Saturday, April 16, 2011

वित्तीय सेवा विस्तारका लागि ‘ब्रान्चलेस बैंकिङ’ उपयुक्त

यादव हुमागाई
काठमाडौं, २२ चैत
सर्वसाधारणलाई वित्तीय पहुँच बढाउनका लागि शाखारहित बैंकिङ सेवा (ब्रान्चलेस) उपयुक्त हुने सरोकारवालाहरूले बताएका छन् । यसबाट बैंकहरूको सञ्चालन खर्च कम हुने भएकाले वित्तीय सेवा विस्तार गर्न सजिलो हुने उनीहरूको भनाइ छ ।

अर्थमन्त्रालय र नेसनल बैंकिङ ट्रेनिङ इन्टिच्युटको संयुक्त आयोजनमा मंगलबार भएको ‘वित्तीय पहुँचका लागि शाखारहित बैंकिङ सेवा’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले विकट पहाडी क्षेत्रमा शाखारहित सेवा उपयुक्त हुने बताए । अर्थमन्त्रालयका सल्लाहकार केशव आचार्यले वाणिज्य बैंकहरू सहरी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै गाउँ गाउँमा सेवा पु¥याउन ब्रान्चलेस बैंकिङ उपयुक्त हुने बताए । “सहरी क्षेत्रमा केन्द्रित भएका बैंकहरू रियलस्टेटमा मात्र लगानी गरेका छन्,” आचार्यले भने, “ग्रामीण क्षेत्रमा सुरक्षा स्थिति नभएको बेला सेवा विस्तार गर्न ब्रान्चलेस बैंकिङ उपयुक्त हो ।”

हाल बैंकिङ क्षेत्रमा तीव्र विकास भएको भन्दै यस क्षेत्रमा कुनै समस्या देखिए सिंगो अर्थतन्त्रमै असर पर्ने आचार्यले दाबी गरे । गरिबी निवारण, शोधानान्तर घाटामा सुधार, रोजगारी र आर्थिक वृद्धिका लागि बैंकले भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

अर्थमन्त्रालयका राजस्व सचिव कृष्णहरि बास्कोटाले बैंक भनेपछि सुविधासम्पन्न क्षेत्र, ठूलो भवन, सुट लगाएका कर्मचारी हुन्छन् भन्ने मान्यता स्थापित भएको भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यक्ता औंल्याए । ग्रामीण क्षेत्रमा बैंक पुग्न नसक्दा गैरबैंकिङ कारोबार बढेकाले त्यसलाई कम गर्न बैंकको पहुँच विस्तार गर्नुपर्ने बताए । कम लागतमा जनतालाई हुलाकको सुविधा दिन सरकारले स्थानीय पसललाई ‘अतिरिक्त हुलाक’का रूपमा प्रयोग गरेको उदाहरण दिँदै बास्कोटाले भने, “बैंकिङ पहूच विस्तारका लागि पनि यस्तै कुनै विधि उपयुक्त हुन सक्छ ।” ब्रान्चलेस बैंकिङका बारेमा सरोकारवालाको सुझावबमोजिम सरकारले नीतिगत व्यवस्था गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थमन्त्रालयका सहसचिव महेन्द्रमान गुरुङले पहाडी ग्रामीण क्षेत्रमा वित्तीय सेवा पु¥याउन शाखारहित सेवा उपयुक्त हुने बताए । सरकारले शाखारहित सेवाको माध्यमबाट ग्रामीण क्षेत्रमा बैंकको पहुँच विस्तार गर्न चाहेको तर बैंकहरूले भने सहरी क्षेत्रमै यसलाई केन्द्रीत गरेको उनको भनाइ थियो । ग्रामीण क्षेत्रका जनता प्रविधिमा अभ्यत नभएकाले प्रविधिमा आधारित शाखारहित सेवा उपयुक्त नहुने उनको भनाइ थियो, तर ग्रामीण जनतालाई रेमिटेन्स, पेन्सनलगायतका रकम पु¥याउनकै लागि पनि यो सेवा उपयुक्त हुने उनले बताए ।

कार्यक्रममा विभिन्न वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका प्रतिनिधिहरूको सहभागिता थियो । नेपालमा शाखारहित बैंकिङ सेवा विस्तार गरी बैकिङ पहुँच विस्तारका लागि कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

हाल नेपालमा बैंकहरूको संख्या वृद्धिसँगै बैंकहरूले ‘मोबाइल क्यास’, घुम्ति बैंकिङलगायतका शाखारहित सेवा सुरु गरेका छन् । यसलाई विस्तार गर्दै ग्रामीण क्षेत्रका जनतामा बैंकिङ पहुँच बढाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।

No comments: