Sunday, June 19, 2011

आईएलओको सहयोगमा सहकारी

यादव हुमागाईं
काठमाडौं, २ असार
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा सुदूरपश्चिमाञ्चलका पाँच जिल्लामा पाँचवटा बचत तथा ऋण सहकारी संस्था गठन गरिएको छ । स्थानीयस्तरमा पुँजी संकलन गरी स्थानीय युवालाई उद्यमशील बनाउन प्रत्येक जिल्लामा एक–एकवटा वित्तीय सहकारी गठन गरिएको हो ।
“तालिम पाएका युवालाई उद्योग सञ्चालन गर्न पुँजी संकलन गर्ने उद्देश्यले सहकारी गठन गरिएको हो”

आईएलओले सञ्चालन गरेको ‘रोजगारीका लागि सीप विकास कार्यक्रम’ अन्तर्गत सीपमूलक तालिम लिएका युवालाई सहभागी गराएर सहकारी खोलिएको संस्थाले जनाएको छ । सीपमूलक तालिम पाएका युवालाई उद्यमशील बनाउन पुँजी जुटाउन तथा बचत गर्न बानी बसाल्नका लागि सहकारी खोलिएको आईएलओकी कार्यक्रम अधिकृत नीता न्यौपानेले जानकारी दिइन् ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्योग खोल्नुभन्दा सहकारी खोलेर स्थानीय पुँजी संकलन गरी प्रयोग गर्नु उपयुक्त देखिएकाले बचत तथा ऋण सहकारी खोल्न प्रोत्साहन गरिएको उनले जानकारी दिइन् । “स्थानीयस्तरमा छरिएको स–सानो पुँजीलाई संकलन गरी स्थानीयस्तरमै रोजगारी सिर्जनाका लागि सहकारी संस्था उपयुक्त हुन्छ,” न्यौपानेले भनिन्, “त्यसैले उनीहरुलाई सहकारी खोल्न प्रोत्साहन गरिएको हो ।”
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन लामो प्रक्रिया भएकाले छरिएको पुँजी संकलन गर्न सहकारी उपयुक्त हुने न्यौपानेको भनाइ थियो । हाल सञ्चालनमा रहेका सहकारीमा युवावर्गको प्रतिनिधित्व नभएकाले तालिमप्राप्त युवाको नेतृत्वमा सहकारी खोलिएको उनले बताइन् ।
सीप कार्यक्रम सञ्चालन भएका दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र बझाङमा एक–एकवटा बचत तथा ऋण सहकारी संस्था खोलिएको छ । यी सहकारीमा तालिममा भाग लिएका करिब १ हजार २ सय युवा आबद्ध छन् ।
युवालाई सहकारी स्थापना गर्न र सञ्चालनका लागि सहकारीको छाता संगठन राष्ट्रिय सहकारी संघले अभिमुखीकरण तालिम दिएको थियो । संघले पहिलो चरणमा अभिमुखीकरण तालिम, दोस्रो चरणमा सहकारी गठन र तेस्रो चरणमा सहकारी सञ्चालन तथा व्यवस्थापनबारे तालिम दिइएको कार्यक्रमकी संयोजक चित्राकुमारी सुब्बाले जानकारी दिइन् । “चारवटा जिल्लामा सहकारी गठन भसकेको छ भने बैतडीमा दर्ता प्रक्रियामा छ,” उनले भनिन् ।
आईएलओले सन् २०१० देखि सुदूरपश्चिमाञ्चलका दुर्गम पाँच जिल्लाका युवालाई लक्षित गरी कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा १६ देखि २९ वर्षसम्ममा युवालाई समेटिएको कार्यक्रम अधिकृत सुब्बाले जानकारी दिइन् ।
सीप सिकेका युवालाई स्थानीयस्तरमै रोजगारी दिनुपर्ने कार्यक्रमको उद्देश्यअनुसार स्थानीयस्तरमा रोजगारीको सम्भावना रहेका विषयमा तालिम दिइएको बताइएको छ । तालिम लिएका युवाले स्थानीयस्तरमा उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धनका लागि पनि सहकारी संस्था उपयुक्त हुने भएकाले सहकारीमा आबद्ध हुन प्रोत्साहन गरिएको संस्थाले जनाएको छ ।
“बचत तथा ऋण सहकारी भएकाले उनीहरुको मुख्य काम वित्तीय कारोबार नै हो,” सुब्बाले भनिन्, “यसबाहेक सदस्यले उत्पादन गरेका उत्पादनको बजारीकरणका लागि पनि सहकारीले सहयोग गर्छ ।” सहकारीले स्थानीयवासीको आर्थिक र सामाजिक विकासमा समेत भूमिका खेल्ने सुब्बाले बताइन् ।

No comments: