Monday, April 18, 2011

सुन बिक्री कार्यविधिमा संशोधन

* आधा किलोको सट्टा एक किलो
* संघको सिफारिस नचाहिने
* निर्यात भएका आधारमा छुट्टै सहुलियत
यादव हुमागाईं
काठमाडौं, ५ वैशाख
नेपाल राष्ट्र बैंकले सुन बिक्रीमा लागू गरेको कोटा प्रणाली खारेज गर्दै बिक्री प्रावधान खुकुलो बनाएको छ । विभिन्न व्यवसायी संघहरूको सिफारिसमा सुन किन्न पाउने व्यवस्था हटाउँदै राष्ट्र बैंकले सुनचाँदी व्यवसायीले सीधै वाणिज्य बैंकहरूबाट खरिद गर्नसक्ने व्यवस्था लागू गरेको छ ।
केन्द्रीय बैंकले ‘सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६७’ लाई मंगलबार संशोधन गरी सुनका कलात्मक सामान निर्यातक व्यवसायीलाई सहुलियत दिने व्यवस्थासमेत गरेको छ । यसअनुसार निर्यात व्यवसायीले हस्तकलाका सामान निर्यात भएको परिणामअनुसार सुन पाउनेछन् । यसअघि यस्ता व्यवसायीले कुल आयातको १० प्रतिसत सुन पाउने व्यवस्था थियो ।
कोटा प्रणाली लागू गर्दा हस्तकलाका सामान निर्यातमा असर परेपछि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । अत्यधिक आयातले शोधानान्तर घाटा बढी विदेशी मुद्रा सञ्चितिसमेत घट्दै गएपछि केन्द्रीय बैंकले गत वर्षदेखि सुन आयात र बिक्रीमा कोटा प्रणाली लागू गरेको थियो ।

“व्यवसायीले कलात्मक सामान निर्यात गरेको प्रमाणका आधारमा सुन दिने व्यवस्था गरिएको छ,” बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, “कोटा प्रणालीले निर्यात व्यवसायलाई असर नपरोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।”

त्यस्तै, कार्यविधिले एक पटकमा एक व्यवसायीले खरिद गर्न पाउने सुनको परिमाण पनि बढाएको छ । अबदेखि प्रतिव्यवसायी एक किलो सुन खरिद गर्न पाइनेछ । यसअघि ५ सय ग्राममात्र खरिद गर्न पाउने व्यवस्था थियो ।

क्षेत्रगत रूपमा निर्धारित कोटा प्रणालीलाई पनि लचिलो बनाउँदै एक साताभित्र सम्बन्धित क्षेत्रमा बिक्री भएमा अर्को क्षेत्रमा समेत बिक्री गर्न सकिने व्यवस्था गरिएको जानकारी ज्ञवालीले दिए । कार्यविधिमा यसअघि आयात भएको सुनमध्ये ६० प्रतिशत बाग्मती अञ्चल र ४० प्रतिशत अन्य १३ अञ्चलमा बिक्री गर्नुपर्ने व्यवस्था थियो ।

सुन आयातको परिमाण बढाउनुपर्ने र आयातको अधिकार पनि पाउनुपर्ने व्यवसायीको मागलाई भने कार्यविधिले समेटेको छैन । वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन बिक्री गर्ने प्रावधानलाई भने यथावत् राखिएको छ ।

संशोधित कार्यविधिले पनि बजारमा देखिएको सुनको समस्या समाधान नगर्ने सुनचाँदी व्यवसायीहरूको दाबी छ । नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले नयाँ व्यवस्थाले बजार व्यवस्थित गर्न केही सहज भए पनि सबै समस्या नहट्ने बताए । “बजारको आवश्यकताअनुसार व्यवसायीलाई नै आयात गर्न नदिएसम्म समस्या समाधान हुँदैन,” उनले भने, “सुनको आयात परिमाणमा समेत वृद्धि गर्नु आवश्यक छ ।”

निर्यातको आधारमा सुन पाउने व्यवस्थाले आफ्ना समस्या समाधान नहुने नेपाल हस्तकला महासंघका अध्यक्ष विकासरत्न धाख्वाको भनाइ छ । “सुन विभिन्न हस्तकलाका सामानमा जलप लगाउन प्रयोग हुने भएकाले वास्तविक सुनको परिमाण निकाल्न अप्ठ्यारो हुन्छ,” उनले भने ।

हस्तकला व्यवसायीलाई दैनिक पाँच किलो सुन आवश्यक रहेको भन्दै उनले खुला बजारको सिद्धान्तअनुसार आयात गर्न नदिएसम्म समस्या समाधान नहुने दाबी उनले गरे । व्यवसायीले ‘ह्यान्ड क्यारी’ मार्फत गर्ने निर्यातगायतका अनौपचारिक बजारको तथ्यांक नहुने भएकाले समस्या हुने उनको भनाइ छ ।

बैंकले गत पुस १२ मा जारी गरेको कार्यविधिप्रति विरोध जनाउँदै आएका व्यवसायीले बैंकहरूबाट सुन नकिनी भारतबाट अवैध रूपबाट आयात गरेर स्थानीय बजारमा बिक्री गरेको खुलेआम बताउँदै आएका छन् । दैनिक ३०–३५ किलो सुन आवश्यक रहे पनि व्यवसायीहरूले बैंकहरूबाट दैनिक १५ किलोसमेत पूरै किनेका छैनन् ।

No comments: