Sunday, May 01, 2011

‘उत्पादन र वितरण सहकारी आवश्यक’

काठमाडौं, १७ चैत\ राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान बढाउनका लागि कृषि, शिक्षा, यातायातलगायतका ‘उत्पादन’, ‘वितरण’ र सेवाका क्षेत्रका सहकारीको सख्या बढाउनुपर्ने सरोकारवालाहरुले औल्याएका छन् । सहर केन्द्रीत भएका वचत तथा ऋण सहकारीको संख्या धेरै भएकाले विकृती देखिएको र अर्थतन्त्रमा सहकारीको योगदान बढ्न नसकेको उनीहरुको भनाइ छ ।

गन्तव्य यातायात सहकारी संस्थाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै श्रम तथा यातायात मन्त्री टोप बहादुर रायमाझीले सहकारी आन्दोलन उत्पादन र वितरण क्षेत्रमा जानुपर्ने आवश्यक्ता औल्याए । कृषि उत्पादन बढाउन र आधुनिकीकरण गर्न सहकारी उपयुक्त भएको उनको भनाइ थियो । यातायातमा क्षेत्रमा सहकारीको योगदान हुन सके नीजि क्षेत्रसँग प्रतिस्पर्धा भई सर्वसाधारणले पाउने सहज सेवा पाउने उनले बताए । उत्पादन र सेवाका क्षेत्रका सहकारीले विशेष प्राथमिकता दिने उनले उल्लेख गरे ।

अर्थशास्त्री डिल्लीराज खनालले सहरी क्षेत्रका वचत तथा ऋण सहकारीको कारोबार पारदर्शी नहुँदा विकृति बढेको दावी गरे । त्यस्ता सहकारीलाई कानुनी र नीतिगत व्यवस्था सहि बाटोमा ल्याउन आवश्यक भएको उनले औल्याए । नीजि क्षेत्रको मनलाग्दी भाडा र सिन्डिकेट प्रथालाई हटाउन समेत यातायात क्षेत्रमा सहकारी आउन उनले आग्रह गरे ।
राष्ट्रिय सहकारी विकास वोर्डका निर्देशक डा. विश्वमोहन आचार्यले सहकारीले आफ्नो उदेश्य अनुरुप कारोबार नगरेकाले समस्या भएको बताए । जुन सुकै नाममा दर्ता भएपनि बचत तथा ऋण कारोबारमै मात्र जोड दिने प्रवृत्तीले अर्थतन्त्रमा सहकारीको योजदान बढ्न नसकेको उनको भनाई थियो ।

राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपक प्रकाश बास्कोटाले उपभोक्ता र उत्पादकविचको मूल्य अन्तरलाई घटाउनका लागि सहकारी उपयुक्त हुने बताए । साझा यातायातलाई देखाएर यातायात क्षेत्रमा सहकारी फस्टाउदैन भन्ने गलत प्रचार गरिएको भन्दै उनले साझा यातायात सरकारको कारण धरासायी भएको बताए ।

राष्ट्रिय सहकारी संघका संचालक रविन्द्र केसीले सहकारीलाई उत्पादशितल क्षेत्रमा लैजान संघले देशभरबाट सुझाव संकलन गरी कार्ययोजना बनाउन लागेको बताए । उपयुक्त नीति र वातावरण भएमा कृषि, उपभोक्ता, जलविद्युत जस्ता उत्पादनशिल क्षेत्रमा समेत सहकारी जान सक्ने उनको भनाइ थियो ।

नेपालभर कार्यक्षेत्र भएको गन्तव्य यातायात सहकारीले छिट्टै नै सार्वजनिक यातायात सेवा सुरु गर्ने जनाएको छ । यसका लागि हाल सदस्य र पूँजी बढाउने काम भइरहेको संस्थाले जनाएको छ ।

No comments: