Thursday, August 04, 2011

सुन तोलाको ४६ हजार

यादव हुमागाई
काठमाडौं, १८ साउन

* अमेरिकी ऋण त्रासले मूल्य अकासियो
* दुईपटक मूल्य निर्धारण
* एकैदिन १३ सय बढ्यो


नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला ४६ हजार रुपैयाँ पुगेको छ । युरोपेली देशहरू र अमेरिकी ऋण संकटको त्रासले अन्तर्राष्ट्रिय बजार उकालो लागेपछि स्थानीय बजारमा पनि मूल्य अकासिएको हो ।

सुनको नयाँ रेकर्ड कायम गर्ने क्रममा बुधबार एकैदिन १ हजार ३ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र उतारचढाव आएपछि नेपाल सुनचाँदी व्यवसायी संघले बुधबार सुनको मूल्यसमेत दुईपटक तय गरेको छ । बिहान १० बजे प्रतितोला ४५ हजार ७ सय रुपैयाँ तय गरिएको मूल्य दिउँसो २ बजे थप ३ सय रुपैयाँ थपेर ४६ हजार कायम गरिएको थियो ।

मंगलबार स्थानीय बजारमा प्रतितोला ४४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा ५० डलरभन्दा बढी वृद्वि भएपछि एकैदिन दोस्रो पटक मूल्य तोकिएको संघले जनाएको छ ।

“अन्तर्राष्ट्रिय बजारमा सामान्य उचारचढाव आउँदा स्थानीय बजारमा असर पर्दैनथ्यो,” संघका महासचिव माणिकरत्न शाक्यले भने, “आज धेरै उतारचढाव आएकोले दोस्रो पटक मूल्य निर्धारण गरिएको हो ।” एकैदिन यतिधेरै मूल्य बढेको पहिलो पटक भएको शाक्यले बताए ।

अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । मंगलबार बेलुकी प्रतिऔंस १ हजार ६ सय २८ डलर रहेको मूल्य बुधबार बिहान १ हजार ६ सय ६० पुगेको थियो । त्यसपछि पनि लगातार उकालो लागेको मूल्य साँझसम्म १ हजार ६ सय ७० कायम भएको छ ।

विश्लेषकहरूले सन् २०११ को अन्त्यसम्ममा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सयसम्मको सीमा निर्धारण गरे पनि आठ महिनामै मूल्यले सीमा नाघेको हो । अमेरिकी अर्थतन्त्रमा अझै सुधारको संकेत नदेखिएकाले सुनको भाउ १ हजार ७ सय पुग्ने विश्लेषकहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

“अमेरिका र युरोपेली देशको ऋण संकटका कारण लगानीकर्ताले सुरक्षित सम्पत्ति मानिएको सुन किन्न थालेपछि मूल्य बढेको हो,” शाक्यले भने, “ऋण सीमा बढाउने विधेयक अमेरिकी संसद्मा पारित भए पनि लगानीकर्ताहरू अझै ढुक्क हुन नसकेकाले बजारमा असर देखिएको छ ।”

सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपालले अमेरिकी सरकारले ऋणपत्रको ब्याजदर नबढाएका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएको बताए । अमेरिकाको ऋण र युद्ध खर्च बढेकाले ऋणपत्रको तुलनामा सुनलाई सुरक्षित मान्न थालिएको उनको भनाइ छ । युरोपेली देशले सुन बिक्री नगरेको तथा भारत र चीनमा सुनको खपत बढेका कारण पनि मूल्य बढेको दाबी उनले गरे ।

बुधबार दक्षिण कोरिया र थाइल्यान्डका केन्द्रीय बैंकले ठूलो परिणाममा एकैपटक सुन किनेकाले पनि बजार भाउ अकासिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बुधबारमात्र कोरियाको केन्द्रीय बैंकले १ अर्ब डलरभन्दा बढीमा २५ हजार किलो सुन खरिद गरेको सार्वजनिक भएपछि बजार उचालिएको हो ।

यो बैंकले मंगलबार एक दशकभन्दा बढी अवधिमा पहिलो पटक सुन खरिदका लागि १ अर्ब डलरभन्दा बढी खर्च गरेको बताएको छ । विश्वव्यापी वृद्धिको अनिश्चितताबीच विदेशी मुद्राको सञ्चितिमा विविधीकरण गर्ने प्रवृत्तिमा आबद्ध हुन सुन खरिद गरेको उसको भनाइ छ ।

बजार भाउ उच्च भएपछि नेपाली बजारको कारोबारमा भने ९० प्रतिशत गिरावट आएको छ । “साउन/भदौ हाम्रा लागि अफ सिजन नै हो,” शाक्यले भने, “भाउ उच्च भएपछि आज यसअघिको अर्डर डेलिभरी दिने काममात्र भएको छ ।”

No comments: