Monday, July 25, 2011

सुन तोलाको ४५ हजार नजिक

काठमाडौं, ९ साउन
स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै तोलाको ४५ हजार रुपैयाँ नजिक पुगेको छ । अन्तर्राष्ट्रिय बजार भाउ उच्च भएपछि नेपाली बजारमा सुन सर्वाधिक महँगो भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार सोमबार नेपाली बजारमा सुन प्रतिदस ग्राम ३८ हजार १ सय ९५ (प्रतितोला ४४ हजार ५ सय ५०) रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए ।

“अन्तर्राष्ट्रिय बजार भाउ बढेकाले नेपालमा पनि सुन हालसम्मकै महँगो भएको हो,” शाक्यले भने, “अन्तर्राष्ट्रिय बजार उकालो लागिरहेकाले अझै महँगो हुन सक्ने सम्भावना देखिएको छ ।” लगानीकर्ताहरू सेयर बजारमा भन्दा सुनमा आकर्षित भएका कारण भाउ अकासिएको उनको भनाइ छ । अमेरिकी डलरमा गिरावट आएकाले सुनको भाउ लगातार बढिरहेको उनले जानकारी दिए ।

आइतबार प्रतिदस ग्राम ३७ हजार ८ सय १० कायम भएको सुन सोमबार ३ सय ८५ रुपैयाँ बढेको हो । यसअघि गत मंगलबार सुनको भाउले ३७ हजार ९ सय ८० (प्रतितोला ४४ हजार ३ सय रुपैयाँ) को रेकर्ड कायम गरेको थियो । त्यसपछि ओरालो लागेको भाउ सोमबार पुनः वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत सोमबार सुनको मूल्यले प्रतिऔंस १ हजार ६ सय २० डलरको रेकर्ड कायम गरेको छ । ऋण सिमा बढाउने वासिङटनको वार्ता स्थगित भएपछि डलरको अवमूल्यन भएको र स्टक ओरालो लागेकाले सुनको भाउ पुनः बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउँदै सोमबार स्थानीय बजारमा चाँदीको भाउ पनि सामान्य बढेको छ । आइतबार प्रतिदस ग्राम ९ सय ६० रुपैयाँ कायम रहेको चाँदी सोमबार ९ रुपैयाँ वृद्धि भई ६ सय ६९ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

बजारमा सुनको भाउ उच्च भएपछि बिक्री भने घटेको सुनचाँदी व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार बिक्री ७५ प्रतिशतले गिरावट आएको छ भने सुन बिक्री गर्ने भने बढेका छन् ।

No comments: