Tuesday, September 27, 2011

आफन्तको नागरिकता जम्मा गरि सहकारी खोल्ने प्रवृत्ति रोक्नुपर्छ

मिनराज कडेल , अध्यक्ष
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)
केही वर्ष अघिसम्म धादिङको बागेश्वरी उच्च माध्यमिक विद्यालयमा शिक्षक रहेका मिनराज कडेल २०५३ सालमा धादिङ मलेखुमा जनकल्याण सहकारीमा आवद्व भई सहकारी आन्दोलनमा होमिएका थिए । त्यही जनकल्याण सहकारीका अध्यक्ष हाल १ हजार २५ बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्षसमेत छन् । सहकारीलाई सही ढंगले सदुपयोग गर्न सके मुलुकको विकासमा नयाँ गति लिने बताउने कंडेल हाल बचत तथा ऋण सहकारीलाई थप मर्यादित र समयानुकुल प्रवद्धन गर्न तीन वर्षे रणनीनिक योजना बनाएर अघि बढेका छन् । सरकार, नीजि क्षेत्र र सहकारी तीन खम्बे अर्थनीतिको प्रसङ्ग उठिरहेका बेला संघका अध्यक्ष कंडेलसँग कारोबारका लोकबहादुर चापागाईयादव हुमागाईले गरेको कुराकानीको अंशः 


नेफ्स्कुनले बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐनको मस्यौदा बनाइरहेको छ । नयाँ ऐनमा कस्तो सहकारीको परिकल्पना गरिएको छ ?

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बचत तथा ऋण सहकारीको छुट्टै ऐन आवश्यक छ भनेर धेरै अघिदेखी उठाउदै आएको थियो । बचत तथा ऋण सहकारी फस्टाएका दक्षिण कोरिया, हङकङ, ताइवान, क्यानडालगायतका मुलुकमा छुट्टै ‘क्रेडिट युनियन एक्ट’ लागू छ । एशियाली ऋण महासंघ र विश्व ऋण परिषदले नमुना कानुन पनि बनाएको छ । नेपालमा नेफ्स्कुनले क्यानेडियन कोअपरेटिभ युनियनसँग १५ वर्षदेखि सहकार्य गरी विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । युनियनको सुझाव अनुसार छुट्टै कानुन बनाउन नेफ्स्कुन डेढ बर्ष अघिदेखि कमिटि निर्माण गरेर काम गरेको छ । दक्षिण कोरिया, क्यानडा हङकङको कानुन र त्यसको प्रयोगलाई हेरेर नेपालमा यससम्वन्धी उैन तयार गरिँदैछ । यसमा सबै पक्षको सुझाव लिएर नीति तयार गरिएको छ । 
गत चैतसम्म मुलुकभर २२ हजार ६ सय ४६ सहकारी छन् । त्यसमध्ये १० हजार ५ सय बचत तथा ऋण रहेका छन भने कुल सहकारीको ६५  प्रतिशतले वित्तीय कारोबार गरिरहेका छन् ।

सहकारी ऐन–२०४८ भन्दा प्रस्तावित ऐनमा के कुरा भिन्न हुन्छ ?
मस्यौदामा संगठनात्मक ढाँचा केही फरक छ । सहकारीका सिद्वान्त र मुल्य मान्यतालाई पालना गर्नका लागि ऐनमा केही कडाइ गरिएको छ । सहकारीलाई स्वनियमनका आधारमा व्यवस्थित गर्न ‘वल्र्ड काउन्सील अफ क्रेडिट युनियन’ले प्रतिपादन गरेका बचत तथा ऋण सहकारीका ९ वटा सिद्वान्तका आधारमा लोकतान्त्रिक पद्वती अनुसार सदस्यबाट नियन्त्रीत गर्ने कुरालाई जोड दिइएको छ । यस्तै छाता संगठनले आफ्ना सदस्यहरुको अनुगमन नियमन गर्ने र अडिटिङ गर्ने व्यवस्था मिलाएका छौं ।
सहकारीमा हालको ढाँचा केन्द्रीय, जिल्ला र प्रारम्भिक गरी तीन तहको छ । नयाँ ऐनमा दक्षिण कोरियाको अनुभवका आधारमा दुई तह प्रस्ताव गरिएको छ । यसमा तल्लो स्तरमा प्रारम्भिक सहकारी र माथिल्लो तहमा केन्द्रीय संघ हुन्छ । सबै सहकारी केन्द्रीय संघका सदस्य हुन्छन् र नयाँ सहकारी खोल्न केन्द्रीय संघको सहमति आवश्यक हुन्छ । जिल्लाभित्र रहेका बचत तथा ऋण सहकारीबाट निर्वाचित जिल्ला समिति गठन हुन्छ । जसले केन्द्रीय संघकै जिल्ला कार्यालयको रुपमा काम गर्छ ।
सबै संस्था केन्द्रीय संघमा आवद्व हुने र केन्द्रीय संघको सिफारीसमा मात्र संस्था खोलिने भएकाले एउटै क्षेत्रमा धेरै वटा सहकारी खोल्ने क्रम पनि निरुत्साहित हुन्छ । अहिले सहरी क्षेत्रका सहकारीमा विकृती÷बिसंगती छन् । त्यस्ता सहकारीलाई निरुत्साहित गरी सहकारीलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्वान्तका आधारमा चलाउनुपर्छ ।

ऐनमार्फत सहकारी खोल्ने प्रवृत्तीलाई कडाइ गर्न खोजेको हो ?
आवश्यक्ता अनुसार मात्र संस्था खोल्नुपर्छ भन्ने मान्यता हो । नयाँ संस्था खोल्नका लागि न्युनतम आधार तयार पारेर त्यसैका आधारमा सहकारी खोल्न पाउने व्यवस्था गरिन्छ । अहिले ५ जना मिलेर आफन्तहरुको नागरिकता जम्मा परी सहकारी खोल्ने प्रवृत्ति रोक्नुपर्छ । ऐनमा धेरै सहकारी भएको क्षेत्रमा मर्जलाई पनि जोड दिएको छ । पहिला धेरै संख्यामा सहकारी रहेको ५ करोड जनसख्या भएको कोरियामा हाल ९ सय ६३ क्रेडिट युनियन छ । यस्तै ३ करोड जनसंख्या भएको क्यानडामा ७ सय ५० वटा सहकारी छ । कोरियाको एउटै संस्थामा ४÷५ लाख सहकारी सदस्य र १४÷१५ हजार कर्मचारी रहेका छन् । हाल राष्ट बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवा सुविधा सहित मर्जमा प्रोत्साहन गरिरहेको छ । सहकारी पनि त्यो बाटोमा जानुपर्छ । थाइल्यान्ड, जापान, कोरिया, क्यानडा पनि अहिले यही बाटोमा छन् ।
त्यसैगरी मस्यौदमा सदस्यको निक्षेप सुरक्षित गर्न स्थितीकरण कोष राख्ने प्रस्ताव गरिएको छ । सहकारी संस्था समस्यामा पर्दा उद्धारका लागि यस्तो कोष उपयोग गर्न सकिन्छ । सहकारीको केन्द्रीय निकायमा रहने स्थितीकरण कोषमा सदस्यले संस्थाले निक्षेपका आधारमा निश्चित प्रतिशत रकम राख्ने र आवश्यक परेका बेला सहयोग गर्ने व्यवस्था गर्न लागेका छौं ।

२०४८ को सहकारी ऐनमा नियमन र कारवाहीको व्यवस्था कमजोर छ, नयाँ ऐनमा कस्तो व्यवस्था गरिएको छ ?
नयाँ ऐनमा नियमनकारीको भूमिकालाई कडा बनाइएको छ । राम्रा संस्थाहरुलाई सहयोग गर्ने र गलत काम गर्ने संस्थालाई कारवाहीको व्यवस्था छ । हिजो निक्षेपकर्ताको रकम लिएर भागेका संस्थालाई कानुन नभएकाले खासै कारबाही भएन । अहिले सहकारी कार्यालयले गलत काम गर्ने सहकारीलाई १ हजार ५ सय जरीवाना गर्ने या जिल्ला प्रसासन कार्यालयमा मुद्दा हाल्ने प्रावधान प्रभावकारी हुन सकेको छैन । एउटा संस्थाले गलत काम ग¥यो भने सिङगो सहकारी अभियानलाई नै यसले असर पु¥याउँछ  ।

सहकारीले सदस्यभित्रमात्र कारोबार सिमित गर्नुपर्ने व्यवस्था भएपनि नेपालको सन्दर्भमा भने त्यो लागू भएको देखिदैन नि ?
सहरी क्षेत्रका सहकारीमा कार्यक्षेत्र र सदस्यबाट बाहिर गएर कारोबार गर्ने समस्या देखिएको छ । तर, गाउँमा यो समस्या छैन । ऐनले सदस्यबाट बचत लिएर सदस्यलाई नै ऋण दिन पाइने व्यवस्था गरेको छ । कतिपय संस्थाहरुले संस्थापक र कारोबार सदस्य बनाउने, सदस्यलाई भेदभाव गर्ने, साधारणसभा भाग लिने र संचालक समितिमा आउन नदिने गरेको पनि पाइएको छ । विभागले जारी गरेको मापदण्डले यसलाई कडाइ पनि गरेको छ । सदस्यबाहीर र कार्यक्षेत्र बाहिर कारोबार गर्नेलाई कारवाहीको दायरामा ल्याइएको छ । संघ पनि यसबारे आम सहकारीकर्मीलाई सचेत गराउन लागिरहेको छ ।

१० हजार सहकारीमा १ हजार मात्र केन्द्रीय संघमा आवद्व छन् । तपाईंहरुको काम कतिको प्रभावकारी होला ?
१० हजार संस्था भएपनि संघमा १ हजार २५ सदस्य छन् । त्यसमा ३९ वटा जिल्ला संघ आवद्व छन् जसमार्फत थप १ हजार सहकारी हाम्रो अप्रत्यक्ष सदस्य छन् । पछिल्ला तीन÷चार वर्षयता सहकारी खोल्ने बाढी नै आयो । तर, सहकारीको बृद्वी अनुसार सदस्यता बृद्वि गर्न सकेनौं । त्यसैले अहिले सदस्यताका लागि खुल्ला आवहान गरेका छौं । संघको तीन वर्षे रणनीतिक योजनामा प्रत्येक वर्ष १ हजार सदस्य थप्दै जाने योजना छ । नयाँ संविधानपछि राज्य पुनसंरचना हँुदा सोही अनुरुपको ढाँचा बनाउने संघको योजना छ । नयाँ ऐनलाई संसदबाट पारित गरेर लागू गराउन सकेमा वित्तीय कारोबार गर्ने सहकारीलाई व्यवस्थित गरी सुधार गर्न सकिन्छ ।
यसैगरी दुर्गम क्षेत्रमा सहकारी पु¥याउने लक्षका साथ संघले ८ वटा हिमाली जिल्ला ताप्लेजुङ, पाचथर, संखुवासभा, तेहथुम भोजपुर, बझाङ, डोटी र बैतडीमा कार्यक्रम संचालन गरिरहेको छ । जसमा स्थानीय जनतालाई जागरुक गराएर सहकारी गठन, दर्ता, प्रर्वद्वनका साथै जिल्ला संघ केन्द्रमा आवद्व गराउन लागिरहेका छौं । पछिल्लो समयमा संघप्रति आकर्षण बढेको छ भने सदस्य बन्ने क्रम पनि बढेको छ ।
सहकारी विभागको सघन अनुगन र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको कार्यदलको

प्रतिवेदनले समेत नेपालको बचत तथा ऋण सहकारीको कारोबार जोखिमपूर्ण छ भनेर औल्याइएको छ । अवस्था कस्तो देख्नुहुन्छ ?
योजना आयोगको उपाध्यक्ष संयोजक रहेको कार्यदलमा म पनि सदस्य थिए । त्यसमा वित्तीय सहकारीको विषयमा लामो छलफल भएका थियो । यस्तै विभागको अगुनमनमा पनि केही सहकारीमा कमजोरी देखिएको छ । तर, सहकारीको मुल्य मान्यता र सिद्वान्त अवलम्बन नगरेका सहकारीमा मात्र जोखिम देखिएको हो । सिद्वान्तअनुसार चल्ने सहकारी कहिल्यै दुर्घटनामा पर्दैनन् ।
विश्व ऋण परिषदले सहकारीका लागि पल्स ( pearls) मनिनरिङ सिस्टम बनाएको छ । जसमा वित्तीय सहकारीले पालना गर्नुपर्ने ४४ वटा उपसुचकांक समेटिएका छन् । विश्वव्यापी रुपमा वित्तीय कारोबार गर्ने सहकारीले यसलाई अनुसरण गरेका छन् ।  सहकारी मापदण्ड–२०६८ मा पनि यसलाई समेटिएकोे यसलाई अनुसरण गरी सदस्य केन्द्रीत करोबार गरीरहेका सहकारीका समस्या छैन । जसले नाफा कमाउने व्यवसायका रुपमा सहकारी चलाएका छन् त्यस्ता सहकारीमा जोखिम छ । यो समस्या सहरी क्षेत्रका सहकारीमा देखिएको हो । तर पनि बैंकिङ क्षेत्रको तुलनामा सहकारीको स्थिती राम्रो छ । बैंकिङ क्षेत्रमा केही समयअघि तरलताको समस्या आउदा सहकारीमा त्यसको प्रभाव कम थियो । ‘पल्स रेटिङ सिस्टम’ अनुसार सहकारी संचालनका लागि हामीले विभिन्न्न चरणका कार्यक्रम संचालन गरिरहेका छौं । सहकारीको स्तर बढाउन हामीले अघिल्लो वर्ष ७ वटा र अहिले ११ वटा संस्थामा एशियाली स्तरको मापदण्डमा पु¥याउन ‘एक्सेस ब्राण्ड’ कार्यक्रम संचालन गरेका छौं । ८४ वटा उपसुचकांक अनुसार संचालित भएका सहकारी २ वर्ष भित्र एसियाली स्तरका सहकारी सरह हुन्छन् । हाम्रो भिजन नै नेपालमा दिगो बचत तथा ऋण सहकारी हो । संस्था बलियो भए मात्र संघ बलियो हुन्छ ।
संघको सदस्य भएको कुनै पनि संस्था निक्षेपकर्ताको रकम लिएर भागेको छैन । केही समय अघि सहरी क्षेत्रका धेरै सहकारीका संचालक रकम लिएर फरार भए । त्यसका सहकारी कार्यालयको निरिक्षण अनुगमनको कमी नै हो ।
 

सहकारी विभागले हालै तपाइहरुलाई आफ्ना सदस्य संस्थाहरुको अनुगमन गर्ने अनुमति दिएको छ यसबारे के गर्दैहुनुहुन्छ ?
अघिल्लो वर्ष हामीले सदस्य संस्थाहरुको अनुगमन, निरिक्षण र लेखापरिक्षण गर्न पाउने गरी विनियम संसोधन गरी विभागका पठाएकोमा स्विकृत भएको छ । त्यसैका लागि हामीले स्वनियम सम्बन्धी गोष्ठी पनि गरेका थियौ । गोष्ठीको सुझाव लिएर स्वनियम सम्बन्धी निर्देशिका तयार पारी सबै सदस्य संस्थाहरुमा पठाउछौ । सोही निर्देशीकाको र पल्स रेटिङ सिस्टमलाई आधार बनाएर अघि बढ्छौ ।

सदस्य नै जागरुक नभएको स्थितीमा सहकारी सदस्य नियन्त्रीत संस्था कसरी होला ?
सहरी क्षेत्रका केही सहकारीमा सदस्य सक्रिय नहुदा संचालकको मनोपोली छ । सदस्य र समुदायमा आधारित सहकारीमा सदस्य भने जागरुक छन् । भक्तपुरको सिद्वीगणेश साकोसको साधारणसभामा ९० प्रतिशत सदस्य उपस्थित हुन्छन् । यसैगरी काभ्रेको विन्धबासीनीमा १० हजार सहकारी मध्ये ६ हजार ६ सय महिला छन् जसको साधारणसभामा ७०\७५ प्रतिशत सदस्य उपस्थित हुन्छन् । सोही सहकारीले नेफ्स्कूनको राष्ट्रिय  र  लघुवित्त क्षेत्रको अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएको छ । सदस्य जागरुक नभएको केही सिमित व्यक्तिले चलाएको सहरी क्षेत्रका सहकारीमा मात्र समस्या छ । त्यसलाई सुधार गर्नुपर्छ ।

नाफामा मात्र जोड दिने प्रवृत्तीलाई नियन्त्रण गर्न संघले कस्तो भूमिका खेलको छ ?
संघले आफ्ना सदस्य संस्थालाई तालिम, गोष्ठीमार्फत निरन्तर सहकारीका मूल्य मान्यताबारे निरन्तर सचेत गराइरहेका छौं । तालिम, शिक्षा र सुचनामा जोड दिएका छौं । तर धेरै नाफामुलक हुने प्रवृत्तीलाई नियन्त्रण गर्ने काम त सहकारी विभाग र मातहतका डिभिजन कार्यालयको हो । उहाँहरुमान पनि भौतिक पूर्वाधार र जनशक्ति कम छ । त्यसैले सहकारी कार्यालयलाई ७५ जिल्लामा पु¥याउनु र जनशक्ति बढाउन आवश्यक छ ।
बाणिज्य बैंक तथा राष्ट्र बैंकबाट सेवा निवृत्त भएका व्यत्तिले खोलेका सहकारी नाफा केन्द्रीत छन् भनिन्छ नि ?
बैंकिङ या अन्य क्षेत्रबाट सेवा निवृत भएका व्यक्तिहरुमा सहकारी खोल्नु फेसन झै भएको छ । सहकारी नबुझेका व्यक्तिहरु नाफाकेन्द्रीत भएका छन् । त्यसैले नयाँ मापदण्डमा सहकारीका बहुमत संचालकलाई तालिम अनिवार्य गरिएको छ । यसले पनि केही हदसम्म संस्थालाई सिद्वान्त अनुसार चलाउन र विकृती रोक्न मद्दत पु¥याउछ ।

नयाँ मापदण्डले सहकारी आन्दोलनलाई नियन्त्रण ग¥र्यो भन्ने कुरा पनि आएको छ नि ?
मापदण्डमा सहकारी अभियानलाई संकुचन गर्ने प्रावधान राखिएको गुनासो आएको छ । त्यसलाई संसोधन गर्न सहरकारी संघ र नेफ्स्कुन मार्फत विभागका राखेका छौं । यसबारे हामी छलफल गर्दछौ । सहकारी अभियानलाई घाटा पुग्ने कुरालाई संसोधन गरेर सहकारी अभियानलाई व्यवस्थित गर्दै लैजानुपर्छ भन्ने हाम्रो मान्यता छ ।

सरकारले अबलम्बन गरेको तीनखम्बे आर्थिक नीतिमा सहकारीलाई एक खम्बा मानेपछि नीजि क्षेत्रबाट विरोध भएको छ नि ?
तीनखम्बे अर्थनीतिको नीजि क्षेत्र, केही अर्थविद्वले गरेका छन् । सहकारी पुगेको क्षेत्रमा नीजि क्षेत्र पुगेको छैन भने नीजि क्षेत्र पुगेको ठाउमा सहकारी पुगेको छैन । नीजि क्षेत्र र राज्यले मात्र सबैकुरा गर्न सक्छ भन्ने होइन  । निम्न बर्गका गरिव जनताको उत्थानका साथै समग्र आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारीले पहल गरेको छ । सबैले आ–आफ्नो भूमिका निर्वाह गरौ । सबैको लक्ष्य राज्यलाई सम्बृद्व बनाउने हो ।
अहिले नगरपालिका क्षेत्रका सहकारीलाई लगाइएको २० प्रतिशत कर छुट हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । अमेरिकामा पनि सहकारीका कर लाग्दैन । कतिपय देशमा सहकारीलाई न्युन कर लाग्छ । समुदायमा आधारित र सहकारीले प्रवद्वनमा राज्यको भूमिका हुनुपर्छ । सहकारीलाई व्यवस्थित गर्ने कुरामा हामी सहमत छौं ।

No comments: