Sunday, May 01, 2011

साताभर सुनचाँदीको मूल्य उच्च

यादव हुमागाई
काठमाडौं, १७ वैशाख
स्थानीय बजारमा साताभर सुनचाँदीको मूल्य उच्च भएको छ । राजनीतिक उतारचढाव, डलरको अवमूल्यनका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बढेपछि स्थानीय बजारमा त्यसको असर परेको हो ।

स्थानीय बजारमा आईतबार र सोमबार प्रतिदस ग्राम ३६ हजार ९५ रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार र बुधबार भने सामान्य ओरालो लाग्यो । विहिबारवाट पुनः उकालो लागेको सुनको भाउँ शुक्रबार प्रतिदस ग्राम ३६ हजार ३ सय ९५ मा कारोबार भई एतिहासीक रेकर्ड कायम गरेको छ ।

यो साता सर्वाधिक महँगोमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको असर स्थानीय बजारमा परेको हो । स्थानीय बजारमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको मूल्य दैनिक निर्धारण हुन्छ । विवाहको सिजनमा सुनचाँदीको भाउ महँगो भएपछि सर्वसाधारण प्रभावित भएका छन् । बजारमा सुनको बिक्रीसमेत घटेको व्यवसायी बताउँछन् ।

यसैगरी यो साता चाँदीको भाउले पनि रेकर्ड कायम गरेको छ । आइतबार प्रतिदस ग्राम १ हजार १ सय ४० रुपैयाँ रहेको चाँदीको क्रमश घट्दै मंगलदबार १ हजार ८४ रुपैयाँमा झर्र्यो । बुधबार बाट भने पुनः उकालो लागेर शुक्रबारसम्म पुग्दा ऐतिहासीक रेकर्ड कायम भई प्रतिदस ग्राम १ हजार १ सय ५७ रुपैयाँमा कारोबार भएको छ ।

“अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बढ्यै छ” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “यो साता सुनचाँदी नै महंगोमा कारोबार भयोे ।” महंगो भएपछि व्यवसायीका लागि ‘सिजन’ भएपनि मूल्य उच्च भएपछि व्यापार नबढेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा समेत यो साता मूल्य उच्च भएको छ । आईतबार प्रतिऔस १ हजार ५ सय १८ डलर रहेकोमा शनिबार बेलुकीसम्म १ हजार ५ सय ३० डलरबाट उकालो लागेको छ । इजिप्टको राजनीतिक तनावपछि सुनचाँदीको भाउ उकालो लागेको हो । लिबियामा बहुराष्ट्रिय सेनाको आक्रमणको भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायतका देशको विरोध गरेपछि सुनको मूल्य उच्च भएको हो । हाल अमेरिकी डलरसमेत कमजोर भएका कारण सुनमा लगानी बढेकाले मूल्य उकालो लागेको बताइएको छ ।

भारत, चीन लगायतका देशहरूमा सुनको खपत बढिरहेका कारण भाउ अझै उकालो लाग्ने सक्ने विश्लेषक बताउँछन् । पछिल्लो समयमा सेयरभन्दा सुन भरपर्दो लगानीको क्षेत्र बन्दै गएकाले कारोबार बढेको तर उत्पादन नबढेका कारण मूल्य उच्च भएको हो ।

No comments: