Sunday, August 07, 2011

‘नियमनकारी निकायबीच समन्वय नहुँदा समस्या’

काठमाडौं, २१ साउन
नेपाल चाटर्ड एकाउन्टेन्टस संस्था (आईक्यान) का अध्यक्ष सुदर्शनराज पाण्डेले नियमनकारी निकायबीच समन्वय नभएकाले वित्तीय सुशासन कायम राख्न समस्या भएको बताएका छन् । समस्या समाधानका लागि आईक्यानले भने समन्वयको कार्य सुरु गरेको उनले बताए ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) छैटौं स्थापना दिवसका अवसरमा शुक्रबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले वित्तीय सुशासन कायम गर्ने जिम्मेवारी लेखापरीक्षकको मात्र नभई यसमा नेपाल राष्ट्र बैंक, बिमा समिति, धितोपत्र बोर्ड, सहकारी विभागसमेत चनाखो हुनुपर्ने बताए । नियमनकारी निकायको भूमिका कमजोर भएकाले नियमन हुन नसकेको र दोष सबै लेखापरीक्षकलाई लगाइएको दाबी गरे । आईक्यानले लेखा परीक्षकलाई जोगाएको आरोपको खण्डन गर्दै उनले गत वर्ष ६ जनालाई कारबाही, १० जनालाई सचेत, २ जनालाई सफाइ र २ जनाको मुद्दा अन्तिम टुंगोमा पुगेको जानकारी दिए ।

अडानका अध्यक्ष कोमल खरेलले गलत काम गरेका लेखा व्यवसायीलाई कारबाही गर्न आग्रह गर्दै एक जनाको कारणले व्यवसायलाई नै बदनाम नगराउन आग्रह गरे । कर बिजक नक्कली या सक्कली छुट्याउने काम लेखा व्यवसायीको नभएको भन्दै भ्याट छलीमा आफूहरूको गल्ती नभएको उनले जिकिर गरे । आर्थिक ऐन–२०६८ मा उल्लेख गरिएको ‘मतियार’ शब्दको अर्थ नखुलेको र सहकारी मापदण्ड–२०६८ को कडा प्रावधानले व्यवसायीलाई काम गर्न अप्ठेरो परेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले भ्याट छलिको छानबिन चलिरहेको र लेखा व्यवसायी पनि दोषी पाए कारबाही गरिने बताए । आर्थिक सुशासनका लागि लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै जिम्मेवारीसाथ काम गर्न आग्रह गरे ।

लेखा व्यवसायीको संगठन अडानले व्यवसायीको हक–हितका साथै कार्यदक्षता बढाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । स्थापना दिवसको अवसरमा संस्थाले देशका विभिन्न ठाउँमा सदस्यहरूलाई तालिम दिएको जनाएको छ । काठमाडौंमा आर्थिक ऐन–२०६८, सम्पति शुद्वीकरण, सहकारी मापदण्डका परिवर्तित प्रावधानबारे तालिम सञ्चालन गरेको अध्यक्ष खरेलले बताए ।

हाल नेपालमा सिए र दर्तावाल लेखा परीक्षक गरी करिब ८ हजार लेखा व्यवसायी छन् ।

No comments: