Monday, April 18, 2011

सहकारीमार्फत कृषकलाई सहुलियत ऋण

यादव हुमागाई
काठमाडौं, ४ वैशाख

साना किसान सहकारीमार्फत सरकारले पशुपालक कृषकलाई सहुलियतमा ऋण दिएको छ । सहुलियत ब्याजदरमा पाएको ऋणको ब्याजदर ९ प्रतिशतमात्र तोकिएको छ ।

साना किसान विकास बैंक हुँदै साना किसान सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिएको हो । कार्यक्रमका लागि पहिलो चरणमा निकासा भएको ३० करोड रुपैयाँ कृषकमाँझ पुगेको बैंकले जनाएको छ । “विभिन्न सहकारीबाट ४८ करोड रुपैयाँका लागि आवेदन आएको थियो” साना किसान बैंकका कार्यक्रम संयोजक विष्णु लामिछानेले भने, “त्यसमध्ये हामीले ३२ करोड ४० लाख रुपैयाँ कर्जा वितरण गरेका छौं ।”

बढीमा एक सहकारीलाई १ करोड रुपैयाँसम्म र घटीमा १० लाख रुपैयाँसम्म कर्जा दिइएको लामिछानेले बताए । जिल्ला–जिल्लाबाट कार्यक्रम कर्जा लगानीको विस्तृत विवरण आइनसकेकाले कति किसानले कर्जा पाए भन्ने विवरण नखुलेको उनले जानकारी दिए । बाख्रापालन र बंगुरपालन कार्यक्रमलाई बढी केन्द्रित गरी ऋण प्रवाह गरेको लामिछानेले जानकारी दिए ।

मासुको उत्पादन बढाउन बजेटमा सरकारले सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रममा ल्याएको थियो । सरकार र सहकारीको साझेदारीमा सुरु गरिएको कार्यक्रमका लागि बजेटमा एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालय र साना किसान गत माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो र दोस्रो किस्तामा ३० करोड तेस्रो किस्तामा ४० करोड रकम पाउनेछ ।

बैंकले उक्त रकम साना किसान सहकारीमार्फत मासुजन्य पशुपालक कृषकमा लगानी गर्नुपर्नेछ । ऋण पाउने कृषकले मासु उत्पादनका लागि बाख्रा, खसी, भैंसी, राँगा, सुंगुर र बंगुरपालन गर्नुपर्नेछ । कार्यक्रमका लागि बैंकले वार्षिक १ प्रतिशतमा कर्जा पाउनेछ । उक्त रकम बैंकले सहकारीलाई वार्षिक ५ प्रतिशत ब्याजदरमा दिने र किसानले ९ प्रतिशत ब्याजदरमा कर्जा पाउनेछन् । तर समयमा चुक्ता गर्न नसके बैंकले ५ प्रतिशत, सहकारीले ९ प्रतिशत र १५ देखि १८ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ ।

हाल ४२ जिल्लामा २ सय ४२ वटा साना किसान सहकारी संस्था सञ्चालनमा छन् । १ लाख ८५ हजार सदस्य रहेको ती संस्थाहरूले हालसम्म तीन अर्ब ५० करोड पुँजी परिचालन गरेको बताइएको छ ।

No comments: