Saturday, May 14, 2011

दुई महिनापछि बजारमा सुनको अभाव हुने

यादव हुमागाईं
काठमाडौं, २९ वैशाख
दुई महिनापछि नेपाली बजारमा सुनको अभाव हुने भएको छ । आयातभन्दा बिक्री धेरै भएपछि अभाव हुने देखिएको हो । आयात कोटा नबढाए भारतबाट अवैध आयात बढ्ने व्यवसायीले चेतावनी दिएका छन् । हाल दैनिक १५ किलो आयात भए पनि बजारमा भने दैनिक २५ किलो सुन बिक्री हुँदै आएको छ ।

“अहिले पुरानो कोटाकै सुन बाँकी रहेकाले बजारमा सहज भएको हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “यो कोटा सकिएपछि बजारमा सुनको अभाव हुन्छ ।” पुरानो कोटाको सुनले मुस्किलले २ महिना धान्ने उनले बताए ।
सुनचाँदी व्यवसायीका अनुसार हाल बैंकहरूमार्फत दैनिक २५ किलो सुन बिक्री भइरहेको छ । तर सरकारले आयात कोटा भने दैनिक १५ किलो मात्र निर्धारण गरेको छ । आयात कोटा नबढाए पुनः भारतबाट अवैध आयात बढ्ने शाक्यले दाबी गरे । बिहेको सिजन भए पनि यसपटक सुनको मूल्य उच्च भएकाले बिक्री नबढेको उनको भनाइ छ । “अघिल्ला सिजनमा दैनिक ४० किलोभन्दा धेरै बिक्री हुन्थ्यो,” शाक्यले बताए, “यसपटक भाउ उच्च भएकाले बिक्री घटेको हो ।” गतसाता मात्र बजारमा सुनको भाउ प्रतिदस ग्राम ४३ हजार नाघेको थियो ।

नेपाल राष्ट्र बैंकले सुन बिक्रीका लागि लागू गरेको कार्यविधिको विरोध गर्दै व्यवसायीले सुन नकिनेपछि बजारमा सुनको ५ सय किलो कोटा बाँकी थियो । केन्द्रीय बैंकले वैशाख पहिलो साता सुनचाँदी बिक्री कार्यविधि संशोधन गरेपछि वाणिज्य बैंकहरूबाट सुन बिक्री बढेको हो ।

व्यवसायीले बजारमा अभाव हुने बताए पनि राष्ट्र बैंकका अधिकारी भने आयात कोटा बढाउन नसकिने बताउँछन् । सुन आयातले विदेशी मुद्रा सञ्चितिमा ठूलो असर पर्ने उनीहरूको तर्क छ । “सुन बहुमूल्य धातु भएकाले यसको कोटा बढाउनेबितिकै विदेशी मुद्रा सञ्चिति र सोधनान्तर स्थितिमा ठूलो असर पर्छ,” नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, “त्यसैले तत्कालै कोटा बढाउन सक्ने स्थिति छैन ।” भारतबाट अवैध आयात नभएको दाबी गर्दै ती अधिकारी भन्छन्, “गत वर्ष आयात भएर बजारमा रहेको सुन नै बजारमा आएको छ ।”

गत आर्थिक वर्षमा सुनको आयात अत्याधिक भएपछि सरकारले गत वैशाखदेखि सुन आयातमा कोटा प्रणाली लागू गरेको थियो । तत्कालीन अवस्थामा दैनिक १० किलो आयात गरे पनि भन्सार वृद्धि गरेपछि गत पुसदेखि भने पाँच किलो बढाएर दैनिक १५ किलो पु¥याइएको हो ।”

केन्द्रीय बैंकले नेपालीलाई सुनमा लगानी गर्नसमेत निरुत्साहित गर्दै आएको छ । बैंकको बिक्री कार्यविधिमा व्यवसायीले ढिक्का सुन बिक्री गर्न नपाउने र गहना बनाएर मात्र बेच्नुपर्ने व्यवस्था गरिएको छ ।

“व्यापार घाटा बढिरहेका बेला देशले डलर खर्च गरेर सुन किन्न सक्ने अवस्था छैन,” राष्ट्र बैंकका ती अधिकारीले भने, “१५ किलो सुन नेपालीलाई आवश्यक गरगहनाको लागि भरपुर छ ।”

नेपालमा आवश्यक सुनको परिणामबारे मतभेद भए पनि यसबारे कुनै अध्ययन भएको छैन । पछिल्लो समयमा सेयर बजार र घरजग्गा कारोबार ओरालो लागेपछि सुनमा लगानी बढेको व्यवसायी बताउँछन् । रेमिटेन्सको कारणले ग्रामीण क्षेत्रका सर्वसाधारणको क्रयशक्ति बढेकाले सुनको माग बढेको बताइन्छ ।

No comments: