हुन्छन् ?
नेपालले सस्तो मूल्यमा आफ्नो श्रमशक्ति बेचिरहेको छ । यो अवस्थामा नेपाललाई लगानीको क्षेत्र बनाएर वैदेशिक लगानी भिœयाउन सके यहाँको श्रमशक्तिलाई यहीँ काम दिनसक्छौं भनेर एनआरएनको दुबई सम्मेलनमा मैले लगानी वर्षको अवधारणा प्रस्तुत गरेको थिएँ । सोही सोचका आधारमा अघि बढेका छौं । नेपालमा वैदेशिक लगानी भिœयाउन यहाँका विद्यमान समस्या समाधान गर्न सक्नुपर्छ । हामीकहाँ राजनीतिक, विद्युत्, श्रमिक, भौतिक पूर्वाधार, पानीलगायतका समस्या छन् । यी आजको भोलि नै समाधान हुँदैनन् । यसको विकल्प सोच्दै जानुपर्छ ।
नेपालका दुई छिमेकी मुलुक भारत र चीन अर्थतन्त्रको ‘पावर हाउस’ बनेका छन् । उनीहरूसँग पनि सहयोग लिन सकिन्छ । भर्खरै भारतसँग बिप्पा सम्झौता भयो, चीनसँग पनि हुँदैछ । सम्झौता भएपछि उताबाट लगानी, ऊर्जा पनि ल्याउन सकियो भने नेपालमा लगानी भिœयाउन समस्या छैन ।
भर्खरै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अर्थतन्त्र २० बिलियन डलर देखाएको छ । भारतको १ हजार ७ सय बिलियन डलरको छ । हाम्रो अथतन्त्र भारतको तुलनामा २ प्रतिशत पनि छैन । नेपालका बैंकहरूको कर्जा ८ बिलियन डलर छ । भारतमा २ सय १२ बिलियन डलर प्रत्यक्ष वैदेशिक लगानी छ । भारतले प्रत्येक वर्ष ५० बिलियन डलर वैदेशिक लगानी भिœयाउन प्रयास गरिरहेको छ । त्यसको १० प्रतिशतमात्र भिœयाउन सके पनि नेपालको अर्थतन्त्र दोब्बर हुन्छ । हामीकहाँ भएका लगानी सम्भावनाबारे प्रचार गर्न र विदेशी लगानीकर्तालाई सुरक्षाबारे विश्वास दिलाउन सक्नुपर्छ ।

लगानीको कुरा गर्दा बैंकहरू अग्रस्थानमा रहेर काम गर्नुपर्छ । वित्तीय संकटको सुरुवात बैंकहरूबाटै सुरु हुन्छ । अहिले नेपालमा वैदेशिक लगानी ल्याएर काम गर्नसक्ने अवस्था छ ?
समस्या परेपछि नै समाधानका उपाय निस्कन्छन् । एक–दुई महिनायता हामीकहाँ राजनीतिभन्दा आर्थिक मुद्दाहरूलाई प्राथमिकतामा राखिएको छ । यो पहिलो सकारात्मक कदम हो । राजनीतिमा पनि आर्थिक मुद्दाबारे बहस सुरु हुन थालेको छ ।
विश्व अर्थतन्त्रको संकट पनि आर्थिक समन्वयकर्ताबाट सुरु भएको देखिन्छ । नेपालको रियलस्टेट क्षेत्रमा देखिएको समस्या पनि बैंकिङ क्षेत्रले दीर्घकालीन सोच नराखेकाले चर्किएको हो । हामी केही वर्षअघि ७ प्रतिशत ब्याजमा हाइड्रोपावरमा लगानी गथ्र्यौं, अहिले बढेर १५ प्रतिशत पुगेको छ । हाम्रो भिजनमै कमोजोरी छ ।
अर्कोतिर नियामक निकायमा पनि समस्या छ । हामीलाई १५–२० वर्षसम्म आवश्यक पर्ने पुँजी कति हो, हामी के विकास चाहन्छौं, त्यसकै आधारमा नियामक निकाय पनि सहयोगी बन्नुपर्छ । सानो आकारको अर्थतन्त्र भएको नेपालमा बैंकिङ, उद्योग र नियामक निकाय सबैको मिसिएर समस्या भएर ठूलो भएको हो । सानो आकारको पुँजीमध्ये १५–२० प्रतिशत घरजग्गामा छ । ८० प्रतिशत कर्जा घरजग्गा धितो राखेर प्रवाह गरिएको छ । त्यसैले घरजग्गामा सानो समस्या देखियो भने बैंकिङ क्षेत्रमा समस्या देखिन्छ । त्यो अवस्था रोक्न र विकासका क्षेत्रमा लगानी बढाउन वैदेशिक लगानी नै चाहिन्छ । राजनीतिक स्थायित्व र लगानी सुरक्षाको ग्यारेन्टी हुने हो भने नेपालमा सजिलै ३० देखि ४० अर्ब डलर वैदेशिक लगानी ल्याउन सकिन्छ ।