Monday, August 01, 2011

सहकारीमार्फत अग्र्यानिक उत्पादन बढाइने

काठमाडौं, १४ साउन
अग्र्यानिक खेतीबाट उत्पादित वस्तुको स्वदेश र विदेशमा माग बढ्न थालेपछि सहकारीमार्फत यस्तो उत्पादन बढाइने भएको छ । उत्पादन बढाउन र यस प्रविधिमा कृषकलाई उत्साहित गराउन कृषि सहकारी संघले देशव्यापी अभियान सुरु गरेको छ ।

रासायनिक मलबाट माटो बिग्रदै गएको र त्यसबाट उत्पादित उत्पादनले मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने भएकाले अग्र्यानिक खेती बढाउने अभियान सुरु गरिएको संघका अध्यक्ष खेम पाठकले जानकारी दिए । यसबाट कृषकले धेरै फाइदा लिन सक्ने उनको दाबी छ ।

“अग्र्यानिक उत्पादन बढाउनका लागि देशभरका कृषि सहकारीमार्फत अभियान सुरु गरेका छौं,” पाठकले भने, “यस प्रणालीका फाइदाबारे जानकारी गराएर कृषकलाई उत्प्रेरित गराउँदैछौं ।” देशका विभिन्न ८ भागमा कार्यशाला गरी अग्र्यानिक खेतीबारे कृषकलाई जानकारी दिने उनले बताए । पाठकका अनुसार ५८ जिल्लाका कृषि सहकारीलाई समेटिने गरी कार्याशाला आयोजना गरिनेछ । त्यसमा सहकारीका पदाधिकारी समावेश गराउने र उनीहरूले कृषकलाई उत्पे्ररणा दिने पाठकले जानकारी दिए ।

कार्यशाला नेपालगन्ज, भैरहवा, चितवन, जनकपुर, मोरङ, पोखरा, धादिङ र काभ्रेमा आयोजना गर्न लागिएको बताइएको छ । तालिममा कृषकलाई जैविक मल बनाउने विधि, पशु मलमूत्रलाई विषादी बनाउने तरिकाबारे जानकारी गराइएको छ ।

अग्र्यानिक उत्पादनको हाल देश र विदेशमा समेत उच्च माग रहेकाले कृषकले यसबाट धेरै फाइदा लिनसक्ने पाठकको भनाइ छ । “रासायनिक मल प्रयोग गरेको उत्पादनभन्दा यो उत्पादन दोब्बरभन्दा धेरै फाइदा लिन सक्छन्,” पाठकले भने । संघले यस प्रविधिबाट उत्पादन सुरु भएपछि बजारीकरणको लागि पनि सहयोग गर्ने उनले उल्लेख गरे ।

सहकारी विभागका अनुसार देशभर ३ हजार १ सय कृषि सहकारी दर्ता छन् त्यसमध्ये संघमा भने तीन सय २० सहकारी मात्र आबद्ध छन् ।

No comments: